१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आयल निगमको वार्षिक गोष्ठी : सिनामंगल, पोखरा, नेपालगन्ज र धनगढी डिपो प्रमुखको आलोचना

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:४५:oo

नेपाल आयल निगम लिमिटेडको वार्षिक समीक्षा गोष्ठीमा सिनामंगलस्थित हवाई इन्धन डिपो, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, नेपालगन्जस्थित इन्धन डिपो र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुखको आलोचना भएको छ ।

निगमले गत शुक्रबार र शनिबार ‘आर्थिक वर्ष ०७९/८० को प्रगति समीक्षा तथा आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तर्जुमासम्बन्धी कार्यशाला गोष्ठी’ सम्पन्न गरेको छ । 

गोष्ठीमा बजेट खर्चबाहेक देशभरका डिपोबाट उपभोक्तालाई सहज रूपमा इन्धन वितरण भए–नभएकाेबारे पनि छलफल भएको थियो । स्रोतका अनुसार बजेटका विषयमा छलफल सकिएपछि सबै डिपो प्रमुखले आ–आफ्ना क्षेत्रका पेट्रोलपम्पमार्फत उपभोक्तालाई इन्धन वितरण गरेको अवस्थाबारे ‘प्रिजेन्टेसन’ दिएका थिए । सबैको ब्रिफिङ सुनेपछि आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बरालले निर्देशन दिने क्रममा देशकै सबैभन्दा ठूलो हवाई इन्धन डिपो सिनामंगलको सञ्चालन प्रणालीप्रति असन्तुष्टि जनाएका थिए ।

सो डिपो प्रमुखका रूपमा प्रबन्धक मनोज ढकालले गत फागुनदेखि जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी त्यहाँ गएयता डिपोको तेल चुहावट दर बढेको छ । कार्यक्रममा निर्देशक बरालले डिपो प्रमुख हुने व्यक्तिमा प्राविधिक ज्ञान हुनुपर्ने भन्दै ढकालको कार्यशैलीको आलोचना गरेका थिए । ‘हामीले प्राविधिक विषय पढेर आएका छैनौँ भने तालिमहरू लिएर भए पनि डिपो प्रमुखमा हुनुपर्ने गुण विकास गर्नुपर्छ । डिपो सुरक्षा र सञ्चालनमा ध्यान दिन नसक्ने, तर डिपो प्रमुख हुन मात्रै रहर गरेर हुँदैन,’ बरालले निर्देशन दिने क्रममा भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो ।

सिनामंगल डिपोमा हुने तेलको नोक्सानी दर ०.६२ प्रतिशत तोकिएको छ । तर, केही समयअघि नोक्सानी दर ०.५९ प्रतिशत पुगेपछि नियन्त्रणका लागि चार कर्मचारी खटाइएको छ । ती कर्मचारी गएपछि सिनामंगलको नोक्सानीदरमा केही कमी आउन थालेको गोष्ठीमा जानकारी गराइएको थियो ।

गण्डकी प्रादेशिक कार्यालय, पोखरामा पनि चुहावट दर बढ्दै

त्यस्तै, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा पनि चुहावट दर बढ्दै गएपछि गोष्ठीमा प्रश्न उठेको थियो । पोखरामा पेट्रोलको ०.८५ प्रतिशत र डिजेलको ०.५२ प्रतिशत नोक्सानी दर निर्धारण गरिएको छ । गत फागुनदेखि सो डिपो प्रमुखमा चित्तरञ्जन दास कार्यरत छन् । उनी त्यहाँ गएयता पेट्रोलको नोक्सानी दर ०.८४ प्रतिशत पुगेको छ । अधिकतम सीमा तोकिएको लक्ष्यलाई छुन खोज्नु भनेको चुहावट दर नियन्त्रण गर्न असफल हुनु हो ।

तुलनात्मक रूपमा चिसो मौसम रहेको पोखरामा पेट्रोलको चुहावट दरले लक्ष्य नै नाघ्न लागेको र यसमा डिपो प्रमुख र अप्रेसन विभागमा कार्यरत कर्मचारीको लापरबाही भएको भन्दै बरालले छिटोभन्दा छिटो नियन्त्रण गर्न निर्देशन दिएका थिए । त्यस्तै, पोखराका डिपो प्रमुख दासले केन्द्रीय कार्यालयसँग समन्वय नगरी डिपो सञ्चालन गरिरहेको भन्दै निर्देशक बरालले सचेत पनि गराएका थिए । दासको कार्यशैली कर्मचारीमैत्री नभएको भन्दै केन्द्रीय कार्यालयमा यसअघि नै उजुरीसमेत आएको थियो ।

नेपालगन्ज र धनगढी डिपोमा पनि चुहावट दर नियन्त्रण भएन

नेपालगन्ज र धनगढी डिपोले पनि समन्वय नगरी डिपो सञ्चालन गरेको, डिपोको सुरक्षामा ध्यान दिन नसकेको, नेपालगन्ज डिपोले पूर्वाधार निर्माणमा प्रगति गर्न नसकेको तथा धनगढी डिपोले चुहावट दर नियन्त्रण गर्न नसकेको भनी आलोचना भएको थियो । नेपालगन्जमा दुर्गा पछाई र धनगढीमा मोहनकुमार शाह डिपो प्रमुखका रूपमा कार्यरत छन् ।

मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जमा पाइपलाइनबाट तेल ल्याउने पूर्वाधार बनिरहेको छ । पूर्वाधार निर्माणलाई गति दिन र आगलागीजन्य जोखिम हुन सक्नेतर्फ सचेत रहन निर्देशन दिइएको थियो । सो डिपो प्रमुखका रूपमा गत फागुनमा निर्देशक विनीतमणि उपाध्यायको सरुवा भएको थियो । त्यस्तै, कोसी प्रादेशिक कार्यालय, विराटनगरमा निर्देशक पूर्ण रिजाल वैशाख अन्तिममा सरुवा भई गएका छन् । डिपो प्रमुखका रूपमा पहिलोपटक उनले जिम्मेवारी सम्हालेकाले संवेदनशील भएर काम गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

बागमती प्रादेशिक कार्यालय, थानकोटकाे प्रशंसा

गोष्ठीमा नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतले सबैभन्दा बढी जोखिम रहेको बागमती प्रादेशिक कार्यालय, थानकोटले भने दुई वर्षयता विवादरहित भई डिपो सञ्चालन गरेको भन्दै प्रशंसा गरेका थिए । सो डिपो प्रमुखमा प्रबन्धक शैलेन्द्र भुसाल कार्यरत छन् । भुसालले डिपो सम्हालेयता काठमाडौंका उपभोक्ताले इन्धनको कृत्रिम अभाव खेप्नु परेको छैन ।

कार्यकारी निर्देशक थानीको अनु्पस्थितिमा नायव कार्यकारी निर्देशक नागेन्द्र शाहले समापन गर्ने क्रममा डिपोमा प्राविधिक विषयमा जानकारी भएको मान्छे जानुपर्ने र त्यहाँ कार्यरत सबै कर्मचारीले सुरक्षा र तेलको गुणस्तरमा ध्यान दिनुपर्ने भनी निर्देशन दिएका थिए । 

ad
ad