१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format १o:१o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रम, विद्यार्थीको रुचिमा इलेक्ट्रोनिक्स 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१o:oo

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत सञ्चालित विभिन्न विषयमध्ये अधिकांश विद्यार्थीको रुचि इलेक्ट्रोनिक्सतर्फ रहेको छ । महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालासहितको टोलीले उपत्यकाका विभिन्न सामुदायिक विद्यालयमा पुगेर गरेको निरीक्षणमा अधिकांश विद्यार्थीको रुचि मोबाइल र विद्युतीय सामान मर्मततर्फ रहेको फेला पारेको हो । 

महानगरले १ वैशाख ०८० बाट ‘शिक्षामा सीप कार्यक्रम’ लागू गर्दै विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई विभिन्न तालिम तथा सीप सिकाउँदै आएको छ । तालिमअन्तर्गतका १० विधामध्ये इलेक्ट्रोनिक्स विधामा सबैभन्दा बढी आकर्षण देखिएको कोइरालाले जानकारी दिए । उनका अनुसार शिक्षामा सीप कार्यक्रमभित्र ५६ वटा सामुदायिक विद्यालयमा ९० घन्टे तालिम सञ्चालन भइरहेको छ ।

सीताराम कोइराला प्रमुख, शिक्षा विभाग, महानगर
उपत्यकाका विभिन्न सामुदायिक विद्यालयमा पुगेर निरीक्षण गर्दा अधिकांश विद्यार्थीको रुचि मोबाइल र विद्युतीय सामान मर्मततर्फ रहेको फेला पारेका छौँ 

विद्यार्थीलाई पढाइसँग सीप सिकेर आत्मनिर्भर बनाउने हेतुले यस्तो कार्यक्रम सुरु गरेको थियो । ‘हामीले सुरु गरेको कार्यक्रममा विद्यार्थीको रुचि बढ्दो छ,’ विभाग प्रमुख कोइरालाले भने, ‘यसले विद्यार्थीमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुन्छ ।’ उनका अनुसार तालिम कक्षा नौदेखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिरहेको छ । महानगरले घोषणा गरेर हाल लागू भएको ‘बुक फ्री डे’कै दिन शिक्षामा सीप कार्यक्रमअन्तर्गतको तालिम प्रदान गरिँदै आएको छ ।

यस दिन विद्यार्थीले झोला नबोकी आउने भएकाले सीपमूलक तालिम पनि सोही दिन राखिएको हो । तालिममा सहभागी नहुने विद्यार्थीले अन्य क्रियाकलाप सिक्छन् । सीपमूलक तालिममा एउटा समूहमा ३० जनासम्म सहभागी गराइएको छ । यो कार्यक्रम हाल महानगरले एक वर्षका लागि नमुना कार्यक्रमका रूपमा सञ्चालन गरेको हो । सीप सिकाइ तालिम तथा कार्यक्रमका लागि महानगरले प्रतिविद्यालय एक लाखका दरले रकम प्रदान गर्दै आएको छ ।

यसबाहेक तालिममा चाहिने अन्य उपकरण तथा सामग्री महानगरले नै प्रदान गरेको हो । तालिमका विधामध्ये मोबाइल एन्ड एलेक्ट्रोनिक्सका २२ वटा कक्षा सञ्चालन भइरहेका छन् भने दोस्रो रुचिको विधामा कुलिनरी आर्टस् परेको छ । यो तालिम तथा सीप सिकाइमा १३ वटा कक्षा सञ्चालन भइरहेका छन् ।

विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी
तलब–भत्ता वृद्धिको माग गर्दै केही दिनदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा छन् । उनीहरूले विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गरेका छन् । तर, महानगरका मेयर बालेन्द्र साहले विद्यालय शान्ति क्षेत्र भएका कारण कुनै पनि आन्दोलन नगर्न चेतावनी दिएका छन् । उनले यस्ता गतिविधि गरे फौजदारी मुद्दाअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले काठमाडौं महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न अनुरोध गरेका छन् । ‘शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनबमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ,’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन् । 

यी हुन् विद्यार्थीका रोजाइका अन्य विषय
यसबाहेक ब्युटिसियन एन्ड हेयर स्टायलसम्बन्धी १२ वटा कक्षा, फेसन डिजाइन एन्ड क्लोथिङ कन्स्ट्रक्सन (फेसन डिजाइन र कपडा निर्माण)मा ११ वटा कक्षा, हाउस वायरिङ एन्ड इलेक्ट्रिकलमा नौवटा, एग्रिकल्चर एन्ड अर्बन फार्मिङमा ६ वटा, प्लम्बिङमा तीनवटा, कला र मूर्तिकलामा दुईवटा, कार्पेन्ट्रिङ एन्ड उड कार्भिङ र विपद् पूर्वतयारीका लागि भवन निर्माणमा एक–एकवटा कक्षा सञ्चालन भइरहेका छन् ।

बालाजुमा रहेको तरुण माध्यमिक विद्यालयमा मोबाइल एन्ड इलेक्ट्रोनिक्समा दुईवटा कक्षा भइरहेका छन् । यहाँ कुलिनरी आर्टस् र एग्रिकल्चर एन्ड अर्बन फार्मिङमा एक–एकवटा कक्षा सञ्चालन भइरहेको छ । त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि, महाराजगन्जमा रहेको शिवपुरी मावि, बानेश्वरमा रहेको रत्नराज्य मावि र बाफलमा रहेको ज्ञानोदय माविलगायतमा तालिम सञ्चालन भइरहेको छ । महानगरले यो वर्ष उक्त कार्यक्रम प्रभावकारी भए–नभएको अध्ययन गरी अर्को वर्षदेखि शिक्षामा सीप कार्यक्रमलाई बृहत् बनाउँदै लैजाने योजना बनाएको छ ।