
कोसीका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । २१ असारमा मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता थापाले आइतबार माओवादीका जीवन आचार्यलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिँदा माओवादीकै राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।उनले यसअघि शुक्रबार एकीकृत समाजवादीका कमल जबेगू र कांग्रेसका प्रदीप सुनवारलाई विनाभागीय मन्त्री नियुक्त गरेका थिए । हाल एक मुख्यमन्त्री, एकजना आर्थिक र चार विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।
तर, सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार भएको भन्दै गठबन्धनको सहयात्री एकीकृत समाजवादीले आइतबार शपथग्रहण नै बहिष्कार गरेको छ । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सहमतिविपरीत काम भएकाले आफूहरू सरकारलाई विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिए । उनका अनुसार गठबन्धनमा आबद्ध चारै दलबाट आइतबार एक–एक मन्त्री नियुक्त गर्ने सहमति थियो । तर, माओवादीबाट दुई मन्त्री नियुक्त हुँदा एकीकृत समाजवादीले भाग पाएन ।
माओवादी संसदीय दलका प्रमुख सचेतक नारायण बुर्जा मगरले आफूले दुई–दुईचोटि प्रत्यक्षबाट निर्वाचन जिते पनि मन्त्री बन्न पार्टीले सिफारिस नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । आफूलाई अपहेलना गरेको भन्दै सांसद पद परित्याग गर्ने चेतावनी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् । सभामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गराएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरिसकेको छ । आइतबार पेसी भए पनि सुनुवाइ हुन सकेन । कोसीमा सत्ताधारी कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एकजना सांसद छन् ।