
सत्तारुढ गठबन्धनले कोसी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बसेको गठबन्धन सत्तारुढ दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो।
यो निर्णयसँगै अब कोसी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सत्तागठबन्धनले सरकारको दाबी पेस गर्नेछ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पहिलो पालोमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको जानकारी दिए।
‘गठबन्धनमा भएका दलहरूको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ,’ पाण्डेले भने।
कोसीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएपछि हिजो प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। २१ असार अपराह्न पाँच बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्नुपर्नेछ।