१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

यस्तो बन्यो टिंकर जाेड्ने गाेरेटो बाटो [तस्बिरहरू] 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

डेढ दशकदेखि अवरुद्ध रहेको व्याँसको छाँगरु टिंकर जोड्ने घोरेटोबाटो पुनर्निर्माण गरिएको छ। व्याँस गाउँपालिका– ४ सुनसेरादेखि छाँगरु टिंकरसम्म जोड्ने घोरेटो बाटो पुनर्निर्माण गरिएको हो। 

संघीय मन्त्रालयको स्थानीय पूर्वधार विकास आयोजनाले कुल दुई करोड ९१ लाख रुपैयाँ लागतमा झन्डै २७ किलोमिटर क्षेत्रमा घोरेटो बाटो खोलेको हो। 

अहिले पुरानो गोरेटोबाटो भन्दा केहीमाथि गोरेटो बाटो निर्माण गरिएको आयोजनाका इन्जिनियर किशोर विष्टले बताए। ‘अहिले मान्छे र जनावर हिँडाउनसम्म बाटो निर्माण गरिएको छ। तर, सबै ठाउँमा दीर्घकालीन हुने गरी बाटो बनेको छैन। भौगोलिक कठिनाइ र भूबनोटले बाटो नियमित मर्मतसम्भार आवश्यक छ,’ उनले भने।

अहिले पनि घाटीबगर, तम्बाकु, कल्जु, दुम्लिङलगायतका क्षेत्रमा प्रभावकारी बाटो बन्न सकेको छैन। अधिकांश ठाउँमा भारतको तर्फबाट काटिएको सडकका कारण नेपालतर्फको गोरेटो बाटो अवरुद्ध हुने अवस्था छ। 

सशस्त्र द्वन्द्वकालअघि दार्चुला सदरमुकाम खलँगा हुँदै व्याँसको छाँगरू टिंकर पुग्न नेपालकै गोरेटो बाटो थियो। तर, गणतन्त्रको उपलब्धिसँगै नेपालको बाटो भएर निर्माण अवरुद्व भयो। व्याँसका स्थानीयले व्याँस जान भारतीय भूमिको प्रयोग गर्नुपर्‍याे। स्थानीयले पटकपटक आफ्नो भूमि भएर गाउँ जान पाउँ भने, तर बाटो कहिल्यै बनेनन्।

‘गत वर्ष पुष्पाञ्जली  आरथी रिठेगाडा जेभीले घोरेटोबाटो मर्मतसम्भार गरेको हो । विगतको तुलनामा बाटो धेरै सुधार गरिएको छ,’ निर्माण व्यवसायी मानबहादुर बमले भने, ‘हाम्रोतर्फबाट राम्रो बनाएका छौँ। धेरै मिहिनेत गरेर धेरै ठाउँमा नयाँ ट्रयाक खुलाएर बाटो बनाइएको छ।’ 

अवरुद्ध भएको क्षेत्र र नयाँ खोल्नुपर्ने ठाउँमा सञ्चालन गरिएको उनले बताए। व्याँसको सुनसेरादेखि छाँगरुका विभिन्न स्थानमा आयोजनामार्फत गोरेटोबाटो मर्मत सम्भार गरिएको हो । बाटो निर्माणसँगै स्थानीयलाई आवतजावतमा सहज हुने अवस्था आएको उनले बताए।  

व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी व्याँसको छाँगरू टिंकरसम्म पुग्ने बाटो नियमित मर्मतसम्भारको गरेर प्रयोगमा ल्याउने तयारी गरिएको बताउँछन् । ‘पालिकाको तर्फबाट पनि बाटो बनाउँदैछौँ,’ उनले भने, ‘भारतीय भूमि हाेइन, आफ्नै भूमि भएर छाँगरु टिंकर पुग्ने बाटो सुधार हुन्छ।’

प्रमुख जिल्ला अधिकारी किरण जोशीले निर्माण व्यवसायी र आयोजनाको तर्फबाट व्याँसको छाँगरु टिंकर जोड्ने बाटो निर्माण पूरा भएको जानकारी प्राप्त भएको बताइन्। उनले भनिन्, ‘अप्ठ्यारो अवस्थामा पनि निर्माण व्यवसायी र आयोजनाले नियमित निगरानी राखेर बाटो मर्मत सम्भार भएको छ। स्थानीयका लागि केही हदसम्म आफ्नै भूमि भएर हिँड्न सक्ने बाटो निर्माण गरिएको छ।’

गाउँपालिकाले पनि घोरेटो बाटो बनाउँदै

संघीय सरकारको स्थानीय पूर्वाधार विकास आयोजनाले निर्माण गरेकै गोरेटो बाटोमा अहिले पुन: व्याँस गाउँपालिकाले पनि घोरेटो बाटो निर्माण र मर्मत सम्भार थालेको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले छाँगरू टिंकरसम्मको बाटो खुला गर्ने नीतिअनुरूप बाटो बनाउन थालेको हो। 

गाउँपालिकाले गत वैशाख १७ गते कुल दुई करोड १९ लाख रुपैयाँ लागतमा नमस्कार चादनी जेभीले ठेक्का सम्झौता गरेको छ । ‘६० दिनभित्र निर्माण सक्ने गरी सुनसेरादेखि छाँगरुसम्म बाटो निर्माण सुरु गरेको छु। समय निकै कम छ ।तैपनि काम चलिरहेको छ,’ निर्माण व्यवसायी सर्पराज बडूले भने।

अहिले स्थानीय पूर्वाधार विकास आयोजनाले निर्माण गरेको बाटोभन्दा माथि गाउँपालिकाले घोरेटोबाटो निर्माण गरिरहेको गाउँपालिका उपाध्यक्ष विनोदसिह कुँवरले जानकारी दिए।

आयोजनाले विगतको ठेक्काअनुसार महाकाली किनारैकिनार घोरेटोबाटो बनाएको छ। पालिकाको तर्फबाट केही घुमाएर भए पनि दीर्घकाली हुनेगरी घोरेटोबाटो निर्माण थालिएको छ। 

‘दुम्लिङभन्दा माथि अहिले काम चलिरहेको छ। पालिकाले अनुगमन गर्न बाकी छ,’ कुवँरले भने, ‘टिंकरसम्मै घोरेटोबाटो निर्माणको काम भइरहेको छ।’

व्यासीको कुञ्चा सर्ला ?

व्याँस गाउँपालिकाले पहिलोपटक आफ्नै भूमि भएर आवतजावत गर्न घोरेटोबाटो निर्माणको काम थालेको छ। स्थायी रूपमा बाटो सञ्चालन गर्ने गरी बाटो निर्माण भइरहेको छ।

व्यासको छाँगरू र टिंकरका स्थानीय ६ महिना खलंगा र ६ महिना गाउँ बस्ने गर्छन्। गत वैशाखमा हिमाल उक्लिएका सौका समुदाय मंसिरमा औल खलंगा झर्ने गर्छन्। 

पशुचौपायासहित उनीहरूको बसाइँसराइ (कुञ्चा) सर्ने गर्छन् । भारतले दुई लेन सडक सीतापुलसम्मै पुर्‍याएको छ। भारतबाट छाँगरू तिंकर पुग्न भारतीय प्रशासनको अनुमति लिनुपर्छ।

स्थानीय दानसिंह तिंकरी नेपालतर्फ राम्रो बाटो भए अधिकांश पशुचौपाया लिने स्थानीय नेपालकै बाटो आउने रुचाउने बताउँछन्। ‘भारतबाट पशुचौपाया लिँदा निकै सास्ती हुन्छ,’ उनले भने, ‘आफ्नै भूमि भएर बाटो भए सहज रूपमा आवतजावत गर्न मिल्ने उनको भनाइ छ।’