१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
आकार पटेल
२०८० जेठ २६ शुक्रबार ११:२२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अखण्ड भारतको पहेली

दक्षिण एसियाली एकता सजिलै सम्भव छ, तर समस्या छिमेकी राष्ट्र शत्रु हो भन्ने गरी गढेको राष्ट्रको परिभाषामा रहेको छ

Read Time : > 2 मिनेट
आकार पटेल
२०८० जेठ २६ शुक्रबार ११:२२:००

यही २ जुनमा ‘बेंगलुरु जेलबाट १० महिनापछि ‘बंगलादेशी घुसपैठिया’को आरोप लागेका बंगाली दम्पती रिहा’ शीर्षकमा समाचार प्रकाशित भयो । जमानत हासिल गरे पनि स्थानीय पहिचान पुष्टि गर्न नसक्दा यो दम्पती थप एक महिना जेलमा बस्नुपर्‍यो ।

सोही दिन ‘नयाँ संसद् भवनमा बनाइएको ‘अखण्ड भारत’को भित्तेचित्रप्रति नेपालका राजनीतिक नेताको आपत्ति’ शीर्षकमा समाचार प्रकाशित भयो । सो समाचारमा ‘अखण्ड भारत’ हिन्दुत्व राष्ट्रवादी एक परिकल्पना हो, जहाँ अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, म्यान्मार, नेपाल, पाकिस्तान र श्रीलंका भारतको हिस्सा हो भन्ने मानिन्छ भनेर व्याख्या गरिएको थियो । नेपालमा पर्ने बुद्धको जन्मस्थल लुम्बिनी नयाँ संसद् भवनको भित्तेचित्रमा देख्न सकिन्छ ।  

म ‘द केस फर अखण्ड भारत’ (अखण्ड भारतको पहेली) शीर्षकमा पुस्तक लेखिरहेको छु, जहाँ मैले दुई विषयमा खोज गर्नेछु । पहिलो यदि भारतीय विशेषतः भारतीय जनता पार्टी (भाजपा) को विचार बोक्ने हिन्दूले दक्षिण एसियालाई एकत्रित गर्न चाहन्छन् भने यी मानिस किन पेन्टिङ वा भित्तेचित्रभन्दा अगाडि बढ्न सकिरहेका छैनन् ? दोस्रो, वास्तवमै ‘अखण्ड भारत’को निर्माण कसरी हुन सक्छ ? पहिलो प्रश्नको उत्तर सजिलो छ ।

भाजपा र भाजपालाई समर्थन गर्ने हिन्दू एकीकृत दक्षिण एसिया चाहन्नन् । यिनीहरू एक साम्राज्य चाहन्छन्, जहाँ रैती हुने गर्छन् । भारतमा सत्ता चलाइरहेको पार्टी, जसको एकजना पनि मुसलमान मन्त्री, सांसद र विधायक छैन, उसले चटगाउँको कुनै महिलालाई कसरी आकर्षित गर्न सक्छ वा पेसावरको कुनै बालकमा कसरी उत्साह थप्न सक्छ । भाजपालाई भूमि चाहिएको छ, न कि जनता । उदाहरणका लागि कस्मिरलाई नै हेरौँ न । 

धार्मिक पाखण्ड जोडिन आउने पहिलो प्रश्न रोचक छैन तर दोस्रो भने छ । अर्थात् उप–महाद्वीपका जनतालाई एकताबद्ध कसरी गर्न सकिन्छ होला ? हतियारका बलमा सकिँदैन र हामीले मान्न अस्वीकार गरे पनि हामीसँग हतियारको सामथ्र्य छैन । र, यो सत्य हो । कस्मिर नक्साभन्दा निकै फरक देखिन्छ । यो वास्तविक कस्मिरले विद्यालयमा भारतको नक्सा घोकेको एक औसत भारतीयलाई विचलित पार्नेछ । कस्मिरको पश्चिमी हिस्सा हाम्रो नियन्त्रणमा छैन र जतिसुकै डिङ हाँके पनि त्यसलाई फिर्ता ल्याउन सकिँदैन । याद राख्नुपर्ने के छ भने प्रतिद्वन्द्वी मुलुक हाम्रो मुलुकको सातौँ हिस्साबराबर मात्रै छ । 

हामी नेपाल, भुटान र बंगलादेशलाई केही हदसम्म सताउन सक्छाैँ, यी मुलुकलाई नक्सा वा भाषणमा तमासेबाज ढंगले दाबी गर्न सक्छाैँ तर ती मुलुकमा दाबी गर्नका लागि हामीसँग वास्तविक वैधता छैन । एकीकृत उप–महाद्वीप बन्न सक्ने अर्को पाटो छ, जसबारे मेरो पुस्तकले बोल्नेछ । एक शक्तिशाली मुलुक, विशाल अर्थतन्त्र, सबैभन्दा पुरानो लोकतन्त्र र सबैभन्दा अधिक जनसंख्या भएको मुलुकका नाताले भारतले आफ्ना छिमेकीमाझ गएर ती एकता गर्न खोजे के हुन्छ ? त्यो परिस्थिति कस्तो होला र त्यसले के निम्त्याउला ? 

