
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा छुटेलगत्तै ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई जिल्ला अदालत काठमाडौं परिसरबाटै नियन्त्रणमा लिएको छ ।
ललितानिवास परिसरको जग्गा उनको नाममा समेत भएकाले नियन्त्रणमा लिइएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश भएपछि धरौटी बुझाएर उनी छुटेका थिए ।
तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए।
शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेका थिए। ललितानिवास प्रकरणमा पनि उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।