१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हाम्रो साझा गन्तव्य सुशासन र समृद्धिमार्फत समुन्नत नेपाल निर्माण : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र समृद्धिमार्फत समुन्नत नेपाल निर्माण गर्नु सबैको साझा गन्तव्य रहेको बताएका छन्। 

गण्डकी प्रदेश सरकारको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

बैठकमा कोसी प्रदेशबाहेक अन्य ६ प्रदेशका मुख्यमन्त्री सहभागी छन्। गत जेठ दोस्रो साताका लागि तय भएर अन्तिम समयमा रोकिएको उक्त बैठक आज सुरु भएको हो। 

साझा गन्तव्य सुशासन र समृद्धिमार्फत समुन्नत नेपाल निर्माण गर्नु भएको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले संविधानले तीन तहका सरकारको कार्य र अधिकारको सूची स्पष्ट गरेको बताए। 

उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ सबै प्रदेश लाग्न आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले भने, ‘सरकार आउने–जाने भइरहन्छ। तर, व्यवस्था संस्थागत भइसकेको र राजनीतिक संक्रमणको अन्त्य भइसकेकाले अब पनि संक्रमणको  नाममा आर्थिक–सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन।’  

नयाँ संविधान जारी भएको सात वर्षको अवधिमा सरकारले उत्साहजनक उपलब्धि हासिल गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनसम्बन्धी करिब ८० वटा ऐन निर्माण तथा एक सय ६५ वटा कानुन संशोधन, सात प्रदेशको प्रादेशिक राजधानी र नामकरण, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण, कर्मचारी समायोजनका काम सकिएको बताए।

तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा आइसकेको र सोही ऐनबमोजिम समन्वयका संरचना क्रियाशील भएको उनको भनाइ थियो।  

संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन, संघीय शिक्षा ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको र यसमा घनीभूत छलफल भइरहेकाले छिट्टै यिनले साकार रूप लिने भनाइ प्रचण्डको थियो। उनले बैठकले संघीयता सुदृढ गर्ने दिशामा महत्वपूर्ण निष्कर्ष निकाल्न सकोस् भन्ने शुभकामना दिए।
 
फरक प्रसंगमा प्रधानमन्त्रीले प्राप्त उपलब्धिको जगमा टेकेर थप उपलब्धि हासिल गर्दै अघि बढ्न सबैको साथ–सहयोग आवश्यक रहेको बताए। उनले भने, ‘हामीले बाटो बिराउँदा खबरदारी गर्ने जमात चाहिएको छ। तर, भएका राम्रा कामको पनि अपव्याख्या गरी आमजनतालाई दिग्भ्रमित बनाउने कार्यले कसैलाई पनि अघि बढ्न दिँदैन। यसले व्यवस्थाप्रति नै नकारात्मकता पैदा गराउने मात्र होइन, गरिबीको दुष्चक्रबाट मुक्त भई विकसित र सम्पन्न देशको नागरिक बन्ने तीन करोड नेपालीको वर्षौँदेखिको सपनामा तुषारापात हुनेछ। त्यसैले आपसी मनोमालिन्य हटाएर देश विकासमा हातमा हात मिलाएर अघि बढ्न हामी सबै लाग्नुपर्छ।’ 

ad
ad