१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ १७ बुधबार ०९:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच वर्ष बित्न लाग्दा पुष्पलाल चक्रपथको नक्सांकनसमेत भएन

Read Time : > 1 मिनेट
२०८० जेठ १७ बुधबार ०९:०७:००

बागमती प्रदेशको महत्वाकांक्षी योजना अलपत्र

१ असार ०७५ मा बागमती प्रदेश सरकारले पहिलो बजेटमार्फत प्रदेशका नौवटा जिल्लालाई समेटेर चक्रपथ निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सार्‍यो । तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले पुष्पलाल प्रदेश चक्रपथको सम्भाव्यता अध्ययन गर्न रकम विनियोजन गरिएको घोषणा गरे । काठमाडौं, ललितपुर, भक्तपुर र रसुवाबाहेकका जिल्ला समेटर पुष्पलाल चक्रपथ निर्माण गर्ने उनको भनाइ थियो । 

सो घोषणाको पाँच वर्ष बित्न लागेको छ । तर, पुष्पलाल चक्रपथ यतिवेला मकवानपुर र धादिङमा मात्रै सीमित छ । चक्रपथको बाँकी भाग र नक्सांकन कहाँ छ ? न प्रदेश सरकारलाई थाहा छ, न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई, न त मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयलाई नै थाहा छ । प्रदेश सरकारले हालसम्म सो योजनाको सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन निर्माणसमेत नगरेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहका अनुसार उक्त योजना बजेटमा समावेश भए पनि हालसम्म नक्सांकन भएको छैन । 

‘पुष्पलाल चक्रपथबारे हालसम्म कुनै औपचारिक अध्ययन भएको छैन । बजेटमा समावेश भएर आएअनुसार नै हामीले कार्यान्वयन गर्दै गएका छौँ । भोलिको दिनमा सरकारले जसरी अघि बढाउँछ, त्यसरी नै कार्यान्वयन हुन्छ,’ उनले भने, ‘प्रदेश चक्रपथबारे मन्त्रालयमा कुनै औपचारिक कागजात पनि छैन । न डिपिआर भएको छ, न कुनै मार्किङ नै छ ।’

प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका जिल्लाका ६६ वटा निर्वाचन क्षेत्रलाई समेट्ने गरी प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वको सरकारले सो सडक योजना ल्याएको थियो । प्रदेश सरकारले गौरवको योजनाको रूपमा अघि सारेको भए पनि वास्तवमा चक्रपथको अहिलेसम्म कुन क्षेत्र भएर सडक सञ्चालन हुने भन्नेबारे नक्सांकन नै भएको छैन । बागमती प्रदेश सरकारले गौरवको योजना भनेर सुरु गरेको योजनामा विनानक्सांकन र योजना बजेट विनियोजन मात्रै गरिरहेको छ । प्रदेश सरकारले चक्रपथलाई प्राथमिकतामा राखेर ०७६/७७ को बजेटमा समावेश गरेको थियो । बजेटमा समावेश गरेको चार वर्ष पूरा हुँदासम्म सरकारले चक्रपथको नक्सांकनका लागि भने चासो दिएको छैन । 

यातायात पूर्वाधार निर्देशनालयका सूचना अधिकारी एवं इन्जिनियर हरिप्रसाद ओझाले पनि चक्रपथको अहिलेसम्म नक्सांकन नभएको बताए । उनले मकवानपुर र धादिङ जोड्ने सडकलाई नै चक्रपथको एक भागको रूपमा बजेट विनियोजन भएको र त्यसैको मात्रै काम भइरहेको जानकारी दिए । ‘मकवानपुरको मनहरीबाट धादिङको आदमघाट जोड्ने गरी निर्माण भइरहेको २२ किलोमिटर सडक मात्रै अहिले पुष्पलाल चक्रपथको रूपमा काम भइरहेको खण्ड हो । अरू ठाउँमा चक्रपथअन्तर्गत कहाँ के गर्ने भन्ने नै तय भएको छैन ।’ उनले भने ।