कोसीमा पनि एमाले नेतृत्वको सरकार जोखिममा, माओवादीले आज समर्थन फिर्ताबारे निर्णय गर्ने

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण
कोसीमा पनि एमाले नेतृत्वको सरकार जोखिममा, माओवादीले आज समर्थन फिर्ताबारे निर्णय गर्ने

हिक्मत कार्की, मुख्यमन्त्री

कांग्रेस, एकीकृत समाजवादी र जसपाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब बढाएपछि माओवादीले औपचारिक निर्णय लिन लागेको हो 

सत्तारूढ माओवादीले कोसी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सोमबार बसेको माओवादी संसदीय दलको आकस्मिक बैठकले समर्थन फिर्ता लिने–नलिने विषयमा तीन घन्टा छलफल गरेको थियो । निष्कर्षविना टुंगिएको बैठकले मंगलबार औपचारिक निर्णय गर्ने माओवादीले जनाएको छ । 

कांग्रेस, एकीकृत समाजवादी र जसपाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब बढाएपछि माओवादीले औपचारिक निर्णय लिन लागेको हो । माओवादीमा नीति तथा कार्यक्रम र बजेटअगाडि नै सरकार छाड्ने कि पछाडि भन्नेबारे दुईथरी मत छ । सोमबारको बैठकले माओवादीले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निर्णय लिन कार्यदल गठन गरेको छ । 

माओवादी सांसद गणेश उप्रेतीले प्रदेशको नामकरणबारे हतारमा निर्णय गर्दा त्रुटि भएकाले सरकारको समर्थनबारे प्रदेशका शीर्ष नेताहरूसहित मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताए । ‘हतारमा निर्णय गरेर पछुताउनुभन्दा नेताहरूको सुझाव लिएर मात्र निर्णय गर्ने सहमति भयो । सरकारको समर्थनबारे भोलि टुंगो लाग्छ,’ उनले भने । संघको गठबन्धनमा रहेका दलहरूले निरन्तर दबाब बढाइरहेकाले कोसी प्रदेशमा नीति तथा कार्यक्रम र बजेटअगाडि नै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता हुने सम्भावना बढेको छ । 

कांग्रेस कोसी प्रदेशका चौधवटै जिल्ला सभापतिहरूको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेर संघको परिवर्तनकारी गठबन्धनलाई कार्यान्वयन गर्न माओवादीलाई दबाब दिइसकेको छ । सरकारमा सामेल जनता समाजवादी पार्टीले सरकारले पहिचान पक्षधरको आन्दोलनमा दमन गरेको भन्दै समर्थन फिर्ता लिइसकेको छ । कोसी प्रदेशमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । उनको सरकारमा माओवादीका दुईजना मन्त्री सामेल छन् । नौवटा मन्त्रालयमध्ये कार्कीले आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय आफैँले राखेका छन् । 

सभामुखसहित कुल ९३ जना सांसद रहेको कोसी प्रदेश सभामा एमाले ४०, कांग्रेस २९, सभामुखसहित माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी चार र जनता समाजवादीका एकजना सांसद छन् । कोसीमा बहुमतको सरकार गठन गर्न ४७ सांसद चाहिन्छ । माओवादीले समर्थन फिर्ता लिएमा एमाले नेतृत्वको गठबन्धन सरकार अल्पमतमा पर्नेछ । 

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाको मात्र सरकार बनेमा माओवादीका सभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यदि राप्रपाले समर्थन जनाएमा सुविधाजनक बहुमत पुग्नेछ । स्रोतका अनुसार सकभर राप्रपाको पनि समर्थन लिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने योजनामा माओवादी छ । तर, राप्रपाले चार वर्षसम्म मुख्यमन्त्री दिनुपर्ने बार्गेनिङ गरिरहेकाले माओवादी अझै अनिर्णीत बनेको हो । तर, कांग्रेसले भने राप्रपालाई मुख्यमन्त्री दिएर भए पनि वा सभामुखलाई राजीनामा गराएर भए पनि एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिनैपर्ने दबाब दिएको छ । 
 

See More On

सुझावित समाचार