१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o७:२२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातौँ प्रधानमन्त्री कप भलिबल लिग  : नेपाल पुलिस र हेल्प नेपाल च्याम्पियन 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२२:oo

महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ हेल्प नेपाल अपराजित रहँदै एनभिए लिगको च्याम्पियन बने 

विभागीय टोली नेपाल पुलिस क्लबको महिला र हेल्प नेपालको पुरुष टोलीले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधि जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुलिसले अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३–१ को सेटमा हराउँदै उपाधि उचालेको हो । हेल्प नेपाल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । यता, हेल्प नेपालले फाइनलमा पुलिसको पुरुष टोलीलाई ३–१ अन्तरले हराउँदै उपाधि जित्न सफल भयो । नेपाल भलिबल संघको आयोजनामा अपराजित रहँदै विजेता बनेका पुलिस र हेल्प नेपालले समान ६ लाख पाएका छन् । 

उपविजेता पुलिसको पुरुष र महिलातर्फ एपिएफले समान तीन लाखमा चित्त बुझाउनुपर्‍यो । महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भएका छन् । दुवैले एक लाख ५० हजार प्राप्त गरे । यसैगरी, चौथो स्थान हासिल गरेका महिलातर्फ आर्मी र पुरुषतर्फ एपिएफले समान ७५ हजार हात पारेका छन् । पुरुषतर्फ गण्डकी प्रदेश पाँचौँ, शैलुङ बाघढुंगा छैटौँ र दावाँली मिलन क्लब पुछारमा रहेका थिए । यता, महिलातर्फ पाँचौँ भएको गण्डकी प्रदेश र छैटौँ भएर पुछारमा रहेको एभरेस्टको सहभागिता मात्रै बन्न पुग्यो । विजयी टोली र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतले सम्मान गरेका थिए । 

पुलिसविरुद्ध एपिएफ निरीह
राष्ट्रिय टोलीका खेलाडीले भरिएको पुलिसविरुद्ध कमजोर प्रदर्शन गर्दा एपिएफ उपाधिबाट टाढा रहेको हो । पहिलो सेटमा २५–१२ ले पराजित भएपछि दोस्रो सेटमा २५–२१ ले जित निकाल्दै एपिएफ खेलमा फर्किएको थियो । तर, तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । राष्ट्रिय टोलीका पुनम चन्द, उषा भण्डारी, कामना विष्ट र शान्तिकला तामाङका साथै कमला पुनले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफले स्वाभाविक प्रदर्शन गर्न सकेन । एपिएफबाट राष्ट्रिय टोलीमा स्थान बनाएका सरस्वती चौधरी, कविता भट्ट र निरुता थगुन्नाले कुनै जादू गर्न सकेनन् । यसअघि पुलिसले पाँच खेलमा सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान बनायो । पुलिसले पाँच खेलबाट १५ अंक जोडेको थियो । समान खेलबाट एपिएफले ११ अंक जोड्दा आर्मी र न्यु डायमन्डले समान आठ अंक जोडका हुन् । 

हेल्प नेपाल अपराजित रहँदै च्याम्पियन
तीन पाकिस्तानी र केही भारतीय सेनामा आबद्ध खेलाडीको साथ पाएको हेल्प नेपाल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ । लगातार सातौँ जित निकाल्दै उपाधि जित्ने क्रममा हेल्प नेपालले विभागीय पुलिसलाई ३–१ ले हराएको हो । हेल्प नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट पुलिसले २५–११ जित्दै खेल १–१ को अवस्थामा ल्याएको थियो । खेलमा हेल्प नेपालले लगातार दबाब बढाउँदै तेस्रो र चौथो सेट समान २५–१८ ले जित्न सफल भएको हो । पाकिस्तानी खेलाडी माजर अली, ऐमल खान र अदनान खानका साथै सन्जु शाह, दीपक थापा र सुरेन्द्र बलले सानदार प्रदर्शन गरेका थिए । यता, पुलिसबाट रविन चन्द, भीम गाहा, हरि थापा, इम रानामगर, सफल विक कोर्टमा उत्रिएका हुन् । लिग चरणको अन्तिम दिन हेल्प नेपालले त्रिभुवन आर्मी र पुलिसले एपिएफलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । 

पुनम र ऐमल सर्वाेत्कृष्ट 

नेपाल पुलिस क्लबकी पुनम चन्द र पुरुषतर्फ हेल्प नेपालका ऐमल खान आठ दिनसम्म चलेको लिगमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राष्ट्रिय टोलीकी सदस्य पुनम महिलातर्फ र पाकिस्तानी राष्ट्रिय टोलीका कप्तान तथा मिडब्लकर ऐमल पुरुषतर्फ सर्वाेत्कृष्ट चुनिएका हुन् । दुवैले जनही ३५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ पुलिसको बर्चस्व रहेको छ । पुलिसकी शान्तिकला उत्कृष्ट लिबेरो, कमला उत्कृष्ट सेटर, उषा उत्कृष्ट स्पाइकर, रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भएका छन् । न्यु डायमन्डकी सुमित्रा रेग्मी उदीयमान खेलाडी घोषित भइन् । 

पुरुषतर्फ हेल्प नेपालको बाहुल्यता रहेको छ । दीपक उत्कृष्ट लिबेरो, अदनान खान उत्कृष्ट सेटर, माजर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् । उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदीयमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भएका छन् । विधागततर्फका उत्कृष्टले जनही नगद १५ हजार र उदीयमान खेलाडीले जनही १० हजार प्राप्त गरेका हुन् ।