
निर्माण व्यवसायीहरूले आगामी असार ४ भित्र सरकारले सबै आयोजनाको म्याद थप नगरे निर्माणसम्बन्धी सबै कामहरू ठप्प पर्ने चेतावनी दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी म्याद थप्ने निर्णय गर्न सरकारलाई दबाब दिएको हो। महासंघका अध्यक्ष रवि सिंहले प्रधानमन्त्री र अर्थमन्त्रीसँग पटक-पटक छलफल हुँदा गरिएको सहमतिअनुसार सबै आयोजनाको म्याद यही असार ४ भित्र थप नभए आफूहरू निर्माण कार्य ठप्प पारी आन्दोलनमा जाने बताए।
विगत लामो समयदेखि आफूहरूले राख्दै आएको सो माग पूरा हुने गरी बजेटसमेत नआएको भन्दै उनले आपत्ति जनाए। अब पनि आफूहरूको माग सम्बोधन नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने महासंघको चेतावनी छ।
सरकारले समयमै आवश्यक बजेटको व्यवस्था नगर्दा र आयोजनाहरूको म्याद थप नगर्दा मुलुकको पूर्वाधार निर्माणको कामले गति लिन नसकेको महासंघका अध्यक्ष सिंहले बताए।