१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:o२:oo
Read Time : > 4 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

जुकरबर्ग भर्सेस मस्क : ‘थ्रेड्स’ ल्याएर ट्विटरलाई चुनौती

मस्कले किन्ने सहमति जनाएयता ट्विटरले आफ्नो करिब दुईतिहाइ मूल्य गुमाइसकेको छ, यसबाट कसैलाई फाइदा भएको छ भने ती जुकरबर्ग हुन्

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o२:oo

एउटा कुनामा मार्क जुकरबर्ग खडा छन्, ३९ वर्षका पाँच फिट सात इन्च अग्ला र ब्रजिलियन मार्सल आर्ट ‘ज्यु–जित्सु’का खेलाडीजस्ता । अर्काे कुनामा उभिएका छन् एलन मस्क, जो जुकरभन्दा १३ वर्ष बूढा र ६ इन्च अग्ला भिमकाय सामुद्रिक स्तनपायी ‘वलारस’को चालढालका छन् । ‘म केही पनि गर्दिनँ, केवल आफ्ना प्रतिद्वन्द्वीमाथि सुत्दिन्छु,’ मस्क भन्ने गर्छन् । यी दुई अर्बपतिबीच अखडामा कुस्तीको सहमति भएको छ र मस्कले २९ जुनमा वृत्ताकार अखडा ‘रोमन कोलोसियम’मा कुस्ती हुन सक्ने बताएका छन् । उनीहरूको यो भिडन्त कहिल्यै नहुन सक्छ । यसमा न इटालीयन सरकार, न त मस्ककी आमा नै इच्छुक देखिन्छिन् । तर यी अर्बपति अर्को एक महत्वपूर्ण लडाइँमा आमनेसामने हुने पक्का भएको छ । 

६ जुलाईबाट जुकरबर्गको कम्पनी मेटाले आफ्नो सोसल मिडिया प्लाटफर्ममा एउटा नयाँ ‘एप’ थप्दै छ । ‘थ्रेड्स’ नाम रहने मेटाको नयाँ सञ्जाल लगभग ट्विटरजस्तै छ । ‘रोमको कुस्ती गफ’मा नै सीमित हुन सक्ने देखिए पनि एउटा सर्वशक्तिमान सामाजिक–मिडिया भिडन्त भने सुरु हुने भएको छ । ट्विटरलाई मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा किनेका थिए । ट्विटरमा मस्कको नेतृत्वलाई लिएर धेरैले आलोचना गर्दै आएका छन् । ट्विटर खरिद गर्दाका करिब आठ हजार कर्मचारीमध्ये उनले करिब ८० प्रतिशतलाई खर्च कटौती गर्न भनेर कामबाट निकालिसकेका छन् ।

 प्राविधिक समस्याबीच ट्विटरका प्रयोगकर्ता अन्य एपतर्फ लाग्न थालेको अनुसन्धान कम्पनी इ–मार्केटर विश्वास गर्छ । ट्विटरमा जुलाईबाट प्रतिमहिना आठ डलर तिर्न नसक्ने प्रयोगकर्ताका ट्विटको संख्यालाई सीमित गरिदैंछ । यसले ट्विटरलाई अझै अलोकप्रिय बनाउन सक्छ । विज्ञापनदाताहरू प्रयोगकर्ताभन्दा ठूलो दरमा पलायन भएका छन् । यस वर्ष ट्विटरको विज्ञापन आम्दानी गत वर्षको तुलनामा २८ प्रतिशत कम हुने इ–मार्केटरको पूर्वानुमान छ । यसले ट्वीटरका लगानीकर्तालाई मर्कामा पारेको छ । गत मे महिनामा वित्तीय सेवा प्रदायक फर्म फिडेलिटीले गरेको मूल्यांकनअनुसार मस्कले किन्ने सहमति जनाएयता ट्विटरले आफ्नो करिब दुईतिहाइ मूल्य गुमाइसकेको छ ।

यसबाट कसैले जितेको छ भने जुकरबर्गले जितेका छन् । सन् २०२१ सम्ममा उनको व्यवसाय गोपनीयता दुरुपयोग, अफवाह र विद्वेषको पर्याय नै थियो, जसका कारण जुकरवर्गले कम्पनीको नाम नै फेसबुकबाट मेटामा परिवर्तन गरे । त्यसपछि उनले आफ्नो शक्तिशाली पदीय स्थिति प्रयोग गरेर लगानीकर्तालाई मेटाभर्समा अर्बाैं खन्याउन लगाए । तर, यस स्वप्नील परियोजनाले पैसा कमाउने सम्भावना अझै वर्षाैं टाढा देखिन्छ । 

