
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीको आह्वान गरेको छ । मंगलबार बिहान बसेको समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरुद्व उजुरी वा सूचना दिन आह्वान गरेको हो ।
समिति सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
समिति सदस्य रमेश लेखकका अनुसार १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय भएको छ । समितिको कार्यविधिअनुसार संवैधानिक परिषदबाट प्रस्तावित व्यक्तिको सिफारिसबारे सर्वसाधारणलाई जानकारी दिने र कुनै सूचना वा उजुरी दिन आह्वान गरिएको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले उजुरी आह्वानको सूचना सरकारी सञ्चारमाध्यमार्फत प्रकाशित गरिने जानकारी दिए ।
१० दिनको समय दिएर उजुरी आह्वान भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । कार्कीविरुद्व लिखित वा इमेलमार्फत उजुरी दिन सकिनेछ । समितिले उजुरीकर्तासँग पनि छलफल गरेर सुनुवाइ प्रक्रिया अगाडि बढाउनेछ ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि १ फागुन ०७८ मा महाभियोग लागेपछि सर्वोच्च अदालत १५ महिनादेखि कामुको भरमा चलिरहेको छ । जबराले २७ मंसिर ०७९ मा निलम्बनकै अवस्थामा अवकाश पाएका थिए । जबरा अवकाश भएको ६ महिना पुग्दा पनि नयाँ प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन।
संवैधानिक परिषद्ले २५ वैशाखमा वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो । २७ गते सुनुवाइ समितिमा कार्कीलाई सिफारिस गरिएको पत्र आएको थियो ।