
इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको ‘ए’सँग खेल्दै छ । एसिया कपमा आठ देश सहभागी छन् । नेपाल मात्र सिंगो राष्ट्रिय टोली पठाएको राष्ट्र हो । यसबाहेक अन्य सहभागीले ‘ए’ टोली पठाएका छन् । युएई र ओमानले युवा खेलाडीलाई अवसर दिन आफ्नो ‘ए’ टोली नै पठाएका छन् । नेपालले आसन्न एसिया कपको तयारीलाई मध्यनजर राखी सिनियर खेलाडीलाई प्रतिस्पर्धा गराउन लागेको हो । दुई महिनापछि श्रीलंकामै एसिया कप हुँदै छ ।
श्रीलंकाको मौसम र पिचसँग अभ्यस्त हुन पनि सिनियर खेलाडीलाई नै मौका दिन लागेको मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रतियोगितामा सहभागी हुनुअघि बताएका थिए । प्रतियोगितामा पाँच टेस्ट राष्ट्र छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानलाई नै उपािध दाबेदारीका रूपमा हेरिएको छ ।
नेपाल सम्मिलित समूह ‘बी’मा भारत, पाकिस्तान र युएई छन् । नेपाली खेलाडीले इमर्जिङ टिम्स कपमा धेरै एक्सपोजर प्राप्त गर्न सकिने कप्तान रोहितकुमार पौडेलले बताएका छन् । ‘हामीसँग सीमित स्रोत र साधन छ, यस्तो अवस्थामा इमर्जिङ टिम्स कप एउटा अवसर हो,’ उनले भने, ‘सिनियर र युवा खेलाडीले धेरैभन्दा धेरै फाइदा लिनुपर्छ ।’ पाँच टेस्ट राष्ट्र सहभागी भइरहेको प्रतियोगिता नेपाली क्रिकेट र खेलाडीको विकासका लागि राम्रो अवसरका रूपमा उनले लिएका छन् । ‘टेस्ट राष्ट्रका ‘ए’ टोलीका खेलाडी पनि राम्रा नै छन्, उनीहरूबाट राम्रो अनुभव लिन सकिन्छ,’ उनले भने, ‘समग्रमा यसले हाम्रो नै विकास गर्छ ।’
लक्ष्य एसिया कप
आगामी अगस्ट र सेप्टेम्बरमा श्रीलंकामा एसिया कप हुँदै छ । इमर्जिङको अनुभव एसिया कपमा काम लाग्ने कप्तान रोहितले जनाए । ‘हाम्रो नजरमा यो प्रतियोगिता एसिया कपको तयारी पनि हो,’ उनले भने, ‘यहाँको मौसम र पिचबारे हामीले अहिले नै जानकारी लिँदा एसिया कपमा राम्रो हुने देख्छु ।’ एसिया कपको समूह ‘ए’ मा नेपालले पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपमा राम्रो नतिजा निकाल्ने उद्देश्यका साथ नै नेपाली टोलीमा सिनियर खेलाडीको बाहुल्यता रहेको उनको भनाइ छ ।
श्रीलंकामा सहभागी भएको नेपाली टोलीमा पाँच सिनियर खेलाडी छैनन् । गत साता जिम्बावेमा भएको एकदिवसीय विश्वकप ग्लोबल छनोटमा उनीहरू सहभागी थिए । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिएको छ । आरिफ शेखले पारिवारिक कारण नाम फिर्ता लिए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न जाने तयारीमा छन् । सिनियर पाँच खेलाडी टोलीमा नरहँदा पवन सर्राफ, सन्दीप जोरा र देव खनाल, श्याम ढकाल र सूर्य तामाङजस्ता युवा खेलाडीले मौका पाउनेछन् । उनले प्रतियोगितामा सिक्ने अवसर भएको बताए । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल ७ साउनमा हुनेछ ।
ह्यारिसको कप्तानीमा पाकिस्तान
