मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
दीपक भट्ट रामेछाप
२०८० श्रावण १३ शनिबार १३:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा बढ्दै आत्महत्याका घटना

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० श्रावण १३ शनिबार १३:४७:००

आत्महत्या न्यूनीकरण गर्नेसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन नहुँदा रामेछापमा वर्षेनी आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा ४३ जनाले आत्महत्या गरेकोमा उक्त घटनामा वृद्धि भई आर्थिक वर्ष ०७९/८० मा ५१ जनाले आत्महत्या गरेका छन्। जसमा आर्थिक वर्ष ०७८/७९ मा २९ जनाले झुन्डिएर र १४ जनाले विषसेवन गरी आत्महत्या गरेका थिए। त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा ४३ जनाले झुन्डिएर र ८ जनाले विषसेवन गरी आत्महत्या गरेका हुन्।

आत्महत्या गर्नुको मुख्य कारणमा आर्थिक अवस्था कमजोर हुनु, घरपरिवारमा दैनिक रूपमा झैझगडा हुनु र एक्लो महसुस हुनुजस्ता धेरै कारणहरू रहेका प्रहरीले जनाएको छ। पछिल्ला केही वर्षदेखि रामेछापमा आत्महत्याका घटनामा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालयले स्थानीय तहहरूमा पुगेरै आत्महत्या न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यद्यपि, उक्त अभियानले खासै प्रभावकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए।

‘हामीले सकेको अभियान चलाएका छौँ। तर, हाम्रो अभियानले मात्रै आत्महत्या न्यूनीकरण गर्न सकिएन। वर्षेनी बढ्दै गएको आत्महत्या दरलाई न्यूनीकरण गर्न नसकिने हो भने यसले जिल्लामा विकराल रूप लिन सक्छ,’ उनले भने। समयमै आत्महत्याको दर कम गर्न तीनै तहका सरकारले आमनागरिकसम्म जनचेतनामूलक कार्यक्रम लैजानुपर्ने प्रनाउ पराजुलीको भनाइ छ।