१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:४o:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

विद्रोही समूहपछि आपराधिक गिरोहसँग वार्ता गर्दै कोलम्बिया

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४o:oo

मेडलिन कोलम्बियाको दोस्रो ठूलो सहर हो । यस सहरको अधिकांश भाग सशस्त्र आपराधिक समूहको नियन्त्रणमा छ । तिनले आफ्नो कब्जामा रहेको क्षेत्रमा ड्रग्स व्यापारदेखि व्यवसायीबाट जबर्जस्ती रकम असुलीसम्मका गतिविधि सञ्चालन गर्छन् । साथै ती क्षेत्रभित्र कसलाई प्रवेश दिने वा कसलाई रोक्ने भन्नेमा पनि यिनै समूहको बोली चल्छ । यस्ता आपराधिक समूहमा झन्डै १४ हजार मानिस संलग्न रहेको सरकारको विश्वास छ । तर, अहिले आएर उनीहरूले आफूहरू सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । 

सरकारी अधिकारीसँगको महिनौँको वार्तापछि जुन २ मा मेडलिनको बाहिरी भागमा अवस्थित उच्च सुरक्षायुक्त जेलमा कैद भुक्तान गरिरहेका १६ ग्याङ नेताले आफ्ना समूहलाई सरकारसँग औपचारिक वार्ता गर्न निर्देशन दिएका छन् । वार्ताअन्तर्गत निःशस्त्रीकरण र समाजमा पुनर्वासको विषय पनि छलफल हुने तिनले बताएका छन् । ‘हामी फरक बाटो सुरु गर्न चाहन्छौँ, जुन शान्ति, क्षमा र पुनर्मिलनको हुनेछ,’ ला अफसिना समूहका प्रवक्ता र हाल जेलमा रहेका सेब्यास्टिसियन मुरिलोले भने । ला अफिसिना कुनै समयका कुख्यात ड्रग्स तस्कर पाब्लो एस्कोबारको मेडलिन कार्टेलको हिस्साको रूपमा गठन भएको थियो । 

कोलम्बियाले दशकौँदेखि वामपन्थी तथा वामपन्थीविरोधी सशस्त्र विद्रोही सामना गर्दै आएको छ । सन् १९८० देशकदेखि सरकारले राजनीतिक रूपमा प्रेरित सशस्त्र समूह र अर्धसैनिक समूहसँग वार्ता गर्ने र तिनलाई मूलधारमा फर्काउने नीति लियो । अहिलेको नयाँ सरकारले यसमा थप अगाडि बढेर, पहिलोपटक सहरी आपराधिक समूहसँग पनि वार्ता गर्ने नीति लिएको छ । ‘कोलम्बियाले हिंसा न्यूनीकरण गर्न सिकेको एउटा मार्ग शान्ति प्रक्रिया पनि हो । र, शान्ति–प्रक्रिया अनिवार्यत राजनीतिक हुनुपर्छ भन्ने छैन,’ एन्टिओक्विया विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ पोलिटिक स्टडिजकी शोधकर्ता जर्मन भ्यालेन्सियाले भनिन् ।

सन् २०१६ मा सरकार र माक्र्सवादी सशस्त्र समूह ‘रिभोलुस्नरी आम्र्ड फोर्स अफ कोलम्बिया(फार्क)’बीचको शान्ति सम्झौतापछि पनि देशभर पूर्ण शान्ति बहाली भएन । देशको सबैभन्दा ठूलो विद्रोही संगठन रहेको फार्कले युद्धको बाटो परित्याग गरेपछि ५० भन्दा बढी सशस्त्र समूह त्यहाँको ड्रग्स व्यापारको मार्ग र अवैध खानी सञ्जाल कब्जाका लागि संघर्ष गरिरहेका छन् । राष्ट्रपति गुस्ताभो पेट्रोले उनको ‘पूर्ण शान्ति’ रणनीतिअन्तर्गत यी समूहको संख्या कटौती गर्ने वाचा गरेका छन् । यसका लागि उनले वार्ता र छलफलको मार्ग लिने बताएका छन् । 

