१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:२३:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सहकारीविरुद्ध प्रहरीमा उजुरीका चाङ, लाखौँ सर्वसाधारणको अर्बाैँ बचत जोखिममा

Read Time : > 6 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२३:oo

बचतकर्ताको रकम हिनामिना गरेर सञ्चालकहरू फरार हुन थालेपछि सरकारले गर्‍यो करिब सय सहकारीकर्मीको पासपोर्ट रोक्का

नियमन गर्ने राज्यसंयन्त्रको अकर्मण्यताका कारण सहकारी संस्थामा लाखौँ सर्वसाधारणको अर्बौँ निक्षेप जोखिममा परेको छ । एकपछि अर्काे सहकारी समस्यामा पर्दा प्रहरीमा उजुरीको चाङ लागेको छ भने सञ्चालक फरार हुन थालेका छन् । 

पछिल्लो दुई महिनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा मात्र एक दर्जन सहकारीविरुद्ध उजुरी परेका छन् । तीमध्ये धेरैजसो सहकारी विभागबाटै पत्राचार भएर अनुसन्धान भएका छन् भने सर्वसाधारण सीधै पनि सिआइबीमा पुग्न थालेका छन् । एउटै सहकारीविरुद्ध सयभन्दा धेरैको उजुरी परेको छ । 

उजुरी बढ्दै गएपछि अनुसन्धान नै धान्न नसक्ने अवस्था आउन लागेको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । ‘सहकारी ठगीको अवस्था भयावह देखिन्छ,’ उनले भनिन्, ‘फोन, फेसबुकदेखि कार्यालयमै आएर उजुरी गर्ने बढिरहेका छन् । उजुरीको चाप हेर्दा हामीले अनुसन्धान धान्न सक्ने अवस्था छैन । ठगी गर्ने सहकारीको संख्या सयौँ छ, पीडितहरूको संख्या लाखौँ छ । त्यसकारण यो समस्यालाई फरक ढंगले समाधान गर्नुपर्छ भन्ने लाग्छ, प्रहरीले थुनेर मात्र यो समस्या समाधान होला जस्तो लाग्दैन ।’ 

सहकारी समस्या विकराल बन्दै गएपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त रावतको अध्यक्षतामा गत महिना कार्यदल गठन गरेको थियो । पहिलो बैठक बसेको दुई महिनाभित्र प्रतिवेदन बुझाउन समयावधि दिइएको भए पनि कार्यदलले अहिलेसम्म काम नै सुरु गरेको छैन । 

विगतमा पनि समस्या समाधानका लागि विभिन्न समिति र कार्यदल बने पनि सहकारी क्षेत्रमा सुधार हुन सकेन । जसकारण सिंगो सहकारी क्षेत्र नै संकटमा परेको छ । 

एक दर्जन सहकारी सिआइबी छानबिनमा 
सिआइबीले हाल शिव शिखर सहकारी र एकताबद्ध सहकारीका सञ्चालक पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शिव शिखरले मात्र एक लाखभन्दा धेरै सर्वसाधारणको करिब १४ अर्ब रुपैयाँ फिर्ता गरेको छैन । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको यो सहकारीका ३५ जिल्लामा शाखा कार्यालय छन् । निक्षेप फिर्ता गर्न नसकेपछि सबैजसो कार्यालय बन्द छन् । ‘हामीले तीन सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाएकोमा उनीहरू जेल चलान भएका छन्,’ एआइजी बज्राचार्यले भनिन्, ‘यो सहकारीले सर्वसाधारणको करिब १४ अर्ब रकम हिनामिना गरेको देखिन्छ ।’ 

बुढानीलकण्ठको एकताबद्ध सहकारीमा नौ सय ५८ सदस्य छन् । जसमध्ये एक सय ९१ जनाले सिआइबीमा उजुरी दिएका छन् । आठ करोड १८ लाख निक्षेपको दाबी गरिएको छ । 

यसबाहेक ललितपुरको कुमारीपाटीस्थित पशुपति सहकारी, चुच्चेपाटीको एभर ट्रस्ट सहकारी, तिनकुनेको रियल गोर्खा सहकारीका सञ्चालकलाई पनि पक्राउ गरी कारबाही गर्न सहकारी विभागले सिआइबीलाई पत्राचार गरेको छ । 

पशुपतिविरुद्ध हालसम्म एक अर्ब १४ करोड रुपैयाँ माग गरी जाहेरी परेको छ । त्यस्तै, एभर ट्रस्टविरुद्ध एक सय ८८ जनाले ३४ करोड १४ ठगीको जाहेरी दिएका छन् । रियल गोर्खाविरुद्ध एक सय १४ जनाले दुई करोड ६४ लाखको जाहेरी दिएका छन् । 

