१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २० बिहीबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा पक्राउ

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१o:oo

बाजुराको बुढीगंगा नगरपालिका– ७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बिहीबार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उपेन्द्र साउदलाई हातपात तथा गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कवीन्द्र बोहराले जानकारी दिए। 

बोहराले भने, ‘केसीलाई प्रक्राउ गरेर सदरमुकाम मार्तडीमा ल्याएका छाैँ । आज पीडित पक्षलाई बोलाएर कानुनी कार्यबाही अघि बढाउँछौँ। र, एकपटक दुई पक्षबीच छलफल पनि गर्छौँ।’
 
योजनाको काम कम भएको, तर बिल उठाएर पूरै भुक्तानी दिनुपर्ने भन्दै केसीले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको नगरपालिकाका कर्मचारीले बताए। केसीले पहिला फोनबाट पनि कर्मचारीलाई धम्क्याइरहेका थिए। पछि कार्यालयमै पुगेर हातपात र गालीगलौज गरेको ती कर्मचारीले बताए।

कर्मचारीले कामअनुसारको बिल उठाउने भनेका थिए। तर, उनले पूरै बिल उठाउने भन्दै कर्मचारीमाथि आक्रमण गर्न खोजेको उपप्रमुख माया कुँवरले बताइन्। 

कुँवरका अनुसार इन्जिनियर साउदमाथि भने केसीले हातपात नै गरेका थिए। साउदले लगाएको सर्ट नै च्यातिएको छ। कुँवरले जसले थर्काए पनि, धम्क्याए पनि काम नभएको रकमको बिल नउठाउन र भुक्तानी पनि नगर्न कर्मचारीलाई निर्देशन दिएको बताइन्। 

वडाध्यक्षका छोरा  केसीले भने आफूले कर्मचारीमाथि हातपात र गालीगलौज नगरेको प्रतिक्रिया दिए। उनले सामान्य भनाभन्न भए पनि हातपात नभएको दाबी गरे। 

कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै नेपाल निजामती कर्मचारी संगठन बाजुराले विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि हातपात गर्नेमाथि कारबाही गर्न माग गरेको छ।

बिहीबार संगठनका अध्यक्ष पूर्णचन्द्र जैसीद्वारा जारी विज्ञप्तिमा घटनाको निन्दा गर्दै सुरक्षित रूपमा काम गर्ने वातावरण सिर्जना गर्न र सुरक्षाको प्रत्याभूति दिन माग गरिएको छ। 
 

ad
ad