१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बढ्यो आर्थिक अपराध : गत आर्थिक वर्षमा बाँके प्रहरीमा  बैंकिङ कसुरमा ३०५ उजुरी दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:oo:oo

बाँकेमा बैंकिङ कसुरका उजुरी दिनको संख्या अत्यधिक बढेको छ । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका तीन सय पाँचवटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ जम्मा यस्तै प्रकृतिका ७५ वटा उजुरी मात्र परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।

आर्थिक वर्ष ०७७/७८ मा १४ वटा उजुरी मात्र परेका थिए । बैंकिङ कसुरलगायत आर्थिक लेनदेनका मुद्दाको संख्या बढेको डिएसपी डाँगीले बताए । ‘रकम लिने र दिनेबीच लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधान नभएपछि पीडितहरू उजुरी बोकेर प्रहरीमा आउँछन्,’ उनले भने, ‘दुवै पक्षलाई झिकाएर मेलमिलाप गराउने र उजुरीका बारेमा अनुसन्धान गरेर पीडित पक्षलाई न्याय दिने प्रयास गर्छौँ । दुवै पक्षलाई चित्त बुझ्ने गरी काम गरिरहेका छौँ ।’

पछिल्लो समय उत्पन्न आर्थिक संकटका कारण लेनदेन तथा बैंकिङ कसुरका मुद्दा बढेको डाँगीको बुझाइ छ । प्रहरीमा उजुरीको चाङ देखिनु दुःखद भएको उनले बताए । ‘आर्थिक संकटका कारण लेनदेन नमिलेका कैयौँ घटना प्रहरीसम्म पुग्न सकेका छैनन् । त्यो पनि जोड्ने हो भने आर्थिक अपराध भुसको आगोझैँ घरघरमा फैलिसकेको मान्न सकिन्छ,’ उनले भने ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले आर्थिक संकटले आर्थिक अपराध बढाएको बताए । आर्थिक गतिविधिमा जसरी समस्या पैदा भयो त्यसले सर्वसाधारणदेखि ठुल्ठूला व्यापारीसम्मलाई निराश बनाएको उनको भनाइ छ । ‘आर्थिक संकटले समस्या निम्त्याएको छ, तर सबै समस्याको कारण आर्थिक संकट मात्रै हो कि होइन गम्भीरतापूर्वक हेर्नुपर्छ,’ उनले भने । 

बाँकेमा बैंकिङ कसुर मात्र नभई अन्य आर्थिक अपराधको ‘ग्राफ’ पनि बढेको छ । गत १२ असारमा किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ । प्रबन्धक शाहीलाई कैदका साथै एक करोड २५ लाख रुपैयाँ जरिवाना हुनेसमेत विशेष अदालतले सजाय तोकेको छ ।

नेपालगन्ज उपमहानगरपालिका ११ का सुनचाँदी व्यवसायी रिजबान अहमद जसगढलाई ऋण लगानी गर्दा बैंकलाई झुक्याएर एक करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा २७ जेठ, ०७७ मा शाही पक्राउ परेका थिए । शाहीमाथि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप थियो । शाही, जसगढसहितको आठजनामाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएअनुसार आर्थिक वर्ष ०७९/८० मा ठगीसम्बन्धी ३८ उजुरी परेका थिए । आर्थिक वर्ष ०७८/७९ मा २४ वटा उजुरी दर्ता हुँदा आव ०७७/७८ मा १६ वटा उजुरी मात्र परेका थिए । डिएसपी डाँगीका अनुसार समग्रमा आर्थिक वर्ष ०७९/८० मा आर्थिक अपराधसम्बन्धी ३८ वटा उजुरी परेका थिए ।