१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नियमित डायलाइसिसको माग गर्दै सिराहा प्रशासन गुहार्न पुगे पीडित  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

मधेस प्रदेशको उत्कृष्ट प्रादेशिक अस्पताल सिराहामा डायलाइसिस गराउँदै आएकाहरू जिल्ला प्रशासनमा धाउन बाध्य भएका छन्।

नियमित रूपमा आफूहरूको डायलाइसिस सेवा दिइनुपर्ने एकसूत्रीय माग राख्दै मिर्गाैलापीडितले जिल्ला प्रशासन कार्यालय सिराहामा गुनासो गरेका छन्। 

नियमित र निर्धारित समयसम्म डायलाइसिस नहुँदा आफूहरूको स्वास्थ्य जोखिममा परेको भन्दै उनीहरूले सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई गुनासो गरेका छन्।

जिल्लाको विभिन्न गाउँबाट आएका मिर्गौलापीडित बिहान जिल्ला प्रशासन पुगेर राज्यले निःशुल्क गर्दै आएको डायलाइसिसलाई नियमित र निर्धक्क भएर गर्ने वातावरण मिलाइदिन उनीहरूले सहायक प्रजिअ पौडलसँग हारगुहार गरेका छन्।

डायलाइसिस नियमित नहुँदा आफ्नो श्वास फुल्ने गरेको ५३ वर्षीय रामबालक यादवले बताएका छन्। सातामा दुई दिन पालो आउने गरेको र चार–चार घन्टा डायलायसिस हुनुपर्ने भन्दै मिर्गौपीडित यादवले डेढ–दुई घन्टामै सीमित गर्दै आएको गुनासो गरेका छन्।

पीडितहरूको गुनासोपछि सहायक प्रजिअ पौडेलले प्रादेशिक अस्पताल सिराहाका व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्र यादवलाई टेलिफोन सम्पर्क गरी तत्काल नियमित रूपमा डायलाइसिसको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्युत् आपूर्ति र जेनेरेटर जलेका कारणले डायलाइसिस सेवा जसोतसो चलिरहेको बताएका छन्। डायलाइसिस हुने समयमै विद्युत् प्राधिकरण सिराहाले विद्युत् तीन–चार घन्टाजति अबरुद्ध गर्दै आइरहेको छ।

प्रदेशको उत्कृष्ट अस्पतालमा गत चैत २९ मा जेनेरेटरमा आगलागी हुँदादेखि नै डायलाइसिस सेवा अनियमित हुँदै आएको छ। जिल्लाका विभिन्न गाउँका ४६ जना मिर्गाैलापीडित डायलासिस गराउँदै आएको भए पनि जेनेरेटर जलेर नष्ट हुँदा सेवा प्रभावित भइरहेको छ। 

अस्पताल प्रशासनले विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गर्न नसक्दा सेवा प्रभावित बनेको हो। सिराहा नगरपालिकाले सडक विस्तार अभियान वैशाख १२ देखि सुरु गरेपछि विद्युत् आपूर्ति अझ बढी प्रभावित भइरहेको छ। 

एकातिर ठूलो जेनेरेटर आगलागीमा नष्ट भएको छ भने अर्कोतिर प्राधिकरणले सडक फराकिलो र हावाहुरीको नाउँमा विद्युत् सेवा अवरुद्ध गर्दै आइरहेको प्रादेशिक अस्पताल सिराहाका सूचना अधिकारी अशोककुमार सिंहले बताएका छन्।