१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचनमा समाजवादी मोर्चाका चार दल चारतिर

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१९:oo

दुवै क्षेत्रमा उम्मेदवार उठाउने माओवादी निर्णय, एकीकृत समाजवादीले पठाइसक्यो उम्मेदवारलाई टिकट, जसपा पहिचानवादीसँग संवादमा, मोर्चाको संयोजन गरिरहेको नेकपा अनिर्णीत

इलाम र बझाङमा हुने उपनिर्वाचनमा समाजवादी मोर्चाका चार दल चारतिर फर्किएका छन् । माओवादीले दुवै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले उम्मेदवारलाई टिकट दिएर पठाइसकेको छ भने जसपा पहिचानवादीसँग संवादमा छ । मोर्चाको संयोजन गरिरहेको नेकपा उम्मेदवार उठाउने कि मोर्चामा आबद्ध दलका उम्मेदवारलाई समर्थन गरेर जाने भन्ने निर्णयमा पुगिसकेको छैन ।

बुधबार बालुवाटारमा बसेको माओवादीको केन्द्रीय समिति बैठकले इलाम र बझाङमा उम्मेदवार उठाउने निर्णय गरेको  महासचिव देव गुरुङले बताए । ‘दुइटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय भएको छ । व्यक्तिका बारेमा सिफारिस आउन बाँकी छ । अर्को बैठकले टुंगो लगाउँछ,’ उनले भने । 

माओवादी इलामले केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज धीरेन्द्र शर्मा, प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, कुमार बराइली र ओम गुरुङको नाम प्रदेशलाई सिफारिस गरेको छ । उक्त नाम प्रदेश हुँदै केन्द्रमा आउनेछ ।

एकीकृत समाजवादीले इलाममा जितबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले राई र सिंहलाई टिकट दिएर पठाइसकेको छ ।

जसपाले मोर्चामा आबद्ध दलहरूले आफूखुसी उम्मेदवार उठाएको भन्दै पहिचानवादीसँग छलफल अघि बढाएको छ । पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । 

उपनिर्वाचनका लागि आगामी २४ चैतमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । दलले एक–अर्कामा बार्गेनिङ पावर बढाउन उम्मेदवारी दिने रणनीति अपनाएका छन् । मोर्चाबाट साझा उम्मेदवार बनाउने प्रयास पनि जारी रहेको नेताहरूले बताएका छन् । त्यस्तो अवस्थामा मोर्चा र एमालेबीच चुनावी तालमेलको सम्भावना रहन सक्छ । 

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाका स्थायी समिति सदस्य भरत बमले बैठकबाट साझा निष्कर्षमा पुग्ने बताए । ‘साझा उद्देश्यले हामीले मोर्चा बनाएका हौँ । उपनिर्वाचनको विषयमा पनि मोर्चामा छलफलबाट निष्कर्षमा पुग्छौँ,’ उनले भने, ‘मोर्चा र एमालेबीच उपनिर्वाचनमा तालमेल हुन सक्छ ।’

मोर्चाको प्रमुख घटक माओवादीले छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताएको छ । उपनिर्वाचनबारे मोर्चाको बैठकमा सामान्य छलफलसमेत भएको थियो । तर, निष्कर्ष ननिस्केपछि दलहरूले छुट्टाछुट्टै उम्मेदवारीको तयारी गरेका हुन् । मोर्चाका सचिवालय सदस्यसमेत रहेका माओवादी महासचिव देव गुरुङ सकेसम्म सहमतिको प्रयास गर्ने बताउँछन् । ‘हामी छलफलकै क्रममा छौँ । छलफलबाट एउटा निष्कर्षमा पुग्छौँ,’ गुरुङले भने ।

अर्को घटक एकीकृत समाजवादीले बझाङलाई बटमलाइन बनाएको छ । बझाङमा समर्थन गर्ने दललाई इलाम छाड्न सकिने एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘हामीले उम्मेदवार तय गरिसकेका छौैँ । दुवै क्षेत्रमा पार्टी परिचालन भइसकेको छ । समझदारी भयो भने एक क्षेत्रमा मात्रै हाम्रो उम्मेदवारी हुन सक्छ । समझदारी नभएको अवस्थामा हामीले दुवै क्षेत्रमा टिकट दिएका छौँ,’ उनले भने । 

एकीकृत समाजवादीले बझाङमा समर्थन गर्न माओवादी र एमालेलाई आग्रह गरेको थियो । बझाङमा आफ्नो पार्टीलाई छाडे इलाममा समर्थन गर्न तयार रहेको अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेका थिए । ओलीले उम्मेदवारी घोषणा भइसकेकाले समर्थन गर्न आग्रह गरेका थिए ।

जसपा प्रवक्ता मनीष सुमनले आफैँ उम्मेदवार उठाउने कि पहिचानवादीलाई समर्थन गर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताए । उनले भने, ‘समाजवादी मोर्चामा आबद्ध दलहरूले छुट्टाछुट्टै उम्मेदवार उठाएपछि संयुक्त उम्मेदवारी दिने च्याप्टर क्लोज भइसक्यो । हामी कि त आफैँ उम्मेदवारी दिन्छौँ । नत्र पहिचानवादी उम्मेदवारलाई समर्थन गर्छौँ ।’ प्रदेश कमिटीमा छलफल गरेर निष्कर्षमा पुग्ने उनले जानकारी दिए ।

इलाम २ मा रास्वपाबाट ६ आकांक्षी

इलाम २ मा १५ वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टीमा ६ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । इलाम २ मा उम्मेदवारी दिन दाबी प्रस्तुत गरेका ६ जनाको नाम रास्वपा केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको छ । 

आयोगका सचिव भूमिनन्द बरालका अनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवार बन्न पार्टीको निर्वाचन आयोगमा नाम दर्ता गराएका हुन् । आन्तरिक प्रतिस्पर्धामार्फत उम्मेदवार टुंग्याउने रास्वपाको तयारी छ । 

‘इलाम २ मा रास्वपाका तर्फबाट पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिन पाँचजनाले उम्मेदवारी दिनुभएको छ,’ सचिव बरालले भने । उनका अनुसार पाँचजनाबीच प्रतिस्पर्धा गरेर केन्द्रीय समितिले उम्मेदवार चयन गर्नेछ । 

रास्वपाका नेताहरूका अनुसार स्वतन्त्र उम्मेदवारी दिएका पूर्वपत्रकार लिम्बूले नै टिकट पाउने पक्कापक्की छ । ‘सबै हिसाबले रास्वपाको उम्मेदवार उहाँ नै हो । शुक्रबार घोषणा हुन्छ,’ पार्टीका एक पदाधिकारीले भने । 

ad
ad