
मोर्चालाई बृहत् बनाउन अन्य दलसँग छलफल गर्ने, सचिवालयको सदस्यसचिवमा हमाल
समाजवादी मोर्चाको नेतृत्व चार–चार महिनामा परिवर्तन हुने भएको छ । सुरुको चार महिना एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चाको नेतृत्व गर्नेछन् । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले मोर्चाको नेतृत्व गर्नेछन् ।
शनिबार बसेको मोर्चाको दोस्रो बैठकले नेतृत्व आलोपालोको मोडालिटी बनाएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आलोपालो नेतृत्व गर्ने पूर्वसहमतिअनुसार नेतृत्वको मोडालिटी टुंग्याएका छौँ । चार–चार महिनामा नेतृत्व परिवर्तन हुन्छ । सुरुमा हाम्रो पार्टीका अध्यक्ष माधव कमरेडले मोर्चाको नेतृत्व सम्हाल्नुभएको छ ।’
राजेन्द्र पाण्डे, उपाध्यक्ष, एकीकृत समाजवादी
आलोपालो नेतृत्व गर्ने पूर्वसहमतिअनुसार नेतृत्वको मोडालिटी टुंग्याएका छौँ । चार–चार महिनामा नेतृत्व परिवर्तन हुन्छ । सुरुमा हाम्रो पार्टीका अध्यक्ष माधव कमरेडले मोर्चाको नेतृत्व सम्हाल्नुभएको छ ।
बैठकले प्रदेश र जिल्ला तहमा पनि मोर्चाको संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय संयोजन समितिमा सदस्य दलबाट बढीमा पाँच–पाँचजना, प्रदेशमा तीन–तीन र जिल्लामा दुई–दुईजना नेता रहनेछन् ।
केन्द्रीय संयोजन समितिमा माओवादीबाट प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, एकीकृत समाजवादीबाट नेपालसहित राजेन्द्र पाण्डे, प्रमेश हमाल र घनश्याम भुसाल, जसपाबाट यादवसहित राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी तथा नेकपाबाट विप्लवसहित खड्गबहादुर विश्वकर्मा छन् । बाँकी सदस्यबारे टुंगो लाग्न बाँकी रहेको विश्वकर्माले बताए ।
कार्यदलले तयार पारेको कार्यविधि, उद्देश्य, संगठनात्मक संरचना, बैठक र निर्णय प्रक्रियाबारेको प्रस्ताव परिमार्जनसहित मोर्चाको बैठकले पारित गरेको विश्वकर्माले जानकारी दिए । उनका अनुसार महिनाको एकपटक मोर्चाको बैठक बस्ने भएको छ । समाजवादी मान्यता बोकेका पार्टीहरूसँग छलफल र वार्ता गरी मोर्चालाई बृहत् बनाउने निर्णय पनि बैठकले गरेको छ । ‘समाजवादी मान्यता बोकेका पार्टीसँग वार्ता र छलफल गरेर मोर्चालाई बृहत् बनाउँदै लैजाने निर्णय भएको छ,’ विश्वकर्माले भने ।
चार सदस्यीय सचिवालय गठन
मोर्चाले चार सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् । हमाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । सदस्यसचिवले बैठक सञ्चालन, एजेन्डा प्रस्तुत, माइन्युट लेखन र कार्यालयको प्रशासनिक कामको नेतृत्व गर्नेछन् ।
मोर्चाको कार्यालय पनि स्थापना गरिने भएको छ । तर, कार्यालय कहाँ रहने भन्ने निर्णय भइनसकेको हमालले जानकारी दिए । यसअघि नेपालको अध्यक्षतामा बसेको मोर्चाको पहिलो बैठकले कार्यविधि, आचारसंहिता र संगठनात्मक संरचनालगायतका विषय टुंग्याउन गुरुङ, हमाल, श्रेष्ठ र विश्वकर्मा रहेको कार्यदल गठन गरेको थियो । नेपालकै अध्यक्षतामा बसेको दोस्रो बैठकले कार्यदलका सदस्यलाई नै सचिवालयको जिम्मेवारी दिएको हो ।
साउनमा सातै प्रदेशमा सभा
मोर्चाले साउनमा सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ । प्रचण्ड र नेपालको विदेश भ्रमण रहेकाले साउनको दोस्रो हप्तापछि सभा हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड इटाली र नेपाल इन्डोनेसिया भ्रमण जाने कार्यक्रम छ । मोर्चा गठनको उद्देश्य र समाजवादी यात्राबारे सभामार्फत देशव्यापी रूपमा प्रस्ट पारिने नेताहरूले बताएका छन् ।
अनुशासनमा कडाइ
मोर्चाले अनुशासनमा कडाइ गर्ने भएको छ । शनिबार पारित आचारसंहिताले सदस्य दलहरूले अन्तरविरोधी अभिव्यक्ति नदिने, उत्पीडित वर्ग, समुदाय र लिंगका जनतालाई सम्मानपूर्ण व्यवहार गर्ने, मोर्चाको अवधारणप्रति प्रतिबद्ध रहनेलगायतका विषय समेटिएको आचारसंहितालाई अन्तिम रूप दिइएको विश्वकर्माले जानकारी दिए ।
बैठकले माओवादी केन्द्रीय सल्लाहकार एवं माओवादी अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मोर्चाले प्रचण्डसहित परिवारमा समवेदन पनि प्रकट गरेको छ । ‘स्व. दाहालले कम्युनिस्ट आन्दोलन र नेपालको राजनीतिक परिवर्तनमा महŒवपूर्ण भूमिका खेलेकाले उहाँप्रति श्रद्धाञ्जली र परिवारमा हार्दिक समवेदन प्रकट गरेका छौँ,’ हमालले भने ।