
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताएका छन्।
आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद्, सांसदहरू र नागरिकको आत्मसम्मानमा असर पुर्याउने गरी बोल्न नमिल्ने प्रस्ट पारे। स्थिर सरकारको परिकल्पना गरेर प्रतिपक्षले पनि पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत भएको उनको भनाइ छ।
‘पाँच वर्षसम्म प्रधानमन्त्री बन्नुभएन भन्ने पाँच-पाँच महिनामा राजीनामा मागिराखेर जाँदै गर्दाखेरी त्यसले जटिलता आउँछ। हरेक घटनामा राजीनामा दिने हो भने विगतमा त्यत्रो कोरोनाको लफडा हुँदाखेरी स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भनेर आयो। त्यसवेलै राजीनामा हुन्थ्यो होला। जनताद्वारा निर्वाचित संसद्ले पाँच वर्ष काम गर्ने भनेको बीचमा विघटन भएर त्यहाँ राजीनामा हुन्थ्यो होला। राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनुहुँदैन,’ उनले भने।
महामन्त्री शर्माले विवेकपूर्ण मुद्दा उठाउँदै गर्दा आवेगपूर्ण समाधान खोज्न नहुने भन्दै प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल नै निरन्तर रहने प्रस्ट पारे।