१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय तामाङ परिषद् कार्यकारी महासचिव प्रणालीमा सञ्चालन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५७:oo

अन्तर्राष्ट्रिय तामाङ परिषद् अब कार्यकारी महासचिव प्रणालीमा सञ्चालन हुने भएको छ। थाइल्यान्डमा सम्पन्न पाँचौँ सम्मेलनमा पारित विधानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने भएको हो । नयाँ विधानअनुसार सम्मेलन आयोजक संस्था थाइल्यान्डको तर्फबाट तामाङ (लामा) समाजको अध्यक्षको हैसियतले स्वतः चम्पाडोल्मो लामा पदेन अध्यक्ष भएकी छिन् । 

महासचिवमा नेपालका टासी लामा सर्वसम्मत निर्वाचित भएका छन् । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन् । पारित विधानअनुसार अब परिषद्को महासचिव कार्यकारी अधिकारसहितको हुनेछन् । 

नेपाल तामाङ घेदुङका संघीय सहअध्यक्ष कुमार घिसिङले भने, ‘परिषद्को कामलाई नियमित र चुस्त बनाउन महासचिव प्रणालीमा परिषद्लाई लैजाने सम्मेलनले नीति लिएको हो ।’

संसारभरिका तामाङलाई एकताको सूत्रमा जोड्न भाषा, संस्कृति, मैत्रीपूर्ण सम्बन्ध, आर्थिक–सांस्कृतिक आदान–प्रदान र अन्तर्राष्ट्रिय सम्बन्धजस्ता महत्वपूर्ण विषयमा काम गर्नुपर्ने भएकाले ती विषयसँग सम्बन्धित विज्ञहरूले नेतृत्व गर्ने गरी विषयगत समितिहरू निर्माण गर्ने संगठनात्मक नीति लिएको छ । 

अब यो परिषद् लिडर बेसमा मात्र नभई विज्ञहरूसहितको संगठन बन्नेछ । नवनिर्वाचित महासचिव लामाले भने, ‘सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता नाैवटा फरक–फरक विषयगत समिति बनाएको छ । अब ती समितिहरू विषयविज्ञहरूले नेतृत्व गर्नेछन् । ६ महिनाभित्र विज्ञहरूको भेला गरी ती समितिहरू निर्माण गरिनेछ।’

२१ वर्षअघि स्थापना भएको परिषद्ले अब पूर्ण रूपले अन्तर्राष्ट्रिय संगठनको मान्यताअनुसार काम गर्न सक्ने स्थितिमा पुगेको महासचिव लामाले जानकारी दिए। सम्मेलनमा १७ सदस्यीय संस्थाहरूको प्रतिनिधिहरूको सहभागिता थियो।

यस परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्थाहरू सदस्य रहनेछन्। निर्वाचन प्रणालीअनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाहरूबाट सिफारिस हुनुपर्नेछ । हाल यस परिषदमा नेपाल, भारत, भुटान, बर्मा र थाइल्यान्ड स्थायी सदस्य छन् । राष्ट्रियमा अमेरिका, जापान, बेल्जियम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया रहेको छ । परिषदमा सबै सदस्य संस्थाका अध्यक्षहरू स्वतः सदस्य रहनेछन् ।

सम्मेलनबाट उपमहासचिवमा लक्यान लामा तामाङ (अमेरिका), सचिवमा रामप्रसाद तामाङ (भारत), शुभराज बमजन तामाङ (दक्षिण कोरिया), बुदुमाया योन्जन तामाङ (रोमानिया) र कोषाध्यक्षयमा हवालचन्द्र लामा तामाङ (जापान) निर्वाचित भएका छन्।