१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
\'कोर्ट म्यारिज’ गरेपछि कपिलवस्तु जिल्ला अदालतका कर्मचारीबाट विवाह दर्ताको प्रमाणपत्र बुझ्दै मनोज र बबिता ।
समाचार प्रिन्ट संस्करण

मनोज राम–बबिता प्रेम–विवाह प्रकरण : एउटै अभियोगमा एक मुक्त, अर्का थुनामै

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३५:oo

- श्रीमती अपहरणको झुटो आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका सप्तरीका मनोज राम सर्वोच्चको आदेशमा थुनामुक्त भइसक्दा उनका दाजु रूपेशकुमार अझै थुनामै

- जिल्ला अदालतको बेरितको आदेशबाट थुनामा रहेका रूपेशलाई थुनामुक्त गर्न आदेश माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

श्रीमती अपहरणको झुटो आरोपमा थुनामा पुर्‍याइएका सप्तरीका मनोज राम सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भइसकेका छन् । तर, सोही आरोपमा रामका दाजु रूपेशकुमार भने अझै थुनामा छन् । त्यसैले उनलाई थुनामुक्त गरिपाउन बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । 

सप्तरी राजविराजकी बबिता इसरसँग प्रेम विवाह गरेपछि दलित समुदायका मनोज रामलाई बबिताको अपहरण गरेको आरोपमा माइती पक्षको योजनामा पक्राउ गरिएको थियो । जिल्ला अदालत सप्तरीको आदेशमा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । मनोजसँगै पक्राउ गरिएका उनका दाजु रूपेशकुमारलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

बिहीबार रूपेशकुमारको पक्षबाट अधिवक्ता शैलेन्द्र अम्बेडकरले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटको पेसी शुक्रबारका लागि तोकिएको उनले बताए । रिटमा सप्तरी जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालय, मधेस प्रदेश प्रहरी अस्पताल, जिल्ला कारागार कार्यालय र राष्ट्रिय किताबखानालाई विपक्षी बनाइएको छ । रिटमा सप्तरी जिल्ला अदालतको बेरितको आदेशबाट थुनामा रहेका रूपेशलाई प्रहरीले यातना दिई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै थुनामुक्त गर्न आदेश माग गरिएको छ । पक्राउअघि रूपेश नेपाल प्रहरीको मधेस प्रदेश अस्पतालमा कार्यरत थिए । 

‘... निवेदकको भाइ बबिता इसरसँग प्रेम सम्बन्ध गरी कपिलवस्तु जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेको अवस्थामा जाहेरवाला परिवर्तित राजविराज २८ समेतले बबिता इसरको किर्ते जन्मदर्ता बनाई उमेर कम रहेको देखाई विपक्षी जिल्ला प्रहरी कार्यालय सप्तरीमा झुटा जाहेरी दिएको र जिल्ला प्रहरी कार्यालयले उक्त झुटा जाहेरी दर्ता गरी विपक्षी जिल्ला सरकारी वकिल कार्यालय सप्तरी राजविराजले जिल्ला अदालतमा झुटा मुद्दा दायर गरी म निवेदकलाई गैरकानुनी रूपमा थुनामा राखिएको छ,’ रिट निवेदनमा छ । 

पिता ललितकुमार इसरले छोरी बेपत्ता बनाएको भन्दै प्रहरीमा निवेदन दिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । ललितले छोरी १३ वर्षको रहेको भन्दै किर्ते कागज बनाएर आफ्नो श्रीमान्विरुद्ध मुद्दा हालेको बबिताको भनाइ छ । वास्तविक उमेरअनुसार विवाह गर्नयोग्य रहेको र कपिलवस्तु जिल्ला अदालतबाट विवाह दर्तासमेत लिइसकेको अवस्थामा जिल्ला अदालत सप्तरीले ललितले पेस गरेको जन्मदर्ताका आधारमा मनोजलाई थुनामा पठाएको थियो । 

तर, ३१ असारमा सर्वोच्चको संयुक्त इजलासले उनलाई तारेखमा रहने गरी रिहा गर्न आदेश दिइसकेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै जसलाई बेपत्ता पारिएको हो, उनले नै आफूले विवाह गरिसकेको र पिताले अन्तर्जातीय विवाहका कारण पतिलाई झुटा मुद्दा लगाएको भनी अदालतलाई भनिसकेको अवस्थामा थुनामा राखिरहन नहुने ठहर गरेको थियो । 

यस्तो छ मागदाबी
रूपेशकुमारका हकमा रिट दायर गरेका अधिवक्ता शैलेन्द्र अम्बेडकर हरिजनले नै रूपेशका लागि पनि रिट दर्ता गराएका थिए । जिल्ला अदालत सप्तरीको आदेशअनुसार रूपेश २६ चैत ०७९ देखि नै बबितालाई बेपत्ता बनाएको कसुरमा पुर्पक्षका लागि थुनामा छन् । ‘यसै सम्बन्धमा निवेदकको भाइ मनोज रामलाई उल्लेखित झुटा मुद्दामा पक्राउ गरी विपक्षी सप्तरी जिल्ला अदालतबाट थुनछेक आदेश भई विपक्षी जिल्ला कारागार कार्यालय सप्तरी राजविराजको थुनामा राखिएकोमा मनोज रामको हकमा अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले यसै सम्मानित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको र बबिता इसरले उक्त मुद्दामा निवेदन दिई सरिक भई सम्मानित इजलासमा उपस्थित भई आफूलाई बेपत्ता परिएको नभई आफूले मनोज रामसँग विवाह गरेको र मनोज राम आफ्नो पति भएको भनी निवेदन दिएकी थिइन् । ३१ असारमा उक्त रिट जारी भई मनोज थुनामुक्त भइसकेको अवस्था छ । तर, सोही मुद्दामा निवेदक अझै पनि थुनामा रहेका छन्,’ रिटमा छ । 

गत वर्ष २२ मंसिरमा मनोज र बबिताले प्रेम विवाह गरेका थिए । तर, मनोज तल्लो जातको भन्दै बबिताका पिताले प्रहरीमा अपहरण गरेको झुटो दाबी गर्दै जाहेरी दिएका थिए । त्यसैका आधारमा श्रीमतीलाई बेपत्ता बनाएको अभियोगमा सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि २४ जेठमा मनोजलाई थुनामा पठाइदिएको थियो । 

ad
ad