मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २५ बिहीबार ०६:१९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रेलिगेसन टुंगो अन्तिम चरणबाट

एपिएफ, थ्री स्टार, फ्रेन्ड्स र खुमलटार युथमाथि रेलिगेसनको दबाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २५ बिहीबार ०६:१९:००

सहिद स्मारक ‘ए’ डिभिनज लिग फुटबल प्रतियोगिताको च्याम्पियन एक खेलअगाडि नै पक्का भएको थियो । चर्च ब्वाइज युनाइटेडले पहिलोपटकको सहभागितामै शीर्ष डिभिजनको उपाधि चुमेको हो । ‘ए’ डिभिजन लिगको अर्को रोमाञ्चक पक्ष भनेको ‘बी’ डिभिजनमा कुन टोली घटुवा हुन्छ भन्ने हो ।

लिगको २५ चरणका खेल चलिरहँदा दोस्रो डिभिजनमा घटुवा हुने टोलीको टुंगो लागेको छैन । अब यसको निर्णय अन्तिम खेलसँगै हुने भएको छ । प्रतियोगिताको बुधबार रेलिगेसन क्षेत्रमा रहेका फ्रेन्ड्स र संकटा क्लबले १–१ गोलको बराबरी खेलेसँगै ‘बी’ डिभिजनमा जाने क्लबको छिनोफानो नभएको हो । 

यस समीकरणसँगै पुछारका दुई टोलीको टुंगो अन्तिम चरणमा लाग्ने निश्चित भयो । साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले एक खेलअगाडि नै उपविजेता निश्चित गरेको छ । मच्छिन्द्रले अन्तिम खेल जित्दा चर्च ब्जाइजसँग अंक बराबरी गर्नेछ । तर, हेड टु हेडमा चर्च ब्वाइज अगाडि छ । अब तेस्रो स्थानका लागि नेपाल पुलिस, जावलाखेल र सातदोबाटोबीच त्रिकोणात्मक भिडन्त देखिएको छ । पुलिसले ३८ अंक, जावलाखेलले ३७ अंक र सातदोबाटोले ३५ अंक बटुलेका छन् । पुलिस र सातदोबाटोबीच तीन अंक मात्र फरक छ । 

रेलिगेसनमा नेपाल एपिएफ, तीनपटकको च्याम्पियन थ्री स्टार, फ्रेन्ड्स र पहिलोपटक शीर्ष डिभिजन लिग खेल्दै गरेको खुमलटार युथ क्लबमध्ये दुई टोली पर्न सक्ने सम्भावना छ । लिगको १४औँ स्थानमा रहेको खुमलटार र १३औँ स्थानको फ्रेन्ड्सको समान २७ अंक छ । १२औँ स्थानको थ्री स्टारको २९ र एपिएफको ३० अंक छ । शुक्रबार खुमलटारले च्याम्पियन चर्च ब्वाइजको सामना गर्नेछ । एपिएफले फ्रेन्ड्सविरुद्ध खेल्नेछ । थ्री स्टारले शनिबार जावलाखेलविरुद्ध भिड्नेछ । 

एनआरटी रेलिगेसनबाट बच्यो
न्युरोड टिम (एनआरटी) रेलिगेसनबाट बचेको छ । २५औँ खेलमा मनाङ मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै एनआरटी दोस्रो डिभिजन लिगमा झर्नबाट बचेको हो । एनआरटीको जितमा दिपेश आलेमगरले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको थियो । पहिलो भेटमा मनाङ ३–१ ले विजयी भएको थियो । 

जितसँगै २५ खेलमा ३३ अंक जोडेको एनआरटी छैटौँ स्थानमा उक्लिएको छ । मनाङ समान खेलबाट ३२ अंकका साथ सातौँ स्थानमा झरेको छ । मनाङ यसअघि नै रेलिगेसनबाट जोगिइसकेको थियो । च्यासल मैदानमा बुधबार सम्पन्न खेलको १७औँ मिनेटमा दिपेशले गोल गरेका थिए । यस खेलपछि मनाङको ११ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

मच्छिन्द्रको दोस्रो स्थान पक्का
साबिक दुईपटकको विजेता मच्छिन्द्रले बुधबार दशरथ रंगशालामा हिमालयन शेर्पा क्लबमाथि ३–१ को सहज जित निकाल्दै दोस्रो स्थान पक्का गरेको छ । मंगलबार थ्री स्टारले चर्च ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो । मच्छिन्द्रले २५ खेलबाट ४२ अंक जोडेको छ ।

लिगको अन्तिम खेलमा जस्तो नतिजा निस्किए पनि मच्छिन्द्रको दोस्रो स्थान कुनै पनि टोलीले पाखा लगाउन सक्दैन । हिमालयनले ३१ अंक बटुल्दै रेलिगेसन क्षेत्र छाडेको छ । हिमालयन अहिले आठौँ स्थानमा छ ।मच्छिन्द्र र हिमालयनबीचको पहिलो खेल बराबरीमा टुंगिएको थियो । लिगको २५औँ खेलमा मच्छिन्द्रलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल तथा विमल घर्तीमगरले एक गोल गरे । हिमलयनका लागि पिस्टोनले एक गोल फर्काए ।