
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्रीको साथ छोरी गंगासहित नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ। त्यस्तै, उनले उपराष्ट्रपति जगदीप धनखरसँग पनि भेटवार्ता गर्नेछन्।
दोस्रो दिन अर्थात् जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीससँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने जनाइएको छ। भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने जनाएको छ।
साथै, प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र भारतीय उद्योग परिसंघ (सिआइआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन्। प्रधानमन्त्री प्रचण्डले मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ। नेपालको प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो तेस्रो भारत भ्रमण हो। भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयको विश्वास छ।
कार्यतालिका अनुसारका कार्यक्रम सकेर प्रधानमन्त्री २० जेठमा स्वदेश फर्किने जनाइएको छ।