१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
आकार पटेल
२o८१ बैशाख २२ शनिबार o९:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘सबका साथ’ र ‘बेटी बचाओ’ नारामा निहित पाखण्ड

Read Time : > 2 मिनेट
आकार पटेल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:५९:oo

सबका साथ’ (सबैको साथ) एक झुट वा भ्रम हो ? झुट बढी हो किनभने बहिष्करणलाई नियतवश भारतीय जनता पार्टी (भाजपा)मा लागू एवं संस्थागत गरिएको छ । यो पार्टीमा एकजना सांसद वा विधायक मुसलमान छैनन्, तैपनि पार्टीले ‘सबका साथ’को राग अलाप्छ । यस पार्टीका मन्त्री भिडमा अल्पसंख्यकमाथि भौतिक हिंसा गर्ने कसुरदारलाई माला लगाउँछन्, तैपनि पार्टीले ‘सबका साथ’को नारा अलाप्न बन्द गर्दैन ।

यो पार्टीले कसलाई मूर्ख बनाइरहेको छ ? कसैलाई पनि होइन, तैपनि ‘सबका साथ’ भन्न छुटाउँदैन किनकि यो पार्टी भित्रभित्रै इमानदार छैन । यो शब्दावली एक चित्ताकर्षक ‘जुमला’ (ठगी) हो वा पार्टीले आफ्नो असली अडान व्यक्त गर्ने समय नआएको हो ? जेसुकै निष्कर्ष निकाले पनि ‘सबका साथ’ एक झुटो नारा हो, किनभने संख्याले झुट बोल्दैन ।  

 राजनीतिक जोडघटाउ हेरेर बलात्कारमा दोषी करार भएका व्यक्तिलाई जेलबाट छुटाउनेहरूको मुखबाट ‘बेटी बचाओ’ अर्थात् ‘छोरीको रक्षा गराैँ’ भन्ने नारा अस्वाभाविक लाग्छ । राष्ट्रका नायिकाहरू (कुस्तीका पहलमान) आफूमाथि उत्पीडन गर्नेमाथि कारबाही गर्न धर्ना दिइरहेका वेला भाजपा समर्थकले ‘बेटी बचाओ’ भन्ने नारा फलाक्नु ठगी हो ।

संदिग्ध उत्पीडक लामो समयदेखि पार्टीको सांसद रहेको र कार्बाहीको कदम नचाल्दा राजनीतिक लाभ हुने भएकाले सरकारले कारबाही गरिरहेको छैन । यस अर्थमा भारत सरकार भारतका चेलीमाथि हुने दुव्र्यवहारलाई समर्थन र प्रोत्साहन गर्छ । तैपनि, सरकार ‘बेटी बचाओ’ रटान लगाउन छोड्दैन र रटान लगाइरहँदा दोषी करार गरिएका बलात्कारीलाई रिहा गर्नुको कारण अदालतलाई बताउँदैन । यहाँनेर पनि भाजपा आफूलाई खुलस्त पार्न हिचकिचाहट महसुस गर्छ । 

राजनीतिक जोडघटाउ हेरेर बलात्कारमा दोषी करार भएका व्यक्तिलाई जेलबाट छुटाउनेहरूको ‘छोरीको रक्षा गरौँ’ भन्ने नारा अस्वाभाविक लाग्छ

कति मुलुकमा राजनीतिक भाष्यसँग मुलुकको यथार्थ पूर्ण रूपमा भिन्न भएको पाउनुभएको छ ? बिरलै भेटिएला । तर, राजनीतिमा पाखण्ड हुन्छ, यसमा दुई मत भएन र यसकारण कैयौँ मानिस कैयौँ ठाउँमा राजनीतिमा आकर्षित छैनन् । तर, जुन स्तरमा नक्कली सद्भाव र अभिनीत आदर्शविपरीत हुने व्यवहार नांगो रूपमा प्रदर्शन भइरहेको छ, त्यो हामीकहाँ नै हुन्छ होला । सधैँभरि बोली र व्यवहार आकाश–पाताल पारेर बस्न सक्छु भन्ने शक्तिको दम्भ भने भ्रम हो ।