दक्षिण एसियाली एकता सजिलै सम्भव छ, तर समस्या छिमेकी राष्ट्र शत्रु हो भन्ने गरी गढेको राष्ट्रको परिभाषामा रहेको छ
 

पहिला त भारतले गैरराजनीतिक मामिलाको सम्बोधन गर्नुपर्नेछ । जब युरोपियन युनियन गठन हुन थाल्यो, त्यतिवेला संयुक्त मुद्रा वा संसद् नभई स्टिल र कोइला उद्योग एकताको कारक बनेको थियो । किनभने, यी दुई वस्तु युरोपेली मुलुकको अर्थतन्त्र र सैन्य विकासका लागि आवश्यक थियो । पहिले त युद्धपछि जर्मनीमाथि गरिएको जबर्जस्ती र पछि आपसी सहमतिमा युरोपेली राष्ट्र एक भएका थिए ।

स्मरण रहोस्, युरोपेली राष्ट्रमा मोटामोटी एउटै धर्मका मानिस बसोवास गर्दा पनि सन् १९१४ देखि १९४५ सम्म विश्वका अन्य हिस्साका तुलनामा बढी मानिसको हत्या त्यहीँ भएको थियो । साझा मुद्रा वा साझा प्रधानमन्त्री रोज्नतिर नलाग्ने हो भने दक्षिण एसियालाई जोड्ने सामानता के हुन सक्छन् ? त्यसमा यातायात वा सञ्चार पर्न सक्छ, अर्थात् छुट्टी मनाउन विनाभिसा कोलकातादेखि ढाका वा सिमलादेखि लाहोर जान सकिनेछ । यसो गर्न गाह्रो छ र ? बिल्कुलै छैन । यो तुरुन्तै हुन सक्ने काम हो, तर समस्या छिमेकी राष्ट्र शत्रु हो भन्ने गरी गढेको राष्ट्रको परिभाषामा रहेको छ ।

आर्को कदम भनेको युरोपियन युनियनले गरेझैँ सेवा र वस्तुको आयात–निर्यातमा बृहत् छुट हो । यसले अन्ततः अर्थतन्त्रहरूलाई जोड्नेछ र सबै मुलुकलाई फाइदा पुर्‍याउनेछ । विशेषतः अरूले उत्पादन गर्न नसक्ने तर आफूले गर्न सक्ने मुलुकलाई लाभ पुर्‍याउनेछ । भारतले कार, दुईपांग्रे सवारी साधन, पेट्रोल, सफ्टवेयर, संगीत वाद्ययन्त्र, पुस्तक, नर्स, इन्जिनियर र बायोकेमिस्ट अन्य राष्ट्रको उत्पादन लागतभन्दा सस्तोमा पठाउन सक्छ । यसो नगर्नु भनेको भारतीयलाई अवसर र भारतीय अर्थतन्त्र वृद्धिको सामथ्र्यलाई अस्वीकार गर्नु हुनेछ ।

यो सौम्य ‘अखण्ड भारत’को अन्तिम पाटो भनेको युरोपियन युनियनले गरेझैँ राजनीतिक एकता हो । हामी अहिल्यै त्यहाँ जानुपर्दैन । दक्षिण एसियाका अन्य हिस्सा परिपक्व नहुन्जेल हामीले यस विषयमा सोच्न पनि आवश्यक छैन । तर, उल्लिखित दुई आयाम (साझा वस्तु र बेरोकटोक आयात–निर्यात) नछिचोली तेस्रो आयाममा पुग्न पूर्णतः असम्भव छ । अरू ढंगले एकता गर्छु भनेर सोच्नु अर्थात् नेपाल र अन्य मुलुकले आपत्ति जनाएको भित्तेचित्रबाट गर्छु भनेर सोच्नु केटाकेटीपन हुनेछ । भारतीय सम्भ्रान्तको सोच जसरी संसद्मा देखिएको छ, त्यो केटाकेटीपन र अवास्तविकता हो । तर, यो एक चासो दिइनुपर्ने विषय भने हो । ‘अखण्ड भारत’ कुची र भित्तेचित्रबाट सम्भव छैन । 
(पटेल एम्नेस्टी इन्टरनेसनल इन्डियाका अध्यक्ष हुन्) द वायरबाट