१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४o:oo

चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तयारी भइरहेको छ । पाँच वर्षपछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदै छ । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् । भदौ दोस्रो साता चीन जाने गरी दुई देशका कूटनीतिक च्यानलमा छलफल जारी छ । तर, उपयुक्त समयमा मिति सार्वजनिक हुने सम्बद्ध अधिकारीहरू बताउँछन् । 

‘प्रधानमन्त्रीको चीन भ्रमणको तयारी हुँदै छ । सेप्टेम्बरमा भ्रमण हुने गरी दुईपक्षीय एजेन्डामाथि गृहकार्य भइरहेको छ उपयुक्त समयमा भ्रमणको मिति सार्वजनिक हुन्छ । अहिले दुई पक्ष गृहकार्यमै छन्,’ चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बेइजिङबाट नयाँ पत्रिकासँग भने । 

गत मंसिरमा भएको निर्वाचनपछि नेपालबाट प्रधानमन्त्रीको स्तरमा पहिलोपटक चीनको भ्रमण हुन लागेको हो । प्रधानमन्त्री भएपछि प्रचण्डको भारतबाट विदेश भ्रमण सुरु भएको थियो । प्रधानमन्त्री प्रचण्डले १७ देखि २० जेठसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले पाँच वर्षअघि (०७५ असार ५ देखि १० सम्म) चीन भ्रमण गरेयता नेपालबाट प्रधानमन्त्रीस्तरमा चीनको भ्रमण भएको थिएन । ०७६ असोज २५ र २६ गते चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेको परराष्ट्र स्रोतले बतायो । चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल गर्ने तयारी भइरहेको छ । भ्रमणमा बिआरआई कार्यान्वयन योजनालाई अन्तिम रूप दिनेलगायत दुई देशबीच

कनेक्टिभिटी, व्यापार, लगानी, सीमानाका सहज रूपमा सञ्चालनलगायतका विषयमा छलफल हुने गरी एजेन्डामा गृहकार्य भइरहेको छ । नेपाल र चीनबीच बिआरआईको फ्रेमवर्क एग्रिमेन्टमा ०७४ वैशाख २९ गते हस्ताक्षर भएको थियो । हरेक तीन वर्षपछि तीन वर्षका लागि बिआरआई स्वतः नवीकरण हुने प्रावधान छ । 

पछिल्लोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ बिआरआईअन्तर्गत सहुलियत ऋण तथा अनुदान प्राप्त भएको हो कि होइन भन्नेमा विवाद छ । चीनले बिआरआईअन्तर्गत ऋण र अनुदान दिएको भनेको छ भने नेपाली अधिकारीले बिआरआईअन्तर्गत अहिलेसम्म एउटा पनि परियोजना छनोट नभएको बताउँदै आएका छन् ।

चिनियाँ राजदूत चेन सोङले ६ असारमा पोखरा विमानस्थल बिआरआई मोडेलमा सहकार्य भएको बताएका थिए । चीनको सिचुआनबाट पोखरामा सिचुआन एयरलाइन्सको बिमानले चार्डर उडान भरेको दिन उनले उक्त अभिव्यक्ति दिएका थिए । तर, १५ असारमा संसद्को अन्तर्राष्ट्रिय समितिमा बोल्ने क्रममा परराष्ट्रमन्त्री एनपी साउदले बिआरआईअन्तर्गत कुनै पनि परियोजना अघि नबढेको बताएका थिए । 

चिनियाँ पोलिटब्युरो सदस्य आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युयान जियाजुन ७ साउनमा नेपाल भ्रमणमा आउन लागेका छन् । कूटनीतिक स्रोतका अनुसार असोज ५ देखि ७ सम्म आयोजना हुन लागेको बिआरआईसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली नेतालाई निमन्त्रणा दिन उनी आउन लागेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् । नेपालस्थित चिनियाँ राजदूतावासले भ्रमण र भेटवार्ताको समन्वय गरिरहेको छ । 

प्रधानमन्त्री आज इटालीको रोम जाँँदै

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम ८–१० साउनसम्म आयोजना हुँदै छ । प्रधानमन्त्री यही ८ साउनमा सो कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।

यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन नै प्रधानमन्त्री प्रचण्ड विद्यालय भोजनबारे आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् । यसैगरी ९ साउनमा खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलमा समेत सहभागी हुनेछन् । 

भ्रमणका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्नेे कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता तय भएको छ ।

ad
ad