१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख २३ आइतबार २o:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘लाइसेन्स नहुँदैमा दुर्घटनालाई चालकको लापरबाही मान्न मिल्दैन’ 

११ वर्षअघिको मोटरसाइकल दुर्घटनामा सर्वोच्चको फैसला

Read Time : > 3 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:२९:oo

पूर्णपाठमा भनिएको छ–

–    सवारी चलाउनुपर्ने अति आवश्यक परेको र बाध्यात्मक अवस्थामा सतर्कता अपनाई कुनै गल्ती नगरी होसियारीपूर्वक दुईपांग्रे सवारी चलाएको अवस्थामा परिस्थितिवश वा अन्य व्यक्तिका कारण दुर्घटना हुन गएमा लापरबाही नै हो भनी कसुर कायम गर्दा न्यायिक विवेकको प्रयोग सही तवरले भएको मान्न मिल्ने देखिँदैन 
–    वस्तुतः दुईपांग्रे सवारीको हकमा उल्लिखित अवस्थामा सवारी चलाएको रहेछ भने अपवादका रूपमा दुर्घटनाको समग्र परिस्थितिको मूल्यांकन गरी कानुनी व्यवस्थाको प्रयोग गरिनु नै न्यायोचित हुने देखिन्छ 
–    धेरैजना सवारी गर्न मिल्ने खालको चारपांग्रे सवारीसाधन चलाउनु र व्यक्तिगत दुईपांग्रे सवारीसाधन चलाउनु समान किसिमको जिम्मेवारी र उत्तरदायित्व होइन । व्यक्तिगत दुईपांग्रे सवारीसाधनमा आफू र बढीमा एकजना यात्रु रहने हुँदा अन्य व्यक्तिका लागि भन्दा पनि आफ्नै लागि बढी जोखिमपूर्ण हुन्छ । यद्यपि, लाइसेन्स लिएर मात्र सवारी चलाउनुपर्ने र त्यसो नगर्नु कानुनको उल्लंघन हुनेमा इजलास स्पष्ट छ 


र्वोच्च अदालतले लाइसेन्स नभएकै आधारमा मात्र सवारी दुर्घटनालाई चालकको लापरबाही भन्न नमिल्ने जनाएको छ । ११ वर्षअघि भएको एक मोटरसाइकल दुर्घटनासम्बन्धी मुद्दामा फैसला गर्दै अदालतले यस्तो जनाएको हो । गत १८ फागुनमा बृहत् पूर्ण इजलासबाट भएको फैसलाको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको थियाे । 

जिल्ला र उच्च अदालतले गरेको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै सर्वोच्चले यात्रुसमेत रहेका सवारीसाधन चलाउने चालक र व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिने मोटरसाइकलजस्ता दुईपांग्रेबाट हुने दुर्घटनामा ‘लापरबाही’ को परिभाषा फरक हुनुपर्ने स्पष्ट पारेको छ ।

‘... सवारी चलाउनुपर्ने अति आवश्यक परेको र बाध्यात्मक अवस्थामा सतर्कता अपनाई कुनै गल्ती नगरी होसियारीपूर्वक दुईपांग्रे सवारी चलाएको अवस्थामा परिस्थितिवश वा अन्य व्यक्तिका कारण दुर्घटना हुन गएमा लापरबाही नै हो भनी कसुर कायम गर्दा न्यायिक विवेकको प्रयोग सही तवरले भएको मान्न मिल्ने देखिँदैन । वस्तुतः दुईपांग्रे सवारीको हकमा उल्लिखित अवस्थामा सवारी चलाएको रहेछ भने अपवादका रूपमा दुर्घटनाको समग्र परिस्थितिको मूल्यांकन गरी कानुनी व्यवस्थाको प्रयोग गरिनु नै न्यायोचित हुने देखिन्छ,’ फैसलामा भनिएको छ । 

दुर्घटना हुँदाका बखत मोटरसाइकलचालकको गति पनि सामान्य रहेको, चालकले मादक पदार्थ सेवन नगरेको, बचाउन खोज्दाखोज्दै दुर्घटना भएको, आफू पनि घाइते भएको र अन्य कुनै लापरबाहीका तत्व नभेटिएको भन्दै लाइसेन्सविना चलाउनु मात्र लापरबाहीको आधार मान्न नमिल्ने फैसलामा छ । 

मोटरसाइकल व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने साधन भएकाले मोटरसाइकल चालक दीपक तामाङको हकमा लापरबाहीको विद्यमानता नदेखिएको ठहर इजलासले गरेको छ । 

‘... सार्वजनिक सवारीसाधन तथा व्यक्तिगत सवारीसाधन भए पनि धेरैजना सवारी गर्न मिल्ने खालको चारपांग्रे सवारी साधन चलाउनु र व्यक्तिगत दुईपांग्रे सवारीसाधन चलाउन समान किसिमको जिम्मेवारी र उत्तरदायित्व नभई व्यक्तिगत दुईपांग्रे सवारीसाधनमा आफू र बढीमा एकजना यात्रु रहने हुँदा अन्य व्यक्तिको लागि भन्दा पनि आफ्नै लागि बढी जोखिमपूर्ण हुन्छ,’ उक्त फैसलामा छ । यद्यपि, लाइसेन्स लिएर मात्र सवारी चलाउनुपर्ने र त्यसो नगर्नु कानुनको उल्लंघन हुनेमा इजलास स्पष्ट छ । 