ट्विटरमा मस्कको भद्रगोल व्यवस्थापनले जुकरबर्गको मेटालाई सुशासनको आदर्श नमुनाजस्तो बनाएको छ । यद्यपि ट्विटरको कन्टेन्ट मोडरेसनको सुविधाले रोन डेसान्टिसजस्ता केही कन्जर्भेटिभहरूलाई भने खुसी पारेको छ, जसले प्राविधिक गडबडीले ग्रस्त एउटा प्रत्यक्ष अडियो सत्रबाट आफ्नो राष्ट्रपतीय दौड सुरु गरेका छन् । त्यसैगरी टकर कार्लसनले जुनमा फक्स न्युजसँग अलग्गिएपछि ट्विटरबाट आफ्नो प्रसारण सुरु गरेका छन् । तर, उदारवादीलाई यो पचाउन गाह्रो भइरहेको देखिन्छ । युगोभको सर्वेक्षणअनुसार अमेरिकीमाझ मस्क जुकरबर्गभन्दा बढी लोकप्रिय छन् । तर, ट्विटरमा विवाद चर्किंदै गइरहेको र राजनीतिज्ञहरूले चिनियाँ स्वामित्वको सामाजिक एप टिकटकमाथि फायर खोलिरहेको समयमा जुकरबर्गको अनुमोदन रेटिङ भने तीन वर्षयताकै उच्चस्तरमा पुगेको छ ।

विभिन्न स्टार्टअपले ट्विटरको असफलतालाई आफ्नो पुँजी बनाउने प्रयास गरिरहेका छन्, तर सफलता खासै पाइरहेका छैनन् । यस्तोमा मेटाले ट्विटरकै झल्को दिने ‘थ्रेड्स’ ल्याएर ट्विटरको असफतालाई आफ्नो पुँजी बनाउन खोजेको छ ।
 

मेटाले अहिले अर्काे व्यावसायिक विजयको अवसर देख्दै छ । विभिन्न स्टार्टअपले ट्विटरको असफलतालाई आफ्नो पुँजी बनाउने प्रयास गरिरहेका छन्, तर सफलता खासै पाइरहेका छैनन् । एकजना मात्र कर्मचारी भएको विकेन्द्रीकृत सामाजिक सञ्जाल ‘मास्टोडन’ले ट्विटरसँगको सम्झौता बन्द गरेपछि गत नोभेम्बरसम्ममा २० लाखभन्दा बढी सदस्य थपिएको जनाएको थियो । तर, डाटा कम्पनी ‘सेन्सर टावर’का अनुसार मानिसहरूले यसलाई कमजोर पाएपछि भने प्रयोगकर्ताको संख्या नोभेम्बरको संख्यामा पनि ३९ प्रतिशतले घटेको छ । डोनाल्ड ट्रम्पको कन्जर्भेटिभ सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ पनि लोकप्रियता हासिल गर्न असफल भएको छ । ‘ब्लुस्काई’ पनि उल्लेखनीय प्रयोगकर्ता जुटाउन सकिरहेको छैन । 

यसैले, मेटाको प्रस्तुति ‘थ्रेड्स’लाई राम्रो मौका छ । क्लोनिङ प्रतिद्वन्द्वीको सवालमा मेटा अरूभन्दा सफल पनि छ । सन् २०१६ मा स्न्यापच्याटको ‘स्टोरिज’ भनेर चिनिने गायब भएर जाने पोस्टहरू लोकप्रिय हुँदै गर्दा जुकरबर्गले ‘इन्स्टाग्राम स्टोरिज’को अनावरण गरेको थियो । स्न्यापच्याटको स्टोरिजजस्तै यो प्रडक्टले पनि इन्स्टाग्रामलाई शीर्ष स्थानमा पु¥याउन सहयोग गर्‍यो । गत वर्षबाट टिकटकका छोटा भिडियो खतराका रूपमा देखा पर्न थालेपछि मेटाले इन्स्टाग्राम र फेसबुकबाट लाइभ हुने समानखाले भिडियो ढाँचा ‘रिल्स’को सुरुवात गर्‍यो । त्यो पनि हिट भयो । अप्रिलमा जुकरबर्गले इन्स्टाग्राममा बिताउने समयलाई रिल्सले लगभग एक चौथाइले बढाउन मद्दत गरेको बताएका थिए ।

थ्रेड्सले पनि यस्तै गति प्राप्त गर्ने देखिन्छ । रिल्सको विपरीत यो आफ्नै अधिकारअन्तर्गतको एप हुनेछ । यसले इन्स्टाग्राममा एकाउन्ट भएकाहरूलाई उनीहरूको लगइन विवरण प्रयोग गर्न दिएर एकै क्लिकमा आफ्नो इन्स्टाग्रामका सम्पूर्ण व्यक्तिलाई फलो गर्न अनुमति दिनेछ । डाटारिपोर्टल नामक अनुसन्धान फर्मका अनुसार ट्विटर प्रयोगकर्तामध्ये ८७ प्रतिशतले इन्स्टाग्राम प्रयोग गरिरहेका छन् ।

