
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा रहेको कल्भर्ट मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी–जोमसोम सडकमा सीधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।
बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीचबाटोमै रोकिएका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट भत्काएको थियो। कल्भर्ट भत्काएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो ।
७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए ।
यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीमा भिरबाट लडेर मंगलबार एक महिलाको ज्यान गएको छ । धारापानीकी २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए । बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र संघसंस्थाबाट चन्दा उठाएर रु. एक लाख ४० हजार भाडा तिर्ने गरी हेली एभरेष्टको हेलिकोप्टर मगाइएकाे थियाे ।