
अर्जेन्टिनी कप्तान लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित भएका छन् । दुई सिजनपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) परित्याग गरेका मेसीले मियामीसँग सहमति गरेका हुन् ।
मेसीले साउदी अरेबियाको अल हिलाल क्लबको राम्रो प्रस्ताव अस्वीकार गरी अमेरिकन क्लबसँग आबद्धता जनाएको बिबिसीले जनाएको छ । डेभिड बेकह्यामको स्वामित्वमा रहेको मियामीमा विश्वप्रसिद्ध ब्रान्ड एडिडास र एप्पलले लगानी गरेका छन् । सातपटकको बालोन डिअर विजेता मेसी फुटबल करिअरमा पहिलोपटक युरोपियन क्लबमा आबद्ध नभएका हुन् ।
मेसीले आफ्नो करिअरको अन्तिम समयसम्म युरोपमै बस्ने चाहना राखेका थिए । तर, युरोपका अन्य क्लबले राम्रो प्रस्ताव नगर्दा उनी अमेरिकातर्फ लागेको एजेन्सीले जनाएको छ । अमेरिकाका मेजर लिग सकरमा मेसीको सम्झौता रकमबारे खुलाइएको छैन । तर, बेलायती मिडियाहरूले मियामीबाट मेसीले बार्षिक ४० देखि ५० मिलियन पाउन्ड पाउने जनाएका छन् ।