अब उनीहरूसँग ट्विटरको विकल्प पनि आएको छ । के तिनले यसमा सर्ने कष्ट गर्लान् ? मेटाका अधिकारीले हालैमा ‘विवेकपूर्ण रूपमा चलाइएको नेटवर्क हुनु नै पर्याप्त भएको’ टिप्पणी गरेका थिए । यसका लागि एउटा धक्का आवश्यक हुन सक्छ । तर, थ्रेड्स लन्च हुनुभन्दा केहीअघि मात्रै पेवालको घोषणा गरेर मस्कले त्यो धक्का दिइसकेकोजस्तो देखिन्छ । ट्विटरको व्यवसाय मेटाको मापदण्डअनुसार सानो छ । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको ट्विटरसँग भन्दा झन्डै आठ गुणा धेरै प्रयोगकर्ता छन् । मस्कले किन्नुभन्दा अघिल्लो वर्ष सन् २०२१ मा ट्विटरको आय ५.१ अर्ब डलर थियो, जबकि मेटाको एक खर्ब १६ अर्ब डलर थियो । 

जुकरबर्गले थ्रेड्सलाई टाउको दुखाइको विषय ठान्नुपर्ने दुई कारण छन् । एउटा हो, विज्ञापन । ट्विटरले कहिल्यै पनि आफ्ना प्रयोगकर्ताबाट धेरै पैसा कमाएको छैन, किनभने उसले प्रयोगकर्ताबारे निकै थोरै मात्र जानकारी राख्छ । डाटारिपोर्टलको सिमोन केम्पका अनुसार ट्विट पढ्नेमध्ये आधादेखि दुईतिहाइले लगइनसमेत गरेका हँुदैनन् । लगइन गरेका प्रयोगकर्तामा पनि धेरै त अरूका फिड पढ्ने ‘लुकर’मात्र हुन्छन् । यसविपरीत मेटालाई आफ्ना एपहरूमार्फत प्रयोगकर्ताबारे धेरै जानकारी छ । त्यसैले पहिलो दिनदेखि नै थ्रेड्सलाई लक्षित विज्ञापनसहित लोकप्रिय बनाउन सक्छ । ट्विटरमा सबैभन्दा राम्रोसँग काम गर्ने ब्रान्ड–फोकस्ड विज्ञापन डाइरेक्ट–रेस्पोन्स विज्ञापनका परिपूरक मात्रै हुन् । फेसबुक र इन्स्टाग्राम यसका विशेषज्ञ नै हुन् । थ्रेड्सले मेटाको हालको पोर्टफोलियोबाट पनि निकै सहयोग पाउन सक्ने बर्नस्टीका ब्रोकर मार्क समुलिक बताउँछन् ।

मेटाको अर्काे उद्देश्य लार्ज ल्याङ्वेज मोडलहरूसँग सम्बन्धित छ, जसले च्याटजिपिटीले जसरी आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) एपहरूमा मानवले जसरी नै प्रतिक्रिया उत्पादन गर्न इन्टरनेटबाट सामग्री उपयोग गर्छ । यो प्रविधिका लागि इन्टरनेटमा राखिएका विशाल तथ्यांकमा पकड चाहिन्छ । रेडिटजस्ता अनलाइन फोरमले आफूसँग भएका अर्बौं शब्दहरूलाई मुद्रामा बदल्न कोसिस गरिरहेका छन् ।

मस्कले ट्विटरको नयाँ पेवाल एआई फर्महरूको डेटा स्क्रयापिंगको चरम स्तरको प्रतिक्रिया भएको बताइसकेका छन् । फेसबुक र इन्स्टाग्रामको भिजुअल फिडको परिपूरणका लागि टेक्स्ट–बेस्ड नेटवर्क स्थापना गर्न, मेटासँग आफ्नै भाषाको समृद्ध डेटा स्रोत छ । ‘थ्रेड्सलाई विज्ञापन प्लाटफर्मभन्दा पनि अरू नै कल्पना गरिएको छ,’ केम्प भन्छन्, ‘जुकरले एआई कन्टेन्ट–फिडिंग गेम खेलिरहेका छन् ।’ अरूलाई प्रयोग गर्न दिएको होस् वा आफ्नै एआई परियोजनामा प्रयोग गरेको होस, मेटाले यस्ता डेटा मेटाभर्सलाई पर्खिरहेका लगानीकर्तालाई बताउने एउटा नयाँ कथा हुनेछ । 

यद्यपि, थ्रेड्सले कडा चुनौतीको सामना गर्नुपर्नेछ । नयाँ सामाजिक सञ्जाल सुरुवात निकै गाह्रो काम हो । आफ्ना मौजुदा तीन अर्ब ८० करोड प्रयोगकर्ताका बाबजुद मेटाले असफलता भोगेको छ । ‘फेसबुक डेटिङ’ लोकप्रिय हुनैसकेको छैन भने उसका ‘गेमिंग’ र ‘सपिङ’ उत्पादनहरूले उडान भर्नै सकेका छैनन् । तर, ट्विटरले प्रयोगकर्ता र विज्ञापनदाता गुमाइरहँदा र मस्कको व्यवस्थापनले आफ्नो सनकीपन कायम राखिरहँदा मेटाको अवसर झन् झन् ठूलो हुँदै गइरहेको छ । जुकरबर्गले फाइदा उठाउन सक्छन् । 
–द इकोनोमिस्ट

ad
ad