एकातिर मूलधारका सञ्चार माध्यम छन्, जसलाई सरकारको भक्तका रूपमा लिइन्छ, वास्तवमा यी सञ्चार माध्यमलाई सरकारको आधिकारिक ‘प्रोपगान्डा मेसिन’ भन्दा फरक पर्दैन । यी सञ्चार माध्यमबाट निष्पक्ष मूल्यांकनको अपेक्षा गर्न सकिँदैन । यसमाथि विश्वले रुचाएका सेलिब्रिटी, फिल्म स्टार, गायक क्रिकेटरको बगाल नै छ । यी सेलिब्रेटीहरू आफ्नो समुदायमाथि हमला हुँदा पनि बोल्ने हुती राख्दैनन् । यी सेलिब्रेटी कि निकै भयभीत छन् वा आफ्नो ख्यातिले कमाएको धन गुम्ला कि भन्ने लोभले यिनको मुख टालिएको छ । र, दिनलाई नै रात देखाउने जुन प्रयास भइरहेको छ, त्यसविरुद्ध बोल्न सक्ने बलियो आवाज वा फरक मत पनि देख्न सकिँदैन । 

अर्कातिर भाजपाका नेताहरूलाई त्यस्ता व्यक्तिले घेरेका छन्, जसले नेताहरूले नै सुन्न चाहने कुरा बोल्दिन्छन् । यस्तो प्रवृत्ति ती नेतामा देखिन्छ, जो आफूले कहिल्यै नगर्ने ठान्छ । त्यसका लागि यी नेता आफूवरिपरी आफ्नो बोलीमा लोली मिलाउने मान्छे खोज्छन् र यसका लागि त्यस्ता मान्छेको कमी पनि छैन ।

कोभिड–१९ महामारीको दोस्रो लहरका वेला जब कैयौँ मानिसको ज्यान गयो, तब नेताहरूले भीमकाय ¥याली आयोजना गरे । यस्तो वेला पनि नेताका आसेपासे महामारी फैलिनुमा ¥यालीको कुनै भूमिका थिएन भनेर पुष्टि गर्दिन्छन् । भाजपाले कोभिड–१९को दोस्रो महामारी सुरु हुनुभन्दा केही समयअघि प्रधानमन्त्रीले कोभिडमाथि विजय पाए भनेर घोषणा गरेको थियो, तर पछि यस घोषणालाई वेबसाइटबाट डिलिट गरियो । 

जब धार्मिक कट्टरता भाजपाको राजनीतिको आधारभूत स्तम्भका रूपमा प्रकट हुन्छ, तब भाजपाका नेताले अधिकारको बाँडफाँडमा पार्टीले अल्पसंख्यकविरुद्ध भेदभाव गर्दैन भनेर देखाउने गर्छन् । यदि करोडौँ मानिसले बेरोजगारी र न्यून पारिश्रमिक अनुभव गरिरहेको तथ्य बाहिर आउँछ, भने भाजपाका नेताले तथ्यांकलाई गलत साबित गर्दै भारत वास्तवमा ‘अमृत काल’तर्फ अघि मात्रै बढेको नभई पुगिसक्यो भनेर पुष्टि गर्ने गर्छन् । 

सरकारको आफ्नै आँकडाले गरिबी बढिरहेको र खाद्यसहितका विभिन्न वस्तुको उपभोग सन् २०१२ देखि २०१८ सम्म घटेको देखाएको छ र अहिले आफूलाई असहज हुने देखेपछि सरकारले यी आँकडा लुकाइरहेको छ । यसका पछाडिका कारण खुलाइएको छैन र निष्कर्ष सार्वजनिक जाँचका लागि उपलब्ध गराइएको छैन । कोभिड–१९ महामारीअगावै सरकारकै उच्च बेरोजगारीसम्बन्धी अध्ययन सन् २०१९को चुनावअगाडिसम्म खुलाइएन ।

यो यस्तो नैतिकता र आचारसंहिता हो, जहाँ राजाको कानमा सब ठिकठाक छ भन्ने भरिदिन्छन् । सत्तामा रहेका पुरुष र महिला यो बदमासीमा भागिदारी लिन्छन् र अडानको साटो अपराधमा आफ्नो भागिदारीको दाबी गर्छन् । यस्तो अवस्थामा प्रमाणले एक कुरा बोले पनि अर्को कुरामा विश्वास गर्न सजिलो हुन्छ । र, ‘बेटी बचाओ’ र ‘सबका साथ’ को राग बजिरहन्छ । 

(पटेल एम्नेस्टी इन्टरनेसनल भारतका अध्यक्ष हुन्) द वायरबाट
 

ad
ad