
लुम्बिनी विकास कोषसँगको सहकार्यमा नेपाल वित्तीय संस्था कर्मचारी संघले बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई लक्षित गरी ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ । लुम्बिनीस्थित ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरी लैंगिकमैत्री शौचालय निर्माण गरेको हो ।
कोरिया फाइनान्सियल इन्डस्ट्री फाउन्डेसन (केएफआइएफ) र युएनआई ग्लोबल युनियन एसियाको पहलमा करिब ४० लाख लागतमा शौचालय तयार पारिएको नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले बताए ।
संघले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउन्डेसनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले पर्यटकलाई सेवा दिने उद्देश्यले शौचालय निर्माण गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एवं कोषाध्यक्ष सिद्धिचरण भट्टराईले शौचालयले पर्यटकलाई सहजता थप्ने बताउँदै यसको दिगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए । एक सय ५० वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालित र आधुनिक छ ।
लैंगिक र अपांगमैत्रीसँगै महिलालाई स्यानिटरी प्याडसमेत उपलब्ध हुने व्यवस्था गरिएको नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले बताए । उनका अनुसार यस शौचालयमा दैनिक पाँच सय पर्यटकले लाभ लिनेछन् ।