मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० श्रावण ८ सोमबार १३:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घोराही–तुलसीपुर चारलेन सडक मर्मतको काम सुरु

Read Time : > 1 मिनेट
२०८० श्रावण ८ सोमबार १३:०२:००

दाङको घोराही–तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मतको काम सुरु भएको छ। आइतबारदेखि काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले बताए।

‘पहिलो चरणमा आजदेखि बबई नदीदेखि हापुर खोलासम्मको करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ,’ उनले भने, ‘अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ।’ हापुर खोलादेखि तुलसीपुरसम्मको काम बुधबारदेखि सुरु हुने उनले बताए। 

घोराही क्षेत्रको १५ किलोमिटर रोल्पा निर्माण सेवाले ठेक्का पाएको छ भने रोल्पा स्वच्छन्द निर्माण सेवाले तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत गर्ने ठेक्का पाएको छ। घोराही क्षेत्रमा एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का गएको छ। 

घोराही–तुलसीपुर ४ लेन सडक मर्मतका लागि तीन करोड बजेट व्यवस्थापन गरिएको थियो । चार लेन सडक निर्माणको यसअघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो । यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु भएपछि पाँच बर्षसम्म पनि सडक निर्माणले पूर्णता पाएन। उल्टै सडक भातुभुंग हुँदा दुर्घटना बढेको थियो।

सडकबीचमा खाल्डा खुल्डी भए, जसले गर्दा आवतजावतमा पनि समस्या भएपछि नागरिकले व्यापक विरोध गरे । त्यसपछि ठेक्का तोड्न सरकार बाध्य भएको हो। ठेक्का तोडिएसँगै तीन करोड बजेटमा बिग्रिएको यसअघिको सडक मर्मत गर्ने कार्य हुने प्रमुख अधिकारीले बताए । ‘चारलेन निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो,’ उनले भने।

असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ। बर्सातको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताए।

सडक मर्मत कार्य सुरु भएपछि यात्रु भने खुसी भएका छन्। ‘सडकमा खाल्डाखुल्डीले बर्सातको समयमा झनै समस्या बनाएको छ,’ तुलसीपुर– ५ निवासी मोटरसाइकलचालक विजय नेपालले भने, ‘पहिलेकै सडकमा मर्मत भए धेरै सहज हुन्थ्यो।’