त्यस्तै, ललितपुरको लालीगुराँस, नेसनल, सुमेरु, देउराली, काठमाडौंको कुलेश्वरस्थित गौतमश्री सहकारीलगायतविरुद्ध पनि सर्वसाधारण उजुरी लिएर सिआइबी धाउन थालेका छन् । तर, प्रहरीले सहकारी विभागले पत्राचार गरेपछि मात्र अनुसन्धान गर्दै आएको छ । बानेश्वरमा रहेको सन्ध्या ऋण तथा बचत सहकारी संस्था, हरित कृषि सहकारीविरुद्ध पनि उजुरी परेका छन् ।

त्यस्तै, बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले विभिन्न सहकारीका सञ्चालकलाई कारबाही गर्न सिआइबीलाई पत्राचार गरेको छ । काठमाडौंको एबिसी बचत तथा ऋण सहकारी संस्था, स्मृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, अक्षता बचत तथा ऋण सहकारी संस्था, राइजिङ अप बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरको सातदोबाटोस्थित मञ्जरी बहुउद्देश्यीय सहकारी संस्था, सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भद्रकाली कृषि सहकारी संस्था लिमिटेडविरुद्ध पनि प्रहरीमा मन्त्रालयले पत्राचार गरेको छ । 

गोलढुंगाको जनप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं तिनकुनेको भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, टोखाको जयअम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्युचाटारको विशुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध पनि सिआइबीलगायत निकायमा उजुरी परेका छन् ।

महाराजगन्जको हिउँचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, न्युरोडको लवकुश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि निक्षेप फिर्ता दिन नसकेपछि निक्षेपकर्ता प्रहरीमा पुगेका छन् । एकैपटक धेरै सहकारीविरुद्ध उजुरी आएपछि सिआइबी अनुसन्धान नै गर्न नसक्ने अवस्थामा पुगेको छ । प्राथमिकताका आधारमा ब्युरोले पालैपालो अनुसन्धान गरिरहेको छ । 

बचतकर्ता सडकमा, सञ्चालक विदेशमा 


सहकारीबाट पीडितहरू आफ्नो निक्षेप फिर्ताको माग गर्दै सडकमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासंघको नेतृत्वमा बिहीबार उनीहरूले ठगी गर्ने सहकारीका सञ्चालकमाथि कारबाही तथा आफ्नो बचत फिर्ताको माग गरी माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका छन् । तर, रकम हिनामिना गरेर सहकारी सञ्चालकहरू भने विदेश भाग्न थालेका छन् । शिव शिखर र तुलसी सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतमा लुकेर बसेका छन् । उनले दुई सहकारीको करिब ६ अर्ब भारतमा लगेर लगानी गरेका छन् । अन्य सहकारीका सञ्चालकहरू पनि भाग्न थालिसकेको स्रोत बताउँछ । यसलाई मध्यनजर गरेर करिब सय सहकारीकर्मीको पासपोर्ट रोक्का गरिएको छ । सरकारले १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । साथै अन्य केही सहकारीमा समस्या देखिएको छ । समस्याग्रस्त घोषणा भइसकेका र अहिले समस्या देखिएका सहकारीसहितका सञ्चालक र व्यवस्थापक विदेश भाग्ने आशंकामा उनीहरूको पासपोर्ट रोक्का गरिएको हो । तस्बिर : यम बम/नयाँ पत्रिका

सहकारीबाट पीडितहरू आफ्नो निक्षेप फिर्ताको माग गर्दै सडकमा ओर्लिएका छन्, रकम हिनामिना गरेर सहकारी सञ्चालकहरू भने विदेश भाग्न थालेका छन् । सहकारीपीडित बचतकर्ता महासंघको नेतृत्वमा बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालिएको छ । ठगी गर्ने सहकारीका सञ्चालकमाथि कारबाही तथा आफ्नो बचत फिर्ताको माग गरी उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । विगतमा पनि पटक–पटक सहकारीपीडितले आन्दोलन गर्दै आएका छन् । 

