१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी विश्वकर्मासहित पाँचजना पत्रकार पुरस्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१६:oo

सिराहाको लहानस्थित संगीता कर्माचार्य स्मृति प्रतिष्ठानले नयाँ पत्रिकाकर्मीसहित पाँचजना पत्रकारलाई नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ सिराहा शाखाको लहान– ५ मा सम्पर्क कार्यालय उद्घाटनसँगै सोमबार अपराह्न प्रतिष्ठानले नयाँ पत्रिकाका लहान संवाददाता मणिलाल विश्वकर्मासहित पत्रकारहरू फिरोज शेख, वीरेन्द्रप्रसाद नेपाल, महेश सिंह र धर्मेन्द्र पासवानलाई जनही १० हजार रुपैयाँ नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कारले पुरस्कृत गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष तथा लहान नगरका प्रमुख महेशप्रसाद चौधरीले नगद र सम्मानपत्रसहित पत्रकारहरूलाई पुरस्कृत गरेका हुन् । कोरोना महामारीको समयमा जनपक्षीय पत्रकारिताको माध्यमले समाज र राष्ट्रका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सुशासन, बहुलवादी समाज निर्माण, पारदर्शिता तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पुरस्कार दिन पाउँदा प्रतिष्ठान पनि गौरवान्वित भएको प्रमुख चौधरीले बताए । ‘जनताको काम गर्ने क्रममा कमी–कमजोरी भए पत्रकारहरूले औँल्याइदिनुस्,’ प्रमुख चौधरीले भने, ‘त्यसलाई सकारात्मक रूपमा लिएर सच्चिँदै अगाडि बढ्नेछौँ ।’

कार्यालय उद्घाटन तथा पुरस्कार वितरण समारोहमा महासंघका शाखा अध्यक्ष मनोज बनैता यादवले सामाजिक रूपान्तरणको अभियानमा क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गरेर थप जिम्मेवार बन्न प्रेरित गरेको चर्चा गर्दै नगरले उपलब्ध गराएको १० धुर जग्गामा भवन निर्माणका लागि पनि सहयोगका लागि आग्रह गरे ।

पुरस्कार वितरण समारोहमा लहान नगरका प्रवक्ता तथा ६ नम्बर वडाध्यक्ष रमेश गौतम, ७ का वडाध्यक्ष रामअवतार यादवले पत्रकारहरूलाई तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गरी समाजलाई बाटो देखाउन आग्रह गरे।

कोरोना महामारीको समयमा गरिब विपन्नलाई राहत बाँड्दाबाँड्दै स्वयं संक्रमित भएर २२ जेठ ०७८ मा उपचारको क्रममा नगर प्रमुख चौधरीकी श्रीमती संगीता कर्माचार्यको निधन भएपछि उनले हरेक महिनाको २२ गते नगरको दलित विपन्न बस्तीका असहाय, विपन्न, गर्भवती सुत्केरीहरूलाई पोषिलो खानेकुरा, लत्ताकपडा वितरण गर्दै आएका छन् ।

अप्ठ्यारोमा परेका गरिब, विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएकी श्रीमतीको कोरोना संक्रमणको कारणले निधन भएपछि उनको परोपकारी कामलाई प्रतिष्ठानमार्फत निरन्तर जारी राख्ने प्रमुख चौधरीले बताए । 

ad
ad