यस्तो थियो दुर्घटना
नुवाकोटको बट्टार बजारमा ११ पुस ०६९ मा बा.१०प ८२५१ नम्बरको मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते रामप्रसाद कुमालको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । मोटरसाइकलचालक थिए विदुर नगरपालिका घर भएका दीपक तामाङ । उनीसँग सवारीचालक अनुमतिपत्र (लाइसेन्स) थिएन । दुर्घटनामा घाइते भएका उनको दुई दिनपछि होस आएको थियो । 

जिल्ला अदालत नुवकोटमा मुद्दा चल्दा तामाङलाई लापरबाहीपूर्वक सवारी चलाएको भन्दै सरकारी वकिलले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) अनुसारको कसुर मान्दै मुद्दा चलायो । जसमा ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा–देखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट’ दुर्घटनामा मृत्यु भएमा तीन वर्षदेखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । साथै, ३० हजारदेखि एक लाख रुपैयाँजसम्म जरिवाना हुन सक्छ । 

जिल्ला अदालतले भने चालकको लापरबाही मान्न इन्कार गर्दै १६१ (३) अनुसारको कसुर ठहर ग¥यो । उक्त उपदफामा ‘कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना’ भई कसैको मृत्यु भएमा एक वर्षसम्म कैद र दुई हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । यसरी मोटरसाइकलचालक तामाङलाई ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भएको थियो । 

तर, सरकारी पक्षले उक्त दुर्घटनालाई लापरबाही मान्दै जेब्रा क्रसिङमा दुर्घटना भएको तथा चालकसँग लाइसेन्स नहुनुले लापरबाही पुष्टि हुने दाबीसहित उच्च अदालत गयो । यद्यपि, उच्च अदालत पाटनले पनि जिल्लाकै फैसला सदर ग¥यो । यो फैसला सर्वोच्चको नजिरविपरीत रहेको भन्दै यसविरुद्ध सरकारी पक्ष पुनः दोहोर्याई पाउने निस्सा माग्दै सर्वोच्च पुगेको हो । 

सर्वोच्चले त्यो फैसलामा त्रुटि रहेको स्विकार्दै निस्सा दियो र संयुक्त इजलासले दुईवटा नजिर बाझिएको भन्दै स्पष्ट पारिदिन बृहत् पूर्ण इजलासमा पठाएको थियो । सर्वोच्चले एकातिर ‘व्यक्तिगत सवारीसाधन चलाउने र सार्वजनिक भारी सवारीसाधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने’ सिद्धान्त प्रतिपादन गरेको थियो भने अर्कोतिर ‘लाइसेन्स प्राप्त नगरी सवारीसाधन चलाई दुर्घटना गराई कसैको मृत्यु भएमा चालकको कैफियत मान्नुपर्ने’ नजिर प्रतिपादन गरेको थियो । यसैलाई स्पष्ट पार्दै इजलासले लापरबाहीका अन्य तत्व विद्यमान नहुँदाको परिस्थितिमा भएको दुर्घटनालाई लाइसेन्स नभएको मात्र कारणले लापरबाही मानेर सजाय गर्न नमिल्ने स्पष्ट पारेको हो । 

यस मुद्दालाई सर्वोच्चको संयुक्त इजलासले बृहत् पूर्णमा पेस गर्ने गरी २२ असार ०७७ मा फैसला गरेको थियो । संयुक्त इजलासले लाइसेन्स नभएका व्यक्तिले चलाएको सवारीले दुर्घटना गराउँदा मृत्यु भएमा लापरबाही मानिने, तर व्यक्तिगत सवारीसाधन चलाउने र सार्वजनिक भारी सवारीसाधन चलाउनेको सतर्कता भिन्न–भिन्न मापदण्डका हुनुपर्ने भनी नजिर कायम भएकोमा अन्य नजिरले भने लाइसेन्सविना चलाउनु कैफियत हुने अर्को नजिर थियो । जसमा जुनसुकै सवारीसाधन र प्रयोजन भए पनि विनालाइसेन्स चलाए लापरबाही पुष्टि हुने उल्लेख छ । 

‘... प्रतिपादित सिद्धान्तसमेतको समग्र रूपमा व्याख्या गरी एकरूपता कायम गर्नुपर्ने देखिएको र उल्लिखित विषयको कानुनी प्रश्नको जटिलता र महत्वका साथै दुई पूर्ण इजलासको फैसलामा देखिएको विविधतालाई विचार गर्दा बृहत् पूर्ण इजलासबाट निरूपण हुन उपयुक्त देखिएको’ भन्दै यो मुद्दामा संयुक्त इजलासको निष्कर्ष थियो । 

ad
ad