१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७६ बैशाख ८ आइतबार १४:३४:००
Read Time : > 1 मिनेट
खेलकुद

मौका पाउँदा आफूलाई प्रमाणित गर्ने कोशिस गर्छु : सन्दिप लामिछाने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ बैशाख ८ आइतबार १४:३४:००

नेपाली लेगस्पिनर सन्दिप लामिछानेले मौका पाएका बेला आफूलाई प्रमाणित गर्ने कोशिस गरिरहने बताएका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ३७ औं खेलमा किंग्स इलेभेन पन्जावविरुद्ध महत्वपूर्ण तीन विकेट लिएर दिल्ली क्यापिटल्सको विजयमा योगदान गरेका सन्दिपले टिमको जित आफ्ना लागि महत्वपूर्ण हुने बताएका हुन् । 

‘हरेक अवसर मेरा लागि एउटा चुनौति पनि हो । जब मैले मौका पाउँछु, आफूलाई प्रमाणित गर्ने कोशिसमा हुन्छु,’ खेलपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै सन्दिपले भने । 

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सन्सनीपुर्ण रुपमा ३ विकेट लिएपछि शनिबार राति भएको खेलमा दिल्लीले पन्जाबलाई १६३ रनमा रोकेको थियो। सन्दीपले कृश गेल, लोकेश राहुल र साम कुरानको विकेट लिएका थिए । 

दिल्लीका लागि दोस्रो ओभर बलिङ गरेका लामिछानेले चौथोँ बलमा ओपनर लोकेश राहुलको विकेट लिए । १२ रन बनाएका राहुलले उनको यो ओभरको पहिलो बलमा नै छक्का हानेका थिए । यसको बदला लिँदै लामिछानेले चौथोँ बलमा राहुललाई विकेट किपर रिसभ पन्तबाट स्टम्पिङ गराए ।

सन्दीपको दोस्रो ओभर भने खराब रह्यो । वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले उनको ओभरमा चार चौका प्रहार गरे । गेलको विकेट लिन भने सन्दीप नै बलिङमा आउनु पर्‍यो । विष्फोटक ब्याटिङका लागि चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे भने ३७ बलमा ६९ रन बनाए ।

खेलको तेह्रौं ओभरमा सन्दीप फेरि बलिङमा आए । यस पटक पहिलो बलमा गेलले उनलाई छक्का प्रहार गरे । त्यसपछि दोस्रो बलमा सन्दीपले सम्झन योग्य विकेटमा गेललाई आउट गरे ।  सन्दीपको बलमा अर्को छक्का हान्न खोजेका गेलको त्यो बल कोलिन इन्ग्रामको हातमा आइपुग्यो । तर बाउन्ड्री नजिकै रहेका इन्ग्राम सम्हालिन सकेनन् । बल हावामा फालिदिए र आफू बाउन्ड्री बाहिर ढल्न पुगे । इन्ग्रामले फालेको बललाई अक्षर पटेलले क्याच गरे । गेल आउट भए । सन्दिपले गेलको विकेट नै खेलको ‘टर्निङ पोइन्ट’ भएको बताएका छन् ।

यही ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् । आइपिएलको यो सिजनमा उनले ५ खेलबाट ८ विकेट लिएका छन् ।