१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लम्पी स्किनले गोरु मरेपछि किसानलाई रोपाइँ गर्न हाते ट्रयाक्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४७:oo

लमजुङमा पशुचौपायामा देखिएको लम्पी स्किन संक्रमणले रोपाइँ प्रभावित भएको छ । लम्पी स्किन संक्रमणपछि धमाधम गोरु मर्न थालेसँगै किसानलाई राहत होस् भनेर रोपाइँ गर्न दोर्दी गाउँपालिकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो । पालिकाले ७५ प्रतिशत अनुदानमा पालिकाभित्रका ६० किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ । 

धान रोपाइँको समयमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि मारमा परेका १३ किसान र यसअघि नै हाते ट्रयाक्टर माग आवेदन पेस गरेका ४७ जनालाई हाते ट्रयाक्टर वितरण गरिएको हो । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले लम्पी स्किन रोगले गोरु मरेपछि रोपाइँ नै प्रभावित भएका १३ जना किसानलाई गाउँपालिकाको विपत् व्यवस्थापन कोषमार्फत हाते ट्रयाक्टर वितरण गरिएको बताए । आफूले पालेका पशुमा रोग संक्रमणले मारमा परेका किसानलाई ट्रयाक्टर वितरणले केही राहत मिलेको बताउँदै अध्यक्ष अधिकारीले हाते ट्रयाक्टरको प्रयोगले कम लागत, थोरै समयमा सहज रूपमा धेरै काम गर्न सकिने बताए । 

पछिल्लो समय किसानहरूले गोरु पाल्ने क्रम निकै कम भएको छ । केही किसानले पालेका गोरु पनि लम्पी स्किन रोग संक्रमण भएपछि चिन्तित बनेका वेला पालिकाले अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको हो । यसबाट ठूलो राहत मिलेको किसानहरूले बताएका छन् । दोर्दी गाउँपालिकामा मात्र लम्पी स्किन संक्रमणका कारण १५ वटाभन्दा बढी गोरु मरेको दोर्दीको पशु शाखाले जनाएको छ । कृषकहरूलाई ६ हर्सपावरको ५५ वटा र सात हर्सपावरको पाँचवटा हाते ट्रयाक्टर वितरण गरिएको कृषि शाखाले जनाएको छ । 

गाउँपालिकाले ६ हर्सपावरको प्रतिहाते ट्रयाक्टर ५७ हजार रुपैयाँमा खरिद गरि पालिकाको ७५ प्रतिशत लागत र किसानहरूको २५ प्रतिशत १४ हजार रुपैयाँ पर्ने गरी उपलब्ध गराएको हो । ६८ हजार मूल्यबराबरको सात हर्सपावरको हाते ट्रयाक्टर किसानका लागि २४ हजार दुई सय ५० रुपैयाँ पर्ने गरी उपलब्ध गराएको हो । 

ad
ad