सहकारीमा सर्वसाधारणको अर्बौँ रकम डुबेको छ । विगतमा पनि प्रहरीले सिभिललगायत ठूला सहकारीका सञ्चालकलाई पक्राउ गरेर मुद्दा दायर गरे पनि पीडितहरूले अझै आफ्नो निक्षेप फिर्ता पाउन सकेका छैनन् । सिभिलको करिब ६ अर्ब ठगीको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन नै छ । त्यसअघि ओरेन्टललगायत १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरी सरकारले ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरी पैसा फिर्ता गर्ने पहल गरे पनि प्रभावकारी हुन सकेको छैन । हाल देशभर ३० हजार आठ सय ७९ सहकारी संस्थामा ७३ लाख ३७ हजार दुई सय ५२ सेयर सदस्य रहेको सरकारी तथ्यांक छ । 

नियमन नै कमजोर हुँदा यसरी सहकारीमा हिनामिना मौलाएको र अहिले ठूलो समस्या देखिएको जानकारहरू बताउँछन् । पूर्वसचिव केदार न्यौपानेले सहकारी सञ्चालकले सहकारीको पैसा नियमविपरीत जग्गा र सेयरबजारमा लगानी गरेको र दुवै क्षेत्र खस्किएपछि अहिले धेरैजसो सहकारी समस्यामा परेको बताए । सहकारी क्षेत्रमा समस्या बढेपछि राम्रोसँग चलिरहेका सहकारीमा पनि निक्षेप निकाल्नेको क्रम बढेको छ, जसले गर्दा समग्र सहकारी क्षेत्र नै संकटमा परेको हो । 

सर्वसाधारण सडकमा आउँदा कतिपय सञ्चालक भने विदेश भागिसकेको प्रहरी स्रोत बताउँछ । शिव शिखर तथा तुलसी सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतमा लुकेर बसेका छन् । उनले दुई सहकारीको करिब ६ अर्ब भारतमा लगेर लगानी गरेका छन् । अन्य सहकारीका सञ्चालक पनि भाग्न थालिसकेको स्रोत बताउँछ । यद्यपि, केहीको राहदानी सरकारले रोक्का राखेको छ । 

काठमाडौंमा सहकारीले निक्षेप फिर्ता नगरेको भनेर एक महिनामा दर्जन उजुरी आउने गरेको एसएसपी दानबहादुर कार्कीले बताए । ‘हामीलाई सीधै सहकारी ठगीको जाहेरी दर्ता गर्ने अधिकार छैन,’ उनले भने, ‘ठाडो निवेदन लिएर छलफलसम्म गराइदिन्छौँ, पक्राउ गरेर मुद्दा चलाउन भने सहकारी विभागबाटै पत्राचार हुनुपर्छ ।’ अनुगमन नै नहुँदा धेरैजसो सहकारी समस्यामा परेको र त्यही कारण अहिले प्रहरीमा धेरै उजुरी आएको उनको भनाइ छ । 

ललितपुर प्रहरीमा पनि सहकारीले ठगी गरेको भनेर दर्जनौँ उजुरी आएका छन् । तर, सहकारी विभागबाट पत्र नआएसम्म आफूहरूले मुद्दा दर्ता नगर्ने ललितपुर परिसरका एसएसपी सिद्धिविक्रम शाहले बताए । लालीगुराँस, सुमेरु, देउरालीलगायत सहकारीबाट सबैभन्दा धेरै पीडित छन् । 

त्यस्तै, कान्तिपुर सहकारी मीनभवन, उपलब्धि बहुउद्देश्यीय सहकारी कैलाशचौरले पनि निक्षेप फिर्ता गर्न नसकेको सहकारी विभागमा निक्षेपकर्ताले उजुरी दिएका छन् । जसमा विभागले छलफल गराई निक्षेप फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सञ्चालकहरूले आफ्नो सम्पत्ति बेचेर भए पनि पैसा फिर्ता गर्न मञ्जुरी दिएका छन् । 

तुलसी सहकारीमा ६८ करोड डुब्यो 
विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करिब ६८ करोड हिनामिना गरेको छ । सो संस्थाका तीनजनालाई हालै प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ । उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने र प्रबन्धक मन्दीप खवासलाई मुद्दा दायर भएकोमा उनीहरू २२ जेठमा जेल चलान भएका हुन् । प्रहरीले सो सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित आठ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । जसमा शर्मासहित सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा छन् । संस्थाले ६७ करोड ७६ लाख २१ हजार दुई सय ६८ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको मोरङका एसपी दीपक पोखरेलले बताए । 

सर्वसाधारणको ५० करोड ८८ लाख ७८ हजार सात सय २८ निक्षेप फिर्ता गर्न सकेको छैन । अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार पाँच सय ४० रुपैयाँ रेडर्क नराखी आफूले निकालेर हिनामिना गरेका हुन् । शर्मा हाल प्रहरी अनुसन्धानमा रहेको शिव शिखर सहकारीका पनि पूर्वअध्यक्ष हुन् । उनी लामो समय नियमविपरीत दुई सहकारी संस्थाको अध्यक्ष बनेका थिए ।

