१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ९ मंगलबार ०७:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘पुँजीवादी व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार बढ्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ९ मंगलबार ०७:३१:००

समाजवादी मोर्चाका नेताहरूले पुँजीवादी व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार भएको दाबी गरेका छन् । पुँजीवादी व्यवस्थाकै कारण विकृति, विसंगति र भ्रष्टाचारको समस्या रहेको भन्दै उनीहरूले समाजवादी व्यवस्थामा जोड दिएका छन् । कम्युनिस्ट र समाजवादी पार्टीभित्र पनि समस्या रहेको औल्याउँदै उनीहरूले सुधारको पहल आफैँबाट गर्नुपर्ने बताएका छन् ।

पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा आयोजना गरेको ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषय कार्यक्रममा नेताहरूले भ्रष्टाचार, कमिसनखोरी र दण्डहीनताविरुद्ध अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिने बताए । ‘कम्युनिस्ट, समाजवादी भन्ने पार्टीहरूमा पनि विकृति र विसंगति छन् । सुशासनलाई पूर्वसर्त बनाएर मात्रै हामीले सामाजिक, आर्थिक रूपान्तरणको यात्रालाई तीव्र पार्न सक्छौँ ।’ श्रेष्ठले तथ्य र प्रमाणमा भ्रष्टाचार र अनियमितता देखिए जुनसुकै पार्टीको भए पनि कारबाही गरिछाड्ने प्रतिबद्धता जनाए । जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादको ठूलो बाधक भ्रष्टाचार भएको बताए । उनले नवधनाढ्य र कालोबजारीमा संलग्नहरू नै कम्युनिस्ट रहनु दुःखद भएको बताए । 

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचारलाई अभियानको रूपमा नियन्त्रण गर्नुपर्ने बताए । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुँजीवाद नै भ्रष्टाचारको स्रोत भएको दाबी गरे । नेपालको अग्रगामी निकास समाजवाद भएको भन्दै उनले भ्रष्टाचारविरोधी अभियानमा नेकपाको सडकबाट समर्थन रहेको बताए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भ्रष्टाचारकै कारण समाजवादमा पुग्न नसकिएको धारणा राखे । ‘भ्रष्टाचारको औजार भन्ने हुँदैनथ्यो भने करिब २०औँ शताब्दीको अन्त्यसम्ममा संसारमा समाजवाद आइसकेको हुन्थ्यो । क्रान्ति जनवादी थिए । एकसेएक नेता थिए । उनीहरूको कबुल समाजवाद थियो । बिस्तारै भ्रष्टाचारको औजार आफैँ प्रयोग गर्न थाले । अरूलाई भ्रष्ट बनाउँदै लगे । किनकि, एक्लो भ्रष्टाचारी पार्टीको उच्च तहमा टिक्नै सक्दैन,’ उनले भने ।