१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गत ३ असारमा आएको बाढीले मेची राजमार्गको हेवाखोला पुल बगाएपछि पुनर्निर्माणका लागि बेलिब्रिजका पार्टपुर्जा लगिँदै । तस्बिर : नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

देशभर १५ वटा बेलिब्रिज मात्रै स्टकमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:१२:oo

महत्वपूर्ण राजमार्गमा मात्र बेलिब्रिज प्रयोग गर्न सक्ने अवस्था : सडक विभाग 

बाढीपहिरोको जोखिम रहने बर्खा सुरु भइसक्दासमेत सरकारसँग तत्काल जडान गर्न सकिने मोटरेबल पुल अर्थात् बेलिब्रिजको स्टक ज्यादै न्यून देखिएको छ । अहिले देशभर १५ वटा मात्रै बेलिब्रिज स्टकमा रहेको सडक विभागका अधिकारीहरू बताउँछन् । जुन पर्याप्त नभएको उनीहरू आफैँ स्वीकार गर्छन् ।

विभागका महानिर्देशक सुशीलबाबु ढकालले बेलिब्रिजको मौज्दात कम भएको बताए । ‘यसपालि हामीसँग बेलिब्रिज स्टक धेरै छैन । देशभर १५ वटा मात्रै छन्, जुन पर्याप्त होइन,’ उनले भने, ‘त्यसैले यसपालि पुल बगायो भन्दैमा तत्काल बेलिब्रिज जडान गर्ने अवस्था पनि छैन । आवश्यकताका आधारमा बेलिब्रिज जडान गर्ने काम अघि बढ्नेछ ।’ 

अहिले राष्ट्रियस्तरको राजमार्ग, केही महत्वपूर्ण राजमार्ग तथा सडकमा बाहेक बेलिब्रिज प्रयोग गर्ने अवस्था नभएको उनको भनाइ छ । ‘अहिले बेलिब्रिजको माग बढ्दै गएको छ । तर, माग आयो भन्दैमा बेलिब्रिज दिएका छैनौँ । आवश्यकताका आधारमा मात्रै यसको प्रयोग भइरहेको छ,’ उनले भने, ‘अहिले जथाभावी बेलिब्रिज जोड्ने अनि निकट भविष्यमा राष्ट्रिय महत्वकै सडकको पुल बगाएर देशभरकै यातायात अवरुद्ध भयो भने कहाँबाट बेलिब्रिज ल्याएर जडान गर्ने ? त्यसैले अहिले जथाभावी बेलिब्रिज जडान गर्ने अवस्था छैन ।’ 

सडक विभागले सन् ०१८/१९ मा ३० वटा बेलिब्रिज ल्याएको थियो, त्यसमा हालसम्म १५ वटा प्रयोग भइसकेका छन् । बाँकी १५ वटाले पछिल्लो मागलाई धान्न गाह्रो देखिएको हो । विभागको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा १५ वटा बेलिब्रिज प्रयोग भएका छन् । त्यो तथ्यांकका आधारमा मौज्दात बेलिब्रिजले अझै केही वर्ष पुग्ने देखिन्छ । बाढी नै नआएमा पुल बगाउने कुरा पनि हुँदैन । त्योअनुसार आत्तिहाल्नुपर्नेजस्तो अवस्था देखिँदैन । तर, विभिन्न प्रदेश तथा स्थानीय तहअन्तर्गतका थुप्रै सडकबाट बेलिब्रिजको माग बढ्न थालेको छ । भवितव्य घटनाका रूपमा आउने बाढीले कुनै वेला कुनै पनि संख्यामा मोटरेबल पुल बगाउन वा क्षतिग्रस्त गर्न सक्छ । 

नेपालमा बर्खामा आउने बाढीले पुल बगाउने घटना सामान्यजस्तै हुन थालेको छ । बर्सेनि कैयौँ पुल बाढीले भत्काएको र बगाएको पाइन्छ । त्यो अवस्थामा तत्काल यातायात सुचारु गर्न जडान गरिने बेलिब्रिज एकदमै महत्वपूर्ण मानिन्छ । त्यो अवस्थामा यसका लागि उचित पूर्वतयारी हुनु आवश्यक पनि छ । 