अनुसन्धान धान्नै नसक्ने गरी उजुरीको चाप बढेको छ : एआइजी किरण बज्राचार्य, निर्देशक, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)

सिआइबीले एकपछि अर्काे सहकारीमाथि छानबिन गरिरहेको छ, सहकारी ठगीको अवस्था भयावह नै भएको हो ? 
पछिल्लो समयमा हामीकहाँ जति पनि पीडित आइपुग्नु भएको छ, त्यो हेर्दा धेरै सहकारीका सञ्चालक सम्पर्कमा छैनन् । बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने भएपछि उनीहरू सम्पर्कविहीन भएका छन् । कतिपय त विदेश नै भागेको भन्ने पनि छ । यसरी हेर्दा सहकारीबाट ठूलो संख्यामा सर्वसाधारण ठगिएको हो भन्ने देखिन्छ । 

ठगी कसरी भएका छन् ? 
सञ्चालकहरूले सुरुदेखि नै योजनाबद्ध रूपमा संस्थाको पैसा आफूले व्यक्तिगत रूपमा प्रयोग गरेर ठगी भएको छ । संस्था स्थापना गर्दादेखि नै पैसा उठाउने र त्यसबाट व्यक्तिगत लाभ लिने गलत मनसाय राखेको देखिन्छ । सहकारीको नियमित साधारणसभा गरेको छैन, लेखापरीक्षक हुन सकेको छैन । यसले पनि मनलागी रूपमा सञ्चालकले संस्थाको पैसा व्यक्तिगत कम्पनी र सम्पत्तिमा लगानी गरेका छन् । 

अहिले धेरै सहकारी धराशयी हुनुमा मुख्य कमजोरी कसको देखिन्छ ? 
अनुसन्धानका क्रममा हेर्दा त सञ्चालकहरू नै यसका मुख्य दोषी हुन् । धेरै सञ्चालकको आपराधिक मनसाय देखिन्छ । दोस्रो, नियमन गर्ने निकायको पनि कमजोरी देखियो । राम्रोसँग अनुगमन नगर्ने र हचुवाको भरमा ठीक छ भन्ने गरेका कारण आज धेरै सहकारी समस्यामा परेका छन् । बचतकर्ताले पनि आफूले जहाँ पैसा राखेको छ त्यो संस्थाबारे राम्रोसँग बुझ्ने प्रयास गरेको पाइएन । संस्थाको अवस्था के छ ? साधारणसभा गरेको छ कि छैन, अडिट रिपोर्ट कस्तो छ भन्ने बेवास्ता गरी ब्याजको लोभमा पैसा राखेको देखिन्छ । समयमै सहकारीमा हुने बेथितिबारे सम्बन्धित निकायमा खबर भएको भए यो अवस्था आउने थिएन जस्तो लाग्छ । 

सहकारी ठगीसम्बन्धी उजुरी सिआइबीमा कति छन् ? 
हामीकहाँ उजुरी एकदमै बढेका छन् । शिव शिखरका सञ्चालक त जेल चलान नै भइसके । एकताबद्धका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ । अन्य सहकारीको अनुसन्धान पाइपलाइनमा छ । फोन, फेसबुकदेखि कार्यालयमै आएर उजुरी गर्ने बढिरहेका छ । उजुरीको चाप हेर्दा हामीले अनुसन्धान धान्न सक्ने अवस्था छैन । ठगी गर्ने सहकारीको संख्या सयौँ छ, पीडितको संख्या लाखौँ छ । त्यसकारण यो समस्यालाई फरक ढंगले समाधान गर्नुपर्छ भन्ने लाग्छ । 

फरक ढंगले भनेको कस्तो ?
हाम्रो अनुभवमा सञ्चालक थुनेर १० वर्षदेखि हुँदै आएको बदमासी पत्ता लगाएर पैसा फिर्ता गराउन सक्ने अवस्था पनि छैन । सञ्चालक र प्रबन्धकलाई थुनेर मात्र समस्या समाधान हुँदैन, पासपोर्टदेखि सम्पत्तिसम्म रोक्का राख्ने र पीडितलाई संस्थाको सम्पत्तिबाट निक्षेप फिर्ता गराउने रणनीतितर्फ लाग्नुपर्छ जस्तो लाग्छ । 

ad
ad