१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

‘राजनीतिक अभीष्ट पूरा गर्न प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरियो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सदैव संघीय संसद्प्रति जवाफदेही रहेको उनको सचिवालयले जनाएको छ । सचिवालयले सरदार प्रीतम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको दाबी गर्दै अभिव्यक्तिलाई अपव्याख्या गरिएको दाबी गरेको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले नियोजित रूपमा संसद् अवरोध गरेको जनाएका छन् । संसद् अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्बाट पारित नभई निष्क्रिय भएको र त्यसबाट मिटरब्याजपीडितको न्याय प्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख छ । मिटरब्याजपीडितको न्यायको पक्षमा आवश्यक पहल लिने विज्ञप्तिमा प्रतिबद्धता व्यक्त गरिएको छ । 

सिंहको दिल्लीस्थित आफ्नै घरमा पटक–पटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गरेको प्रेस सल्लाहकार आचार्यको भनाइ छ । ‘प्रधानमन्त्री प्रचण्डले सिंहसँगको सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिसयोक्तिपूर्ण राजनीतीकरण गर्नु आफैँमा निरर्थक र दुःखद छ,’ विज्ञप्तिमा छ । 

विज्ञप्तिमा जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रीतम सिंहको भेटघाट र चिनजान भएको उल्लेख छ । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७/६८ तिर सिंहको दिल्लीस्थित घरमा बसेर नै उनको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उनको घरमा आउजाउ हुने गरेको विज्ञप्तिमा जनाइएको छ । सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उनीहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको बताइएको छ । सिंहले अनौपचारिक भेटघाटमा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणका क्रममा प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गरेको सचिवालयको भनाइ छ ।

प्रतिपक्षले भ्रामक प्रचारबाजी गरेको भन्दै माओवादीको आपत्ति 

माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रीतम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट भ्रामक प्रचारबाजी गरेको भन्दै आपत्ति जनाएको छ ।

उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बिहीबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभीष्टताबाहेक केही नभएको बताएका छन् ।

‘सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेको र त्यसका लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गर्ने प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रतिपक्ष दलको कुत्सित चाहना पूरा गर्ने अभीष्टताबाहेक केही होइन,’ विज्ञप्तिमा छ । 

राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको महराले बताएका छन् । उनले राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन अपिलसमेत गरेका छन् । ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक–पटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानबिन र फाइल खोल्दा गैरजिम्मेवार बन्नेजस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ महराले विज्ञप्तिमा भनेका छन्, ‘तथापि, पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउँ पाऊँ, कनिका बुकाऊँ’ भनेजस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

ad
ad