१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तेजराज भट्ट काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ

रोपाइँको सिजनमा मल अभाव

अनुदानको मल सकिएपछि सुदूरपश्चिममा बिक्री–वितरण रोकियो

Read Time : > 2 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१४:oo

कैलालीका किसान खेतबारी खनजोत गरेर रोपाइँका लागि वर्षा कुरेर बसेका छन् । वर्षा नहुँदा कैलालीमा अधिकांश भू–भागमा रोपाइँ सुरु हुन सकेको छैन । रोपाइँ गर्न अकासेपानी कुरेर बसेका किसानले रोपाइँका लागि रासायनिक मल भने पाउन सकेका छैनन् । सरकारी अनुदानको मल बिक्री गर्ने कृषि सामग्रीको गोदाम रित्तो छ ।

सुदूरपश्चिममा कञ्चनपुर र डोटीबाहेक सात जिल्लामा सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय धनगढीले मल मौज्दात नभएपछि बिक्री बन्द गरेको छ । मल बिक्री गर्ने अर्को निकाय साल्ट ट्रेडिङसँग पनि मल छैन । कृषि सामग्रीको गोदाममा अहिले ८५ टन युरिया र दुई सय टन डिएपी मौज्दात छ । थोरै परिमाणमा मल मौज्दात रहेकाले बिक्री बन्द गरिएको उक्त कार्यालयले जनाएको छ ।

‘मल माग्न धेरै सहकारी आइरहेका छन् । मल थोरै छ । कसलाई दिने, कसलाई नदिने भन्ने विवाद हुने भएकाले केही दिनयता बिक्री बन्द गरिएको हो,’ कृषि सामग्रीको धनगढी कार्यालयका रमेश भट्टराईले भने, ‘थप मल आएपछि बिक्री सुरु गर्छौँ ।’ कृषि सामग्रीले दुई सय ७१ सहकारीमार्फत किसानलाई मल बिक्री गर्छ । जिल्लाका विभिन्न ठाउँबाट धनगढी आउने सहकारीका प्रतिनिधि मल नपाएपछि रित्तो हात फर्किरहेका छन् । साल्ट्र ट्रेडिङको धनगढी कार्यालयले पनि मलको मौज्दात पर्याप्त नरहेको बताएको छ ।

यस वर्ष पनि रोपाइँको सिजनमा मल नपाइने चिन्तामा किसान छन् । गाउँमा मल नपाएपछि सीमाक्षेत्रका कतिपय किसान भारतबाट लुकीछिपी भारतबाट मल ल्याउने गर्छन् । रोपाइँका लागि अहिल्यै मलको जोहो गर्न खोजे पनि नपाएको धनगढीका कृषक रामबहादुर चौधरीले बताए । खेतीको सिजनमा मल नपाइने समस्या सधैँ भोग्नुपरिरहेको उनले बताए । ‘रोपाइँ सुरु गर्ने वेला आयो । पानी परेपछि रोपाइँमा व्यस्त हुनुपर्छ, अहिले मल खोजेर राखौँ भनेर धेरै सहकारी पुगेँ तर मल पाइएन,’ उनले भने ।

कृषि सामग्रीको धनगढी कार्यालयले वितरण गर्नेमध्ये करिब ९० प्रतिशत मल कैलालीमा खपत हुन्छ । बर्खे सिजनमा यहाँ १५ हजार टन युरिया र १० हजार टन डिएपी आवश्यक पर्ने गरेको कृषि सामग्रीको धनगढी कार्यालयका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । तर, अहिलेसम्म आवश्यकताभन्दा निकै कम मल आएको उनले बताए । थप मल आएपछि बर्खे सिजनका लागि मल वितरण सुरु गरिने बोगटीले बताए ।

रोपाइँ सुरु हुन लागेकाले मल पठाउन केन्द्रमा लिखित आग्रह गरिएको कृषि सामग्री धनगढी कार्यालयले जनाएको छ । तरकारी बाली, मकै, बिउ आदिका लागि कृषि सामग्रीले वैशाखमा एक हजार एक सय टन युरिया र नौ सय २१ टन डिएपी तथा जेठमा एक हजार २०५ टन युरिया र एक सय ३६ टन डिएपी बिक्री गरेको छ । धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको कैलालीमा ७० हजार हेक्टरभन्दा बढी क्षेत्रमा धानखेती गरिन्छ । विदेशबाट ल्याउनुपर्ने भएकाले पनि खेतीको हरेक सिजनमा किसानले रासायनिक मलको अभाव भोग्नुपर्छ । 

 भारतबाट ल्याएको मल प्रहरीले बरामद गरेपछि विवाद
सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिकामा भारतबाट ल्याएको ४३ बोरा रासायनिक मल बरामद गरेको छ । भजनीस्थित कालापाताल बिओपीको टोलीले भजनी–५, पगियापसार नाकानजिकबाट सोमबार उक्त मल बरामद गरेको हो । स्थानीय तस्करले भारतबाट ल्याएको मल किसानले नाकावारि किनेर घर लैजाने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको बताइएको छ ।

सशस्त्र प्रहरीले भने नाकाक्षेत्रमा खुला ठाउँमा राखिएको अवस्थामा उक्त मल बरामद गरिएको दाबी गरेको छ । मल बरामद गरिएपछि स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको छ । नेपालमा मल नपाएपछि रोपाइँका लागि भारतबाट ल्याएको मल सशस्त्र प्रहरीले जफत गरेको भन्दै स्थानीय किसान विरोधमा उत्रिएका थिए । किसान विरोधमा उत्रिएपछि त्यहाँ दिनभर तनाव सिर्जना भएको थियो ।

स्थानीय १२ जना किसानको ५० किलोग्रामका २६ बोरा सुपर सल्फेट र १७ बोरा युरिया मल प्रहरीले बरामद गरेको वडा नम्बर ५ का अध्यक्ष केशवबहादुर बुढाले जानकारी दिए । नाकानजिक बस्ने केही व्यापारीले सीमावर्ती भारतीय बजारबाट ल्याएको मल किसानले किनेर लैजाने क्रममा प्रहरीले बरामद गरेको उनले बताए । ‘नेपालमा मल नपाएपछि किसानले नाकाबाट भारतीय मल किनेछन्,’ बुढाले भने, ‘मेयरसहित हामी जनप्रतिनिधिले किसानको मल छाडिदिन आग्रह ग¥यौँ, तर प्रहरीले मानेन ।’

प्रस्तावित सीमा सुरक्षा गुल्म गुलियाघाट भजनीका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक पृथ्वीबहादुर बोगटीले नाकानजिक बेवारिसे अवस्थामा मल बरामद गरिएको बताए । अवैध रूपमा भित्र्याइएको मल उठाउन खोज्दा उक्त मल आफ्नो रहेको दाबी गर्दै १२ जना किसान आएको उनले बताए । मेयरसहित जनप्रतिनिधिको आग्रहमा उक्त मल स्थानीय नवदुर्गा आधारभूत विद्यालयमा राखिएको छ । ‘बेवारिसे मल उठाउन खोज्दा किसान आएपछि विवाद भएको हो । यसबारे प्रशासनलाई खबर गरेका छौँ,’ बोगटीले भने, ‘प्रशासनले जे भन्छ, त्यहीअनुसार गर्छौँ ।’ 

ad
ad