१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० असार ३ आइतबार १२:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनजना बेपत्ता, यातायात अवरुद्ध, हाइड्रोपावर बगाउँदा गाउँ नै अन्धकार 

Read Time : > 1 मिनेट
२०८० असार ३ आइतबार १२:४९:००

ताप्लेजुङको सिदिङवा गाउँपालिका– ६ मेहेलेमा पहिरोमा परेर एकै घरका तीनजना बेपत्ता भएका छन्।

घरमाथिबाट आएको पहिरोमा परि यादवकुमार बुढाथोकीकी श्रीमती ६३ वर्षकी भगिमाया, उनकी बुहारी ३३ वर्षकी सन्ध्या, उनकै नाति नाै वर्षको प्रज्ज्वल बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख राजन लिम्बूले जानकारी दिए। पहिरोमा परेर हर्कबहादुर तामाङका छोरा ३० बर्षका गणेश तामाङले ज्यान गुमाएका छन्।

यस्तै पहिरोले दर्जनौँ घर जोखिममा परेका छन। स्थानीय अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ। बाढीपहिरोले पशुचौपायाका साथै झोलुंगे पुलसमेत बगाएको छ। 

जिल्लामा पानी पर्ने क्रम रोकिएको छैन। लघु जलविद्युत् आयोजनाको संरचना बगाएपछि गाउँ नै अन्धकारमय बनेको छ। उता, जिल्लाको दोस्राे ठूलो बजार दोभानमा पाँच घर जोखिममा रहेको स्थानीय जयप्रसद भट्टराईले बताए। 

 मैवाखोलामा आएको भीषण बाढीले बजार पूरा गाउँ नै जोखिममा रहेको भट्टराईले बताए। जिल्लाका नाै स्थानीय तहमध्ये धेरै गाउँपालिकाको केन्द्रमा जाने सडक क्षतविक्षत भएको छ।
 
जिल्लाका पूर्वी गाउँहरू याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ। मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न ठाउँम बाढीपहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन्। 

जिल्लाबाट झापाको बिर्तामोड, दमक, मोरङको उर्लाबारी, विराटनगर, सुनसरीको इटहरी, धरान जाने यातायातका साधन जिल्लाबाट छुटेका छैनन्। सवारीसाधनहरू नछुट्दा यात्रुहरू अलपत्र परेका छन्। 

बाढीले तीन घर र झोलुंगे पुल बगायो 

बुधबारदेखि नै अवरिल रूपमा पानी परिरहेको छ। अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ। गएराति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको गाउँपालिका उपाध्यक्ष बन्दना कडरियाले बताए। 

यस्तै, जिल्लाको दोस्राे ठूलो दोभानबजार जोखिममा परेको छ। मेरिङदेन– ३ दोभानको बजार क्षेत्र कटान गरेपछि पाँच घर उच्चजोखिममा रहेको स्थानीय जयप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूलगायतका तीन घर उच्च जोखिममा छन्। 

मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन्। अहिले स्थानीयले घरबाट सामानहरू निकाल्ने र सुरक्षित ठाउँमा लैजाने क्रममा जारी छ । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध बनेको बताइएको छ। 

मैवाखोला– २ र ५ नम्बर वडा जोड्ने खार्तेखोलाको झोलुंगे पुल बगाएको मैवाखोला ६ बाट गोपाल थोप्राले जानकारी दिए। उनले मैवाखोला– ३ ताम्राङमा रहेको २५ किलोवाटको बिजुलीको स्टेसन नै बगाएको जानकारी दिए। खार्ते ठाडो खोल्सोमा आएको बाढीले करिब सय मिटरआसपासको अलैँची बगान तथा खेतसमेत बगाएको छ। 

यता, बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। सिदिङ्वा– ६ मा नेत्रप्रसाद गौतमको घर बाढीले क्षति पुर्‍याएको छ भने सोही स्थानको मेहेले स्वास्थ्य चौकी भवन बगाएको छ। सोही ठाउँका देवीभक्त गौतमको गुवाली बगेको छ।
  
आङ्खोपमा तीनजना उद्धारको पर्खाइमा 

जिल्लाको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिममा एक परिवारका तीनजना उद्धारको पर्खाइमा छन्। तावाखोला र अर्कोतिर खहरे खोलोको बीचमा गोठमा रहेका डेनिस गुरुङ, उनकी श्रीमती अनिता गुरुङ र उनका छोरा उद्धारको पर्खाइमा छन्। 

उद्धारको प्रयास भइरहे पनि खोलामा पानीको बहाव कम नभएका कारण उद्धार सम्भव नभएको गाउँपालिका उपाध्यक्ष बन्दना कडरियाले बताइन्।