
पछिल्लो समय देशभर नै प्रदूषणको मात्रा बढ्दै गएको छ । राजधानी सहर काठमाडौंमा प्रदूषणको असर अझै धेरै छ । जसका कारण विभिन्न रोग र संक्रमणको जोखिमसमेत बढेको छ । लामो समयसम्म वातावरण प्रदूषण भइरहँदा विभिन्न रोग लाग्छन् ।
प्रदूषणका कारण
- सवारीसाधनको चाप बढ्नु । पुराना सवारीसाधनबाट निस्कने धुवाँ ।
- बाटो खन्दा निस्कने धुलो वातावरणमा मिसिनु ।
- जथाभावी फोहोरमैला फाल्नु, जलाउनु ।
- कलकारखानानजिकै मानव बस्ती हुनु ।
- धुवाँधुलो नियन्त्रण गर्न नसक्नु ।
- डढेलो लाग्नु ।
स्वास्थ्यमा पार्ने असर
- हामी बसिरहेको ठाउँको हावा प्रदूषित हुँदा रुघाखोकी लाग्ने, पिनासको समस्या हुने, श्वासप्रश्वासमा समस्या, एलर्जी, फेरेन्जाइटिस हुने, लेरेन्जाइटिस हुने, निमोनिया आदि समस्या देखिन्छ । प्रदूषणले दम, मुटुरोगलगायत दीर्घरोगका बिरामीलाई पनि थप असर गर्छ । शरीरका विभिन्न अंगमा प्रदूषणको नकारात्मक प्रभाव पर्छ ।
- प्लास्टिकका फोहोर जलाउँदा निस्केको प्रदूषणले पछि गएर क्यान्सरसमेत हुन सक्छ । प्रदूषणमा मिसिएको लिड, सिलिका, सल्फाइड, कार्बनमनोअक्साइडले सीधै स्वास्थ्यमा असर पुर्याउँछ । गाडीबाट निस्कने धुवाँ, फोहोर तथा आगो बाल्दा निस्केको धुवाँले हाम्रो शरीरलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।
कसरी बच्ने ?
- प्लास्टिकजन्य तथा अन्य फोहोरजन्य वस्तु खुला स्थानमा बाल्नुहुँदैन । जथाभावी फोहोर नफाल्ने, नबाल्ने ।
- पुराना थोत्रा, धुवाँ फाल्ने गाडीको प्रयोग कम गर्ने वा यसको मर्मतसम्भार गरी धुवाँ फाल्न कम गर्ने ।
- घरबाहिर निस्कँदा मास्क प्रयोग गर्ने ।
- निर्माणकार्य भइरहेका ठाउँमा नजाने । निर्माणकार्यमा संलग्न व्यक्तिले स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्ने ।
- विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने ।
- कलकारखाना तथा उद्योगलाई मानव बस्तीबाट टाढा राख्ने ।
- मानव बस्तीवरिपरि धुवाँजन्य पदार्थ नजलाउने ।
- व्यवस्थित सहरीकरणको विकास गर्ने ।
- खोला, नाला, नदी, ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने ।