१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
आकार पटेल
२o८१ बैशाख १८ मंगलबार १o:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

एसियाका दुई मुलुकको संघर्ष र ऐक्यबद्धताको महत्व

भ्रातृत्व तब मात्र आउन सक्छ, जब हामी एक–अर्काका पक्षमा उभिन्छौँ

Read Time : > 2 मिनेट
आकार पटेल
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:o५:oo

म यो लेख अमेरिकाबाट लेखिरहेको छु, जहाँ मैले एक ऐक्यबद्धता बैठकमा भाग लिएको थिएँ । बैठक रोचक थियो, किनभने त्यहाँ दुई संघर्षको सम्मिश्रण थियो, अर्थात् भारतमा धर्मनिरपेक्षताको संघर्ष र अतिक्रमित प्यालेस्टाइनको साम्राज्यवादविरोधी संघर्ष । बोस्टन साउथ एसियन कोलिसनले आयोजना गरेको कार्यक्रममा दुई वक्ता थिए । एक हाम्रै तिस्ता शीतलवाड थिइन्, उनी गुजरात न्यायकी नायिका हुन् । अर्का वक्ता दक्षिणी लेबनानका युवा सलिम हल्लाल हुन् । दर्शकदीर्घामा केही दर्जन मानिस थिए, जसमा थुप्रै भारतीय मौजुद थिए । मेरो विचारमा यसैले नै बैठकलाई विशेष रूपमा रुचिकर बनाएको थियो र यस्तो किन भयो यसबारे म पछि लेख्नेछु । 

दुई वक्ताको संवाद तथ्यमा आधारित थियो । पहिलो भनाइ राज्यले साम्प्रदायिक अपराधलाई स्विकारिरहेको छ (कतिपयले प्रोत्साहन गरिरहेको छ भन्ने गरेका छन्) भन्नेमा र दोस्रो भनाइ मुक्तिका लागि राष्ट्रिय संघर्षमा केन्द्रित थियो । दुवै भनाइमा एक विषय समान थियो । त्यो हो, ऐतिहासिक संशोधनवाद एवं इतिहासको पुनर्लेखन । अर्थात्, प्यालेस्टाइन र ‘नयाँ भारत’को जमिनी वास्तविकता भिन्नै थियो र यो वास्तविकता हजारौँ वर्ष पुरानो हो भन्ने विचारमाथि चर्चा गरिएको थियो । 

मसहित कैयौँ दर्शक यी वक्ताले बोलिरहँदा आफ्नै विचार व्यक्त भइरहेको ठानिरहेका थियौँ । दशकौँदेखिकी मेरो मित्र शीतलवाडले आफूले बोलिरहेको कुरालाई स्पष्ट रूपमा व्यक्त गरेकी थिइन् । उनले सन् २००२ को गुजरात हिंसा कसरी भयो र हिंसापछि के भयो भन्नेबारे खुलस्त बोलेकी थिइन् । उनले साहस एवं धैर्यका कारण दोषी बनाइएका एक सय ७४ बाँच्न सफल मानिस र अभियन्ताबारे बोलेकी थिइन् । यीमध्ये एक सय २४ लाई आजीवन कारावास सुनाइएको छ । यी अपराधसिद्धि तब आएका थिए, जब राज्यको न्यायका अवधारणाविरुद्ध संघर्ष गरिएको थियो । राज्यको न्यायलाई बुझ्न राज्यले कसरी बलात्कारी एवं हत्यारालाई केवल धार्मिक पाखण्डका लागि रिहा गर्न खोजेको थियो भन्ने तथ्यलाई हेरे पुग्छ । भारतको सर्वोच्च अदालतले गुजरातबाट विभिन्न मुद्दाको सुनुवाइ अन्यत्र सारेको थियो र यसबारे धेरैलाई थाहा छैन होला वा धेरैले बिर्सिए होलान् । मेरो जानकारीअनुसार यस्तो घटना भारतमा पहिलोपटक भएको थियो ।

हल्लालले प्यालेस्टाइनमा भइरहेको अन्यायको यथार्थ र यो अन्यायलाई जायज ठहर्‍याउने भाष्यलाई दुरुस्तै जोससाथ बोलिरहेका थिए । इजरायलमा सुरुवातीताका बस्ती बसाल्नेहरूलाई प्यालेस्टिनीले त्यसरी नै सहयोग गरेका थिए, जसरी अमेरिकामा त्यहाँका आदिवासीले बस्ती बसाल्नेलाई सहयोग गरेका थिए, उनी भन्छन् । अतिक्रमित प्यालेस्टिनी भूभागमा जे भइरहेको छ, त्यो धार्मिक द्वन्द्व नभई अतिक्रमणकारी र अतिक्रमितबीचको द्वन्द्व हो ।

उनले ‘भूमि नभएका मानिसका लागि मानिस नभएको भूमि’को नारा बसोवासी उपनिवेशवाद (सेटलर कोलनियलिज्म) जायज ठह¥याउने खोक्रो नारा रहेको बताएका थिए । उनका अनुसार इजरायल प्यालेस्टाइनको मामिला ‘जटिल’ छ भन्ने भाष्य फलाक्ने काम सामान्य यथार्थलाई लुकाउने हत्कण्डा हो । अर्थात्, अतिक्रमण एवं उपनिवेशवाद र इतिहासलाई एक राजनीतिक एजेन्डाअनुरूप तयार गर्ने यथार्थलाई लुकाउने अस्त्र हो । यो संवादलाई युट्युबमा हेर्न सकिन्छ र म सम्पूर्ण पाठकलाई हेर्न सुझाउँछु ।

लागाैँ अब मैले यो बैठक चाखलाग्दो छ किन भनेको थिएँ भनेर । अमेरिकामा भारतीय समूहले सरकारको पक्षमा बोलेको देखिनु अस्वाभाविक होइन । विशेषतः राज्यले अल्पसंख्यकमाथि गरिरहेको व्यवहार र अमेरिकामा मोदीका पक्षमा भएको हाउडी मोदीमा भारतीयले समर्थन जनाउँछन् । दुःखसाथ भन्नुपर्छ, यो प्रवृत्ति मेरो आफ्नै गुजराती समुदायमा अत्यधिक देखिन्छ । अमेरिकामा रहेका गुजराती मूलका मानिस भारतीय राज्यको साम्प्रदायिकताको बचाउ गर्छन् । तर, यसको अर्को पाटो पनि छ, अर्थात् थुप्रै भारतीय अहिले भारतमा जे भइरहेको छ, त्यसविरुद्ध पनि बोल्छन् । मैले सहभागिता जनाएको बोस्टन साउथ एसियन कोलिसनको कार्यक्रम यसको उदाहरण हो ।

मैले कार्यक्रम प्रवासमा रहेका भारतीयले के गर्न सक्छन् भनेर विस्तृतमा आफ्नो धारणा राखेको थिएँ । मैले प्रवासमा बसिरहेका भारतीयलाई आफूले बसेको मुलुकको लोकतान्त्रिक प्रक्रिया अपनाएर भारतमा भइरहेका घटनाक्रममा जोडिन भनेको थिएँ । यसैकारण भारतमा सन् २०१९ मा ल्याइएको विभेदकारी नागरिकता कानुन पारित भए पनि लागू भएन । यो कानुन लागू नहुनुका पछाडि युरोपेली संसद्ले कानुनको भत्र्सना गर्नु पनि हो । दूर देशका सांसदले हाम्रो ‘आन्तरिक मामिला’ भनिने विषयमा किन चासो राख्छन् भन्नेमा धेरैलाई अचम्म लाग्न सक्छ । तर, यो कुनै अचम्मको विषय होइन, किनभने विदेशमा रहेका भारतीयले आफ्ना स्थानीय विधायकलाई भारतको सम्भावित कानुनबारे बताएर चिन्ता व्यक्त गरेकाले यो सम्भव भएको हो ।

भारत मानवअधिकारको विश्वव्यापी घोषणापत्र र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको हस्ताक्षरकर्ता हो । हाम्रा मित्रले हामीलाई यो तथ्य बिल्कुलै सम्झाउन सक्छन् । यो सम्झाउने काम तब मात्र हुन्छ, जब विदेशमा रहेका भारतीय भारतमा के भइरहेको छ भन्ने बुझेर त्यसको प्रतिक्रिया दिन्छन् । ऐक्यबद्धताका पछाडि हामीले मान्छे भएर अर्काको पीडा बुझ्नु मात्रै होइन, बरु ऐक्यबद्धता हामीले अरूका लागि काम गर्नुमा पनि निहित छ । संविधानको प्रस्तावनामा भनिएको छ कि हामी भारतीयले भारतीयका लागि ‘व्यक्तिको मर्यादा सुनिश्चित गर्दै, भ्रातृत्व’ सुरक्षित गर्ने संकल्प गरेका छौँ । भ्रातृत्व तब मात्र आउन सक्छ, जब हामी एक–अर्काको पक्षमा उभिन्छौँ । बोस्टन साउथ एसियन कोलिसनमा आएका भारतीयले यही प्रयास गरेका छन् ।
(पटेल लेखक एवं स्तम्भकार हुन्) द वायरबाट

ad
ad