यही वर्ष गत असारको पहिलो साता पूर्वी नेपालमा आएको बाढीले मेची राजमार्गअन्तर्गतको हेवाखोला पुल बगाएको थियो । सोही बाढीकै कारण तमोर करिडोरमा रहेको ४५ मिटर लामो पुल पनि बगाएको थियो । यसैगरी, मध्यपहाडी राजमार्गअन्तर्गत ताप्लेजुङको फलैँचाको २० मिटर लामो पुल पनि बगाएको छ । यही वर्षको सुरुवातीकै मनसुनका कारण तीनवटा पुल बगाइसकेको छ । मनसुन सिजन नसकिएसम्म थप पुल बाढीले बगाउन पनि सक्छ । भवितव्य रूपमा हुने त्यस्ता घटनाबाट हुने असरलाई न्यूनीकरण गर्न सरकारले पूर्वतयारीका रूपमा बेलिब्रिज्र राख्दा राम्रो हुने जानकारहरू बताउँछन् । 

यही वर्ष नै तीनवटा पुल बगाउँदा एक ठाउँमा मात्रै बेलिब्रिज जडान गरिएको छ । ३ असारमा आएको बाढीले मेची राजमार्गअन्तर्गतको हेवाखोलामा बगाएको पुलको ठाउँमा आइतबार मात्रै बेलिब्रिज जडान गरिएको छ । अन्य दुई ठाउँमा बेलिब्रिज प्रयोगमा राखिएको छैन । मौज्दात पर्याप्त बेलिब्रिज नभएका कारण नै सबै ठाउँमा जडान गर्ने अवस्था नभएको विभागका अधिकारीहरू बताउँछन् । 

बाढीले पुल बगाएपछि वा भत्किएपछि तत्काल पुल बनाउन सम्भव हुँदैन । पुल बनाउनै वर्षाँै समय लाग्छ । त्यसले गर्दा यातायातसमेत अवरुद्ध हुन्छ । त्यो अवस्थामा यातायात सुचारु गर्न बेलिब्रिज एकदमै महत्वपूर्ण मानिन्छ, जुन केही हप्तामै सम्भव हुन्छ । साथै, त्यहाँ पक्की पुल बनेपछि बेलिब्रिज झिकेर अर्काे ठाउँमा समेत प्रयोग गर्न सकिन्छ । यसरी मल्टिपर्पाेजका रूपमा प्रयोग गर्न सकिने बेलिब्रिजको लागत भने महँगो हुन्छ । एक मिटरबराबरको बेलिब्रिजलाई २० लाख देखि ३० लाख रुपैयाँसम्म पर्छ । तर, बेलिब्रिजमा गाडी मात्रै आवतजावत गर्न मिल्छ । सामान्य पुलमा जस्तो पुटपाथलगायतका संरचना यसमा हुँदैन । त्यसले गर्दा यो महँगो हुने गर्छ । तर, यसको आयु भने सय वर्ष हाराहारी नै हुने जानकारहरू बताउँछन् ।

लागत बढी पर्ने भएकाले पनि यस्तो पुलको मौज्दात बढाउन नसकिने विभागका एक उच्च अधिकारीले बताए । ‘यस्तो पुल आकस्मिक र अस्थायी रूपमा मात्रै प्रयोग गर्ने हो । स्थानीय पुल बनेपछि बेलिब्रिज झिेकर अर्काे ठाउँमा प्रयोग गर्न पनि सकिन्छ । तर, यसको लागत निकै महँगो छ,’ उनले भने, ‘त्यो अवस्थामा यसको मौज्दात बढाउँदा खर्च मात्रै हुन सक्छ । तर, आवश्यकताअनुसार बेलिब्रिज राख्ने विषयमा हामी सकारात्मक नै छौँ ।’

३० वटा बेलिब्रिज थप गर्ने तयारी
मौज्दात न्यून भएपछि विभागले बेलिब्रिज किन्ने योजना भने बनाएको छ । विभागका महानिर्देशक ढकालले यो वर्ष ३० वटा बेलिब्रिज थप्ने योजना बनाएको बताए । ‘बेलिब्रिज अभावको महसुस भइसकेको छ । सोहीअनुसार यो साल ३० वटा हाराहारीमा बेलिब्रिज थप्ने योजना बनाएका छौँ,’ उनले भने, ‘तर, यसका लागि बजेट छुट्टिएको छैन । कतैबाट बजेट सुनिश्चित गरेर बेलिब्रिज खरिद गर्ने प्रक्रिया अघि बढाउँछौँ ।’ उच्च गुणस्तरको स्टिलले बेलिब्रिज बनाइन्छ, जुन नेपालमा बन्दैन । अमेरिका, भारतलगायतका देशमा यो पुल बन्छ । विभागले अन्तर्राष्ट्रिय रूपमा टेन्डर आह्वान गरेर सप्लायर्समार्फत बेलिब्रिज खरिद गर्ने गर्छ । 
 

ad
ad