१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २२ शनिबार २१:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अस्पताल र सरकारी कार्यालयमा छड्के अनुगमन, ९८ जना अनुपस्थित

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:५o:oo

सप्तरीका अस्पताल र सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ ।
अस्पताल तथा सरकारी कार्यालयहरूमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि सोमबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापाले छड्के अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा १३ जना चिकित्सकसहित ८९ जना स्वास्थ्यकर्मी तथा कर्मचारी अनुपस्थित रहेको पाइएको सिडिओ थापाले बताए । 

‘अस्पतालजस्तो संवेदनशील कार्यालयमा पनि ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू अनुपस्थित रहनु दुःखद विषय हो,’ उनले भने, ‘यस्तो परिपाटी सुधार नभए अब उपरान्त त्यस्ता चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही हुन्छ ।’

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयमा कार्यालय प्रमुख रेखाकुमारी यादव, सूचना अधिकारी कमलनारायण साहसहित आठजना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । अनुगमनको क्रममा कार्यालय प्रमुख यादव उपस्थित भए पनि २२ असारदेखि नै उनले हाजिर नगरेको पाइएको सिडिओ थापाले जानकारी दिए । त्यस्तै, सूचना अधिकारी साहले पनि ४ असारपछि हाजिर गरेका छैनन् ।

त्यस्तै, साल्ट ट्रेड्रिङ कर्पोरेसन लिमिटेडमा एकजना कर्मचारी अनुपस्थित रहेको पाइएको उनले बताए । ‘अनुपस्थित देखिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूसँग पहिलो चरणमा स्पष्टीकरण माग गरिनेछ, चित्त बुझ्दो स्पष्टीकरण नआए सम्बन्धित कार्यालयमा कारबाहीको लागि सिफारिस गरिनेछ,’ सिडिओ थापाले भने ।

अनुगमनको क्रममा सिडिओ थापाले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्याउन कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिए ।

ad
ad