नेपालविरुद्ध खेल्ने पाकिस्तानको नेतृत्व अन्तर्राष्ट्रिय खेलाडी मोहमद ह्यारिसले गरेका छन् । ह्यारिसले पाकिस्तानको सिनियर टोलीबाट पाँच एकदिवसीय र नौ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् । पाकिस्तानले पछिल्लोपटक न्युजिल्यान्डसँगको सिरिज खेल्दा ह्यारिससमेत थिए । यसैगरी, अर्सद इक्वाल, कमारान गुलाम र मोहमद वासिमजस्ता अनुभवी खेलाडी छन् । वासिमले दुई टेस्ट, १४ एकदिवसीय र २७ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् । पाकिस्तानले पठाएको टोलीमा सबैभन्दा अनुभवी खेलाडी वासिम नै हुन् ।
ह्यारिसले सन् २०२२ को ८ जुनमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । गत वर्ष उनले इंग्ल्यान्डसँगको खेलमा टी–२० मा डेब्यु अवसर पाए । सन् २०२१ मा उनले श्रीलंकाविरुद्ध टेस्टमा डेब्यु गरे । पाकिस्तानी टोलीका सबैभन्दा अनुभवी खेलाडी वासिमले १४ एकदिवसीय खेलमा ५७ रन, २७ अन्तर्राष्ट्रिय टी–२० मा ४५ रन तथा दुई टेस्टमा ५५ रन बनाएका छन् । पहिलो लिस्ट ‘ए’मा एकपटक अर्धशतकीय इनिङ्स खेले । अलराउन्डर भूमिका निर्वाह गर्ने वासिमले टेस्टमा दुई, एकदिवसीयमा २४ र टी–२० मा ३५ विकेट लिएका छन् । एकदिवसीयमा उनले एकपटक चार विकेट लिए । वासिमले गत वर्ष नै टेस्ट र एकदिवसीयमा डेब्यु गरेका थिए ।
निर्वाचनको माहोल बनाउँदै पूर्वकप्तान पारस
पूर्वकप्तान पारस खड्काले क्यानको आसन्न निर्वाचनमा आफ्नो तयारी सुरु गरेका छन् । सोसल मिडियामा बिहीबार खड्काले साउनमा हुने काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचनका लागि योग्यता पुगेका सबैलाई सदस्यता लिन र सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् । उनले राष्ट्रिय खेलाडी, अम्पायर, स्कोरर, क्लब र स्टेकहोल्डरलाई सदस्यता लिन आग्रह गरेका हुन् । ‘अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष जिल्लाको चुनाव रहेकाले सम्पूर्ण राष्ट्रिय खेलाडी, अम्पायर, स्कोरर, क्लब र स्टेकहोल्डरलाई आ–आफ्नो सदस्यता लिन आग्रह गर्दछु,’ उनले भने ।
खड्काले जिल्लादेखि नै असल नेतृत्व छानेर पठाउन आग्रहसमेत गरे । ‘नेपाली क्रिकेट अघि बढ्न चाहन्छ, हामीले जिल्लादेखि नै संरचना परिवर्तन गर्नुपर्ने वेला भइसकेको छ,’ सोसल मिडियामा लाइभ गर्दै उनले भने, ‘सबैलाई विधानअनुसार सदस्यता नवीकरण गरेर नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नुहुन अनुरोध छ ।’ पूर्वकप्तान खड्काले तीन वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
१५ असारमा क्यानको केन्द्रीय कार्यसमितिको बैठकले जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचनको मिति तोकेको थियो । यससँगै अहिले क्रिकेटको चुनावी माहोल तातेको छ । क्यानले १६ असारदेखि १० साउनभित्र साधारण सदस्यता वितरण गर्न सम्बन्धित जिल्ला संघलाई जिम्मेवारी दिएको छ ।
काठमाडौं जिल्ला क्रिकेट संघले २६ असारमा सूचना जारी गर्दै सदस्यता लिन र नवीकरण गर्न आग्रह गरेको थियो । जिल्ला क्रिकेट संघको निर्वाचन साउन मसान्तसम्म सकाउनुपर्ने क्यानले जनाएको छ । प्रदेश निर्वाचन १० भदौमा हुनेछ । त्यसपछि क्यानको केन्द्रीय निर्वाचन ५ र ६ असोजमा हुनेछ ।
यो एउटा अवसर हो
रोहितकुमार पौडेल, कप्तान, नेपाल
हामी इमर्जिङ कपमा हरेक खेल जित्नकै लागि खेल्छौँ, सबैले त्यही मानसिकता राखेका छन्, यो एउटा अवसर हो । यसै कारण प्रत्येक खेलमा कडा मिहिनेत हुनेछ ।