कोलम्बियाको ८० प्रतिशत जनसंख्या सहरमा बस्ने र आपराधिक समूहको कारण सहरी हिंसा विश्वमै उच्च रहेकाले वर्तमान पेट्रो सरकारले आफ्नो ‘पूर्ण शान्ति’ रणनीतिअन्तर्गत आपराधिक समूहसँग वार्ताको प्रयास सुरु गरेको छ ।

गत जुन ९ मा ‘नेसनल लिबरेसन आर्मी (इएलएन)’ले सरकारसँग अस्थायी युद्धविरामको सहमतिमा हस्ताक्षर गर्‍यो । यसलाई पेट्रो सरकारको ठूलो सफलताको रूपमा हेरिएको छ । इएलएनको ग्रामीण भेगको ठूलो हिस्सामा कब्जा छ । अहिले अन्य सशस्त्र समूहले पनि सरकारसँग वार्ताको इच्छा व्यक्त गरेका छन् । कोलम्बियामा हिंसाको विस्तार रोक्न मेडलिन सबैभन्दा महत्वपूर्ण हुने विज्ञहरू बताउँछन् । कोलम्बियामा सक्रिय करिब ४० प्रतिशत सशस्त्र समूहको मेडलिनमा उपस्थिति छ । ‘कोलम्बियाको सहरी हिंसाका गतिशीलतालाई ध्यान नदिई ‘पूर्ण शान्ति’ सफल हुन्छ भनेर सोच्नु अर्थहीन छ,’ मेडलिनस्थित पोन्टिफिकल बोलिभारियन युनिभर्सिटीकी राजनीति–विज्ञानकी शोधकर्ता मारियाना डुकले भनिन् । 

दशकौँको सशस्त्र द्वन्द्वका कारण विस्थापित ठूलो जनसंख्याका सहरमा बसाइँसराइ गरेकाले कोलम्बियाको झन्डै ८० प्रतिशत जनसंख्या सहरमा बस्छन् । तर, द्वन्द्वबाट भागेका मानिसलाई सहरमा पनि हिंसाले पछ्याउन छाड्दैन । आपराधिक समूह उच्च नाफामूलक ड्रग्स व्यवसाय सञ्चालनका लागि युवाहरूलाई आकर्षित गर्छन् । उनीहरू सहायक आय आर्जनको रूपमा व्यवसायीबाट जबर्जस्ती रकम असुली पनि गर्छन् । 

कुनै वेला विश्वको ‘हत्याको राजधानी’ भनेर चिनिने मेडलिनमा अहिले हिंसाको दर घटेको छ । तथापि सहरमा आपराधिक समूहको विस्तारसँगै जबर्जस्ती रकम असुल्नेजस्ता गैर–हिंसात्मक अपराध भने बढिरहेको छ । ‘यो अहिले मनोवैज्ञानिक हिंसामा बदलिएको छ । उनीहरू डरको साहाराले शासन गरिरहेका छन् र यसबारे कोही पनि बोल्न चाहँदैन,’ एकजना सामुदायिक नेता ‘सिरो’ले नाम नबताउने सर्तमा भने । उनको बस्ती ‘कोमुना १३’ मेडलिनभित्रको सकारात्मक परिवर्तनका लागि उदाहरणीय मानिएको छ । तर, अध्ययनले ३५० देखि ४०० बीचको आपराधिक समूहले माफियाबीचको रहेजस्तो गठजोडमार्फत लगभग देशका सबै न्यून आयदेखि मध्यम–आययुक्त बस्तीलाई प्रभावमा राखेको देखाउँछ । 

आपराधिक समूहसँगको आबद्धताबाट आर्जन हुने पैसा, सुरक्षा र प्रतिष्ठाको कारण ठूलो संख्याका युवा मेडलिनका तीप्रति आकर्षित हुने गर्छन् । यसले गर्दा मेडलिनका आपराधिक समूहमा द्वन्द्वग्रस्त ग्रामीण क्षेत्रका कैयौँ समूहमा भन्दा धेरै सदस्य छन् । आपराधिक समूहको प्रभाव कमजोर बनाउन सरकारले पहिले तिनको गतिविधिमा संलग्न मानिसको संख्या घटाउने लक्ष्य लिएको शोधकर्ता भ्यालेन्सियाले बताइन् । मेडलिनका करिब ९० प्रतिशत आपराधिक समूहले सरकारसँग वार्ताका लागि इच्छा जाहेर गरिसकेको सरकारी अधिकारीले बताएका छन् । तर, वार्तामार्फत ती समूहको साच्चै निःशस्त्रीकरण हुनेमा भने आशंका छ । 

युद्धविराम र फेन्टाइल तथा हिरोइनको बिक्री रोक्ने प्रतिबद्धताका बाबजुद जानकारहरू आपराधिक समूह निःशस्त्रीकरण हुने कारण न्यून रहेको चिन्ता व्यक्त गर्छन् । सामान्यतया मेडलिनका आपराधिक संगठन राजनीतिक विचारधाराबाट प्रेरित नभएकाले तिनको पूरा गर्नुपर्ने कुनै माग छैनन् । यो कुरालाई ध्यान दिँदै सरकारले यी समूहसँगको वातालाई अलग ढंगले अघि बढाउने निर्णय गरेको छ ।

संसद्ले अहिले आपराधिक समूहसँगको वार्तामा ‘सम्झौता नहुने सर्तहरू’को सूची तयार पारिरहेको छ । तीबाहेक भने सरकारले कुनै माग नराख्ने बताइएको छ । यस विषयमा संसद्मा प्रस्तावित विधेयकमा आपराधिक गतिविधि त्याग्ने, आपराधिक सञ्जालबारे गोप्य सूचना दिने र तिनका गतिविधिबाट पीडितलाई क्षतिपूर्ति दिने समूहका सदस्यको जेल सजाय घट्ने व्यवस्था छ । त्यसबाहेक उनीहरूले अवैध रूपमा हासिल गरेका सम्पत्तिको ६ प्रतिशत वा बढीमा २७ लाख डलर राख्न अफैँले पाउने व्यवस्था छ । तर, यत्ति व्यवस्थाले मात्र हजारौँ आपराधिक सदस्य निःशस्त्रीकरणका लागि आकर्षित हुनेमा विज्ञहरूले आशंका व्यक्त गरेका छन् । 

जेलमा रहेका ग्याङका शीर्ष नेताहरू न्यून सजायबाट आकर्षित हुन सक्छन् । तर, सुरक्षा निकायमा कुनै रेकर्ड नभएका तर जीविकाको लागि आपराधिक समूहमा लागेका मध्यम तह र तल्लो तहका सदस्यलाई आत्मसमर्पणको लागि प्रेरित गर्ने कुरामा अस्पष्टता छ । ‘एक ग्याङ नेताले मासिक ५० लाख देखि एक करोड पेसोज (करिब १२०० डलरदेखि २४०० डलर) कमाउँछ । यी सदस्यलाई आपराधिक समूहबाट बाहिर ल्याउने हो भने वैकल्पिक रोजगारीको व्यवस्था गरिने बहस सुरु भएको छ ।

रोजगारीको वृद्धिका अतिरक्त, स्वास्थ्य सेवा र शिक्षामाथिको पहुँच वृद्धिले पनि आपराधिक क्रियाकलापमा संलग्नता घटाउने जानकारको विश्वास छ । यी कदमले आपराधिक गतिविधिमा संलग्न युवालाई दीर्घकालीन रूपमा समाजमा पुनस्र्थापनालाई सुनिश्चित गर्नेछ । अन्यथा वार्ताले द्वन्द्वलाई थप विकराल बनाउने खतरा पनि छ । विगतमा मेडलिनका आपराधिक ग्याङहरूले सहरका निश्चित क्षेत्रमा निश्चित समूहको नियन्त्रण हुने भनेर सहमति हुन्थ्यो । सरकारको ‘पूर्ण शान्ति’को रणनीति असफल भएमा आंशिक निःशस्त्रीकरण निम्तिन सक्छ । त्यस अवस्थामा समूहबीचको सहमति पुनः सुरु हुनेछ र हिंसा थप बढ्न सक्छ । 
(अलजजिराका लागि क्रिस्टिना नोरियगाको रिपोर्ट)

ad
ad