
जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट प्रतियोगितामा सहभागी हुने अन्तिम १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । यसपटक अर्जुन साउद र किशोर महतोले स्थान बनाएका छन् । क्यानले एसिसी प्रिमियर कप क्रिकेटको च्याम्पियन १४ खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । अर्जुन र किशोर मात्र त्यस लिस्टमा थप भएका हुन् ।
गत सातादेखि क्यानले कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्लोज क्याम्प राखेको थियो । एक साताको क्लोज क्याम्पपछि देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा टोलीबाट बाहिरिएका छन् ।
नेपालले जिम्बावेमा प्रतिस्पर्धा गर्नुअघि दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्नेछ । यसैगरी, नेपालले ग्लोबल छनोटअघि नेदरल्यान्ड्स, स्कटल्यान्ड र युएईसँग अभ्यास खेल खेल्नेछ । विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता छ ।
नेपाल नेपाल समूह ‘ए’मा छ । नेपालले दुईपटकको विजेता वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिकाविरुद्ध खेल्नेछ । ३ असारमा नेपाल र जिम्बावेबीच खेल हुनेछ । समूह ‘बी’मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो