१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २७ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २७ शनिबार १६:१४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २७ शनिबार १६:१४:oo

संस्कृतिविद् तथा शताब्दीपुरुष स्वर्गीय सत्यमोहन जोशीसँग सम्बन्धित लेख रचनाहरूको संगालो ‘शब्दबिम्बमा सत्यमोहन’ नामक पुस्तक लोकार्पण भएको छ।

पत्रकार गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित तथा संकलित उक्त पुस्तक वरिष्ठ पत्रकार भैरव रिसाललगायतले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरेका हुन्। जोशी जीवितै छँदा र उनको मृत्युपश्चात उनीसँग सम्बन्धित भएर लेखक, पत्रकार, विज्ञ, समाजसेवीलगायतले लेखेका समाचार, लेख, कविता, निबन्धलाई पुस्तकमा एकत्रित गरिएको छ।

पुस्तकमा सम्पदकीय, अन्तर्वार्ता, परिशिष्टांक, समाचार, कविता, तस्बिरलगायत विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेका गतिविधिलाई खण्ड छुट्याएर राखिएको छ। लोकार्पण कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार रिसालले सत्यमोहन जोशी नेपालका धरोहर र कहिल्यै नमर्ने व्यक्ति रहेको बताउँदै उनका लेख रचनालाई संरक्षण गर्नुपर्ने बताए।

‘सत्यमोहन जोशी हाम्रो गहना हुनुहुन्थ्यो, उहाँले छाडेर गए पनि उहाँ जीवितै हुनुहुन्छ। किनभने उहाँले आफू कहिल्यै नमर्ने छाप छाडेर जानुभएको छ,’ रिसालले भने, ‘यस्ता किताबले उनको योगदानलाई संरक्षण गर्न टेवा पुग्छ।’

जोशीको जीवनी र उनको योगदानबारेका विभिन्न गतिविधिलाई दस्ताबेजको रूपमा संरक्षण गर्न लेख रचनाहरूलाई एकमुष्ट गरिएको सम्पादक तथा संकलक ढुंगानाले बताए। ‘यो पुस्तकमा सत्यमोहन जोशीसँग सम्बन्धित छरिएका लेख, रचना, कविता, निबन्ध, समाचारलगायतलाई संकलन गरिएको छ,’ उनले भने, ‘यसो गर्दा उहाँको बारेमा बुझ्न, अध्ययन गर्न र ती लेख सामग्रीको दस्ताबेजीकरण गरी संरक्षण गर्न सहज हुन्छ।’ 

४०८ पृष्ठको उक्त पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो।