
एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिप आयोजना गरेको छ।
संघका अध्यक्ष क्षितिज थेबेले बिहीबार एक समारोहबीच तारकेश्वर नगरपालिका– ६ फुटुङस्थित फुटसल मैदानमा प्रतियोगिता उद्घाटन गरे। कार्यक्रममा बोल्दै अध्यक्ष थेबेले एमालेमा नवयुवाहरूको आकर्षण बढेको बताए।
राष्ट्रियता, आमजनताको जनजीविका, कृषक र किसानको सवालमा मात्र नभई महँगी र भ्रष्टाचार अन्त्यको लागि राष्ट्रिय युवा संघ नेपाल र एमालेले उल्लेख्य योगदान गरेको भन्दै उनले यही कारण एमालेप्रति युवाको थप आकर्षण बढेको बताए।
प्रतियोगिताको विजेता टिमले दुई लाख र उपविजेताले एक लाख नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट एक खेलाडी र उत्कृष्ट गोलरक्षकलाई समान १०–१० हजार रुपैयाँ पुरस्कार दिइनेछ।
प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरूको झन्डै पाँच सय फुटसल टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
उपत्यकाका २१ वटै स्थानीय तहमा आजदेखि प्रतियोगिता सुरु भएको छ। आजदेखि २२ असारसम्ममा पालिका च्याम्पियनसिपका लागि आ–आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइने र पालिका च्याम्पियनहरूका बीच २३ असारमा फाइनल खेल हुने संघका प्रवक्ता निरोज क्षेत्रीले जानकारी दिए।