१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

एलन मस्कलाई उछिनेर चीनले बनायो मिथेनबाट चल्ने रकेट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o८:oo

एक निजी चिनियाँ अन्तरिक्ष कम्पनीले तरल अक्सिजन र मिथेनबाट चल्ने विशाल रकेट प्रक्षेपण गर्ने दौडमा एलन मस्कको ‘स्पेसएक्स’लाई समेत उछिनेको छ । ल्यान्ड स्पेस टेक्नोलोजी कर्पोरेस नामको सो निजी अन्तरिक्ष सेवा प्रदायक कम्पनीले गोबी मरुभूमिस्थित जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट जुलाई १२ को दिन बिहान ९ बजे एक रकेट प्रक्षेपण गरेको थियो । ‘झुक–२’ नामको सो रकेटले परीक्षण उडानका क्रममा सफलतापूर्वक सामानलाई ‘सन् सिंक्रोनस अर्बिट(एसएसओ)’ वा ‘सूर्यअनुरूपको कक्ष’मा पुर्‍याउन सफल भएको थियो । योसँगै ‘झुक–२’ तरल अक्सिजन र मिथेनलाई सफलता रूपमा प्रयोग गर्ने संसारको पहिलो वाहन बनेको छ । 

यस वर्षको सुरुमा अमेरिकाका दुई अन्तरिक्ष कम्पनीहरू ‘रिलेटिभिटी स्पेस’ र मस्कको ‘स्पेसएक्स’ले पनि तरल अक्सिजन र मिथेन प्रयोग गरेर रकेट उडाउने प्रयास गरेका थिए । तर, रिलेटिभिटी स्पेसको ‘टेरान १’ र स्पेसएक्सको ‘स्टारसिप’ कक्षमा पुग्न सकेनन् । ल्यान्ड स्पेसले पनि यसअघि गत वर्ष डिसेम्बर १४ मा यस्तै रकेटको परीक्षण गर्दा असफल भएको थियो । तर, जुलाई १२ को दोस्रो परीक्षण प्रक्षेपणमा भन् झुक–२ रकेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्‍यो । मिथेनबाट चल्ने रकेट इन्जिनले उच्च प्रदर्शन गर्छन् र तिनलाई कम खर्चमै सञ्चालन गर्न सकिन्छ । तरल इन्धनले रकेट क्षेत्रलाई नयाँ युगमा लाने विश्वास लिइन्छ ।

झुक–२ ले हासिल गरेको सफलता यस वर्ष चीनको निजी अन्तरिक्ष कम्पनीले हासिल गरेको अर्को प्रगति हो । यसअघि अप्रिलमा ‘स्पेस पायोनियर’ नामक कम्पनीले अलग खालको तरल इन्धन प्रयोग गरेर ‘टियानलङ–२’ नामक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको थियो । हाल प्रक्षेपण गरिएको झुक–२ दुई चरणको तरल–इन्धनयुक्त रकेट हो, जसका इन्जिनहरू सबै स्वतन्त्र रूपमा निर्माण गरिएका हुन् । चाइना स्पेस न्युजका अनुसार, ३.३५ मिटर (१०.९ फिट) व्यास र ४९.५ मिटर (१६२ फिट) लम्बाइ भएको झुक–२ रकेटले पृथ्वीको तल्लो कक्षमा ६ टनसम्म, एसएसओ कक्षमा चार टनसम्म सामान पुर्‍याउन सक्छ । 

‘रकेटले पहिलो चरणमा चारवटा ‘टियान टियान्क–१२ 
(टिक्यु–१२)’ तरल अक्सिजन–मिथेन इन्जिन प्रयोगमा ल्याएर २६८ टनको बल हासिल गर्छ । दोस्रो चरणमा एउटा टियान्क–१२(टिक्यु–१२) र अर्को एउटा टियान्क–११(टिक्यु–११) इन्जिन प्रयोग हुन्छन्, जसमध्ये पछिल्लो टिक्यु–११ ले उचाइ र गतिलाई सटिक रूपमा समायोजन गर्न सघाउनेछ,’ चाइना स्पेस न्युजले उल्लेख गरेको छ । टिक्यु–१२ इन्जिनको परीक्षण सन् २०१९ जुलाईमै सुरु भएको थियो । जुलाई १२ को पछिल्लो सफल उडानमा चार वर्षको अनुसन्धान र विकासको लगानी जोडिएको छ । 

चाइना स्पेस न्युजका अनुसार ३.३५ मिटर व्यास र ४९.५ मिटर लम्बाइ भएको झुक–२ रकेटले पृथ्वीको तल्लो कक्षमा ६ टनसम्म र एसएसओ कक्षमा चार टनसम्म सामान पुर्‍याउन सक्छ 

तरल रकेट विकासको प्रारम्भिक दिनमा, मट्टितेल र तरल हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरिन्थ्यो । प्राकृतिक ग्यास प्रविधि अझै प्रारमिभ्क अवस्थामै रहेको विश्वास गरिन्छ । तर, पनि आज केही क्षेत्रबाट उत्पादित उच्च गुणस्तरीय प्राकृतिक ग्यासलाई तरल बनाएर सीधै रकेट इन्धनको रूपमा प्रयोग गर्न सकिने भइसकेको छ, त्यो पनि अतिरिक्त शुद्धीकरण नगरी । प्राकृतिक ग्यासका फाइदाहरूमा उच्च ज्वलनशील दक्षता, वातावरणमैत्री, कम लागत र सहज उत्पादन आदि छन् । यिनै फाइदाले यो अनुसन्धानदातामाझ निकै रुचाइएको विकल्प बनेको हो । 

रकेटमा इन्धनका रूपमा प्रयोग गर्दा तरल मिथेन र परम्परागत तरल मट्टितेल प्रत्येकका आ–आफ्ना सबलता र कमजोरी छन् । यद्यपि, मिथेनको घनत्व मट्टितेलको तुलनामा लगभग २० प्रतिशत कम हुन्छ, जसले केही बढी सैद्धान्तिक विशिष्ट प्रवेग (इन्धनको प्रतिएकाइले उत्पादन गर्ने प्रवेग) प्रदान गर्दछ । तर, यसलाई इन्जिनको डिजाइनले पनि असर पार्छ । इन्जिन मर्मत–सम्भारमा पनि मिथेनले उत्कृष्ट प्रदर्शन देखिएको छ । तरल अक्सिजन–मट्टितेल इन्धन प्रयोग हुने रकेटका इन्जिन प्रत्येक प्रयोगपछि पूर्णरूपमा सरसफाइ गर्नुपर्छ । यसविपरीत, मिथेनको उच्च वाष्पशील क्षमताको कारण रकेट प्रयोगपछिको सफाइ भार निकै हल्का हुने गर्छ । 

यस वर्षको सुरुमा अमेरिकाका दुई अन्तरिक्ष कम्पनी ‘रिलेटिभिटी स्पेस’ र मस्कको ‘स्पेसएक्स’ले पनि तरल अक्सिजन र मिथेन प्रयोग गरेर रकेट उडाउने प्रयास गरेका थिए

प्रायजसो कार्बन–आधारित इन्धनको प्रयोगपछि इन्जिनमा अवशेष बाँकी रहन्छ । मिथेनको उत्कृष्ट प्रज्वलन क्षमताले यो समस्या आउँदैन, जसले इन्जिनको आयु लम्ब्याउँछ । साथै, यही गुणले यसलाई अरू इन्धनको तुलनामा थप वातावरणमैत्री पनि बनाउँछ । इन्धन ट्यांकीको डिजाइनको सन्दर्भमा, अनुसन्धानकर्ताले मिथेन इन्धन प्रयोग हुने रकेटको समग्र वजन कम गर्न र यसले बोक्ने भार–क्षमता बढाउन सक्षम भएका छन् । यो किनभने, मिथेन र तरल अक्सिजनको लगभग एउटै बोइलिङ पोइन्ट(उम्लिने बिन्दु) हुन्छ, जसले गर्दा तिनलाई एउटै ‘बल्कहेड’मा एकअर्काको नजिक भण्डारण गर्न सकिन्छ । जब कि तरल अक्सिजन र हाइड्रोजनका ट्यांकहरू अलग–अलग क्याबिनमा राख्नुपर्ने हुन्छ । 

चाइना स्पेस न्युजअनुसार, ल्यान्ड स्पेसले झुक–२ मा हाल प्रयोग भएको टिक्यु–११ लाई टिक्यु–१५ ए ले प्रतिस्थापित गर्ने योजना बनाएको छ । टिक्यु–१५ ए ८० टनको अक्सिजन–मिथेन इन्धन प्रयोग गर्ने इन्जिन हुनेछ । टिक्यु–१२ को सुधारिएको संस्करण टिक्यु–१२ए पनि पाइपलाइनमा छ ।

इन्जिन सुधारले झुक–२ को भार बोक्ने क्षमता बढाउनेछ भने लागत घटाउनेछ । यो जुन भविष्यको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण बजार आवश्यकताअनुकूलन हुनेछ । ‘यसबीचमा चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसनले पनि प्रयोग गर्न सकिने तरल अक्सिजन मिथेन रकेट इन्जिनको विकासमा काम गरिरहेको छ । ८० टन र २०० टनको बल उत्सर्जन गर्ने इन्जिनहरूको निरन्तर परीक्षण भइरहेको छ । यो भविष्यमा चीनको मध्यमदेखि ठूला रकेटको मुख्य इन्धन विकल्प हुनेछ,’ चाइना स्पेस न्युजमा भनिएको छ ।
(साउथ चाइना मर्निङ पोस्टका लागि झाङ टोङको रिपोर्ट)